जीव, पशु र पशुपति



जीव, पशु र पशुपति सर्व दर्शनसंग्रहमा माधवाचार्यले चारबटा शैवमतको उल्लेख गरेका छन् – नकुलीश-पाशुपत, शैव, प्रत्याभिज्ञा र रसेस्वर | त्यस बाहेक कापालिक र कालमुख सम्प्रदायहरूको पनि उल्लेख पाइन्छ | भारतीय दक्षिणी राज्यहरूमा बीरशैव र लिंगायत यी दूई पन्थमा शैवमत विभक्त छ | आजभोली लिंगायतहरूले आफु छुट्टै “धर्म” भएको दावी गर्न थालेका छन् |

शैव सिद्धान्तका २८ बटा आगमहरू छन् | मइकन्दरको “शिवज्ञानबोधम्” शैवसिद्धान्तलाई बलियो दार्शनिक आधार दिने ग्रन्थ हो | श्रीकण्ठ शिवाचार्यले ब्रह्मसूत्रमा शिवसिद्धान्त परक भाष्य लेखेर वैदिक आधार दिएका थिए | यस बाहेक तिरूमुरै, तिरू बासगम्, शिवार्कमणि दीपिकाआदि शैवागम प्रसिद्ध छन् | यसमा शिवज्ञान सिद्धयर नामक ग्रन्थ पनि उल्लेखनीय छ |

शैवदर्शनले आफुलाई “शुद्धाद्वैत”का रूपमा प्रकाशित गर्छ | शुद्धको अर्थ निर्विशेष र अद्वैतको अर्थ भेदरहित द्वैत गरिएको छ | द्वैत तत्वत: सही छ भने अद्वैत सम्वन्धका आधारमा सत्य छ | जीव तथा जगत मूलत: शिवतत्व भन्दा अलग तत्व हुन् तर यी दूवै बीच र शिवतत्वका बीच अभेद सम्वन्ध छ | संसारिक दृष्टिकोणले शिव र जीवा फरक तत्व हुन् भने शिवको दृष्टिकोणले शिव-जीव अपृथक तत्व हुन् | जीव, जगत र शिव तिनैबटा तत्वहरू सत्य, नित्य र अभेद छन् |

शिव नै पति हुन् किनभने उनी सबैका स्वामी हुन् | आत्मसत्ता, प्राकृतिक शुद्धता, स्वानुभूति, अनन्त ज्ञान, स्वतन्त्रता, अनुग्रह वा प्रेम, सर्वशक्तिमत्ता तथा अनन्त आनन्द – यी आठबटा गुणहरू शिवमा अनन्त छन् | यिनै आठबटा गुणहरूले शिव पशुपति अर्थात् समस्त जीवहरूका स्वामी हुन् | यिनै शिव जगतका निमित्तकारण हुन् भने उनकी शक्ति माया उपदान कारण हुन् | शिव र शक्तिका बीचमा अभिन्न सम्वन्ध छ | शिव विना शक्ति त शाक्ति विना शिवको परिकल्पना नै हुँदैन |

जीव तथा जगत मूलत: शिवतत्व भन्दा अलग तत्व हुन् तर यी दूवै बीच र शिवतत्वका बीच अभेद सम्वन्ध छ । आत्मसत्ता, प्राकृतिक शुद्धता, स्वानुभूति, अनन्त ज्ञान, स्वतन्त्रता, अनुग्रह वा प्रेम, सर्वशक्तिमत्ता तथा अनन्त आनन्द – यी आठबटा गुणहरू शिवमा अनन्त छन् |

समस्त सृष्टि महामाया, विद्या वा बिन्दूका कारण भएको हो भने अशुद्ध अर्थात् जगत र जीवको सृष्टि मायाका कारण भएको हो जुन विन्दूका रूपमा अपरिस्कृत छन् | शैवदर्शनका अनुसार महामाया र माया दूबै शिवाक जडशक्ति हुन् जुन दिव्य स्वरूपशक्ति भन्दा फरक परिग्रहशक्तिका रूपमा प्रकाशित छन् | शिवतत्व सर्वव्यापक, सर्वशक्तिमान र सर्वज्ञ छ | शिवतत्वका पांचकार्यहरू छन् – विश्वको उत्पत्ति, पालन, संहार, निग्रह र अनुग्रह | निग्रहका कारण जीवमा रहेको शिवतत्व ढाकिएको हुन्छ भने अनुग्रहशक्तिले तेस्तो आवरण नष्ट हुन्छ र शिवतत्वको प्राप्ति हुन्छ | शैवदर्शनमा जीवहरूलाई पशु भनिएको छ | महामायाको शक्तिले (अविद्या) समस्त जीवहरू संसारको बन्धनले बाँधिएका छन् | जीव नित्य तत्व हो | यो ज्ञाता, कर्ता र भोक्ता पनि हो | यसमा आफ्नै इच्छा अर्थात् सङ्कल्पशक्ति छ | आफ्नो लागि असल र कमसल निर्णय लिने अधिकार जीवहरूलाई प्राप्त छ तर निग्रहशक्तिले एस्तो अधिकारमा बाधा पर्छ | जीव स्थूल शरीर, सूक्ष्मशरीर, प्राण तथा अन्त:करण भन्दा नितान्त फरक विषय हो | जीव शरीरमा हुँदा पशु हुन्छ र शरीरबाट मुक्त हुँदा जीव हुन्छ |

शिवतत्वका पांचकार्यहरू छन् – विश्वको उत्पत्ति, पालन, संहार, निग्रह र अनुग्रह |

अविद्या, कर्म र माया यी जीवलाई बन्धनमा राख्ने त्रिविध पाश हुन् | माया अनादि छ र सबै जीवमा व्याप्त छ | यसै अविद्यालाई “आणव मल” पनि भन्ने गरिन्छ | यसै आणवका कारण अनन्त जीवले आफुलाई पशु अर्थात् पाशमा भएको ठान्छ | अविद्याले नै अनन्त जीवले आफुलाई सान्त, सीमित अणुरूप ठानेर संसारको अंग बन्छ | यही बन्धन पशुभूत जीवको बन्धन वा पाश हो | यसैगरी, कर्म जीवले दैनिकीमा गर्ने क्रियाकलाप हुन् | कर्म आफैमा अत्यन्त सूक्ष्म र शक्तिरूप हुन्छन् | जीवलाई सुखदुखआदि भोग गराउनका लागि पदार्थ र जीव बीच सम्वन्धको काम गर्छन् | अर्थात् कर्म नै चेतन जीव र जड भोग्य पदार्थहरू बीचको सम्वन्ध जोड्ने सूत्र हुन् |

माया संसारको उपदान कारण हो | मायाले नै जीवलाई पाश अर्थात् संसार उपलब्ध गराउँछे | शरीर, मन, इच्छा, भोग्यवस्तुहरूजस्ता विषयवस्तुहरू माया निर्मित हुन् | जसले अनादि तथा शुद्ध जीवमा पशुत्व स्थापित हुन्छ | शैवदर्शनमा विज्ञानाकल, प्रलयाकल, सकल गरी तीनप्रकारका जीवहरूको अस्तित्व वर्णित छ | विज्ञानाकल जीवमा केवल आणवमल हुन्छ, प्रलयाकल जीवमा आणव र कार्मणमल निहित हुन्छ भने सकल जीवमा आणव, कार्मण र मायीय यी तिनै मलहरू हुन्छन् | मुक्तिका लागि हरेक जीवले उपरोक्त तीनैप्रकारका मलहरूबाट उन्मुक्ति प्राप्त गर्नुपर्छ | निष्कल, निर्मल र शुद्ध शिवको अनुग्रहले मात्र त्रिमलबाट मुक्ति सम्भव हुन्छ | तर शिवको एस्तो अनुग्रह प्राप्त गर्ने वा नगर्ने निर्णय जीवले नै गर्नुपर्छ |

शैवदर्शनका अनुसार जीव र शिवका बीच तादात्म्य सम्वन्ध सम्वन्ध स्थापित हुनुनै मोक्ष हो | यहाँ एकत्वको अर्थ अपृथकत्व हो | मोक्ष पछि जीवको व्यक्तित्व शिवतत्वमा बिलय हुँदैन | आचार्य रामानुजझैं शैवदर्शनमा पनि जीव र शिवमा एकत्व हुँदैन अपितु जीव नै शिवमा तन्मय हुन्छ | तन्मयताको अर्थ जीवले आफ्नो व्यक्तित्व शिवमा अर्पित गर्नुहो | जीव स्वभावले नै निकटस्थ बस्तुहरूसंग तादात्म्य स्थापित गर्ने हुन्छ | जव उ संसारमा हुन्छ मायासंग उसको तादात्म्य सम्बन्ध हुन्छ भने शिवसंग हुँदा शिवसंगै उसको तन्मयता स्थापित हुन्छ | मोक्षावास्थामा जीव र शिवका वीच (पन्चकृत्य शिवको विशेषता हो जुन जीवमा हुँदैन) बाहेक समानता उपस्थित हुन्छ |

जव उ संसारमा हुन्छ मायासंग उसको तादात्म्य सम्बन्ध हुन्छ भने शिवसंग हुँदा शिवसंगै उसको तन्मयता स्थापित हुन्छ |

आणव, कार्मण र मायीयमल नै जीवका वन्धन अर्थात् पाश हुन् | शिवअनुग्रहले यी मलहरूको विनाश हुन्छ | शिवको अनुग्रह प्राप्त गर्नु हरेक जीवले पशुत्व त्याग्नुपर्छ | सत्कर्म, उपासना, ज्ञान तथा भक्तिले शिवको अनुग्रहप्राप्त हुन्छ | शिवले जीवप्रति अनुग्रह गर्छ भने जीवले शिवप्रति भक्ति गर्नुपर्छ | यसरी जीव र शिवका बीच मिलन हुन्छ | शिव र जीवको मिलनसंगै विभिन्न मलहरू समाप्त हुन्छन् | जीव पशुत्वबाट मुक्त भएर पशुपतिनाथको सान्निध्य प्राप्त गर्छ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घाममा बस भन्दा जागिर छोड्नु पर्‍यो

डा.अरुणा उप्रेती । अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी

कम्युनिस्ट आन्दोलनलाई नै व्यक्तिको साथमा सति पठाउने महाभूल नगरौं

जगन्नाथ खतिवडा । – हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको

‘त्यागको प्रतिमूर्ति’ बनेर आफ्नो स्वास्थ्यको बेवास्ता गर्ने कि आफू स्वस्थ रहेर अरुलाई मद्दत गर्छु भन्ने ?

डा. अरुणा उप्रेती । महिला पहिले आफू स्वस्थ हुनुपर्छ, अनि मात्र अरुको माया

‘मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेतृ बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी