जीव, पशु र पशुपति
जीव, पशु र पशुपति सर्व दर्शनसंग्रहमा माधवाचार्यले चारबटा शैवमतको उल्लेख गरेका छन् – नकुलीश-पाशुपत, शैव, प्रत्याभिज्ञा र रसेस्वर | त्यस बाहेक कापालिक र कालमुख सम्प्रदायहरूको पनि उल्लेख पाइन्छ | भारतीय दक्षिणी राज्यहरूमा बीरशैव र लिंगायत यी दूई पन्थमा शैवमत विभक्त छ | आजभोली लिंगायतहरूले आफु छुट्टै “धर्म” भएको दावी गर्न थालेका छन् |
शैव सिद्धान्तका २८ बटा आगमहरू छन् | मइकन्दरको “शिवज्ञानबोधम्” शैवसिद्धान्तलाई बलियो दार्शनिक आधार दिने ग्रन्थ हो | श्रीकण्ठ शिवाचार्यले ब्रह्मसूत्रमा शिवसिद्धान्त परक भाष्य लेखेर वैदिक आधार दिएका थिए | यस बाहेक तिरूमुरै, तिरू बासगम्, शिवार्कमणि दीपिकाआदि शैवागम प्रसिद्ध छन् | यसमा शिवज्ञान सिद्धयर नामक ग्रन्थ पनि उल्लेखनीय छ |
शैवदर्शनले आफुलाई “शुद्धाद्वैत”का रूपमा प्रकाशित गर्छ | शुद्धको अर्थ निर्विशेष र अद्वैतको अर्थ भेदरहित द्वैत गरिएको छ | द्वैत तत्वत: सही छ भने अद्वैत सम्वन्धका आधारमा सत्य छ | जीव तथा जगत मूलत: शिवतत्व भन्दा अलग तत्व हुन् तर यी दूवै बीच र शिवतत्वका बीच अभेद सम्वन्ध छ | संसारिक दृष्टिकोणले शिव र जीवा फरक तत्व हुन् भने शिवको दृष्टिकोणले शिव-जीव अपृथक तत्व हुन् | जीव, जगत र शिव तिनैबटा तत्वहरू सत्य, नित्य र अभेद छन् |
शिव नै पति हुन् किनभने उनी सबैका स्वामी हुन् | आत्मसत्ता, प्राकृतिक शुद्धता, स्वानुभूति, अनन्त ज्ञान, स्वतन्त्रता, अनुग्रह वा प्रेम, सर्वशक्तिमत्ता तथा अनन्त आनन्द – यी आठबटा गुणहरू शिवमा अनन्त छन् | यिनै आठबटा गुणहरूले शिव पशुपति अर्थात् समस्त जीवहरूका स्वामी हुन् | यिनै शिव जगतका निमित्तकारण हुन् भने उनकी शक्ति माया उपदान कारण हुन् | शिव र शक्तिका बीचमा अभिन्न सम्वन्ध छ | शिव विना शक्ति त शाक्ति विना शिवको परिकल्पना नै हुँदैन |
जीव तथा जगत मूलत: शिवतत्व भन्दा अलग तत्व हुन् तर यी दूवै बीच र शिवतत्वका बीच अभेद सम्वन्ध छ । आत्मसत्ता, प्राकृतिक शुद्धता, स्वानुभूति, अनन्त ज्ञान, स्वतन्त्रता, अनुग्रह वा प्रेम, सर्वशक्तिमत्ता तथा अनन्त आनन्द – यी आठबटा गुणहरू शिवमा अनन्त छन् |
समस्त सृष्टि महामाया, विद्या वा बिन्दूका कारण भएको हो भने अशुद्ध अर्थात् जगत र जीवको सृष्टि मायाका कारण भएको हो जुन विन्दूका रूपमा अपरिस्कृत छन् | शैवदर्शनका अनुसार महामाया र माया दूबै शिवाक जडशक्ति हुन् जुन दिव्य स्वरूपशक्ति भन्दा फरक परिग्रहशक्तिका रूपमा प्रकाशित छन् | शिवतत्व सर्वव्यापक, सर्वशक्तिमान र सर्वज्ञ छ | शिवतत्वका पांचकार्यहरू छन् – विश्वको उत्पत्ति, पालन, संहार, निग्रह र अनुग्रह | निग्रहका कारण जीवमा रहेको शिवतत्व ढाकिएको हुन्छ भने अनुग्रहशक्तिले तेस्तो आवरण नष्ट हुन्छ र शिवतत्वको प्राप्ति हुन्छ | शैवदर्शनमा जीवहरूलाई पशु भनिएको छ | महामायाको शक्तिले (अविद्या) समस्त जीवहरू संसारको बन्धनले बाँधिएका छन् | जीव नित्य तत्व हो | यो ज्ञाता, कर्ता र भोक्ता पनि हो | यसमा आफ्नै इच्छा अर्थात् सङ्कल्पशक्ति छ | आफ्नो लागि असल र कमसल निर्णय लिने अधिकार जीवहरूलाई प्राप्त छ तर निग्रहशक्तिले एस्तो अधिकारमा बाधा पर्छ | जीव स्थूल शरीर, सूक्ष्मशरीर, प्राण तथा अन्त:करण भन्दा नितान्त फरक विषय हो | जीव शरीरमा हुँदा पशु हुन्छ र शरीरबाट मुक्त हुँदा जीव हुन्छ |
शिवतत्वका पांचकार्यहरू छन् – विश्वको उत्पत्ति, पालन, संहार, निग्रह र अनुग्रह |
अविद्या, कर्म र माया यी जीवलाई बन्धनमा राख्ने त्रिविध पाश हुन् | माया अनादि छ र सबै जीवमा व्याप्त छ | यसै अविद्यालाई “आणव मल” पनि भन्ने गरिन्छ | यसै आणवका कारण अनन्त जीवले आफुलाई पशु अर्थात् पाशमा भएको ठान्छ | अविद्याले नै अनन्त जीवले आफुलाई सान्त, सीमित अणुरूप ठानेर संसारको अंग बन्छ | यही बन्धन पशुभूत जीवको बन्धन वा पाश हो | यसैगरी, कर्म जीवले दैनिकीमा गर्ने क्रियाकलाप हुन् | कर्म आफैमा अत्यन्त सूक्ष्म र शक्तिरूप हुन्छन् | जीवलाई सुखदुखआदि भोग गराउनका लागि पदार्थ र जीव बीच सम्वन्धको काम गर्छन् | अर्थात् कर्म नै चेतन जीव र जड भोग्य पदार्थहरू बीचको सम्वन्ध जोड्ने सूत्र हुन् |
माया संसारको उपदान कारण हो | मायाले नै जीवलाई पाश अर्थात् संसार उपलब्ध गराउँछे | शरीर, मन, इच्छा, भोग्यवस्तुहरूजस्ता विषयवस्तुहरू माया निर्मित हुन् | जसले अनादि तथा शुद्ध जीवमा पशुत्व स्थापित हुन्छ | शैवदर्शनमा विज्ञानाकल, प्रलयाकल, सकल गरी तीनप्रकारका जीवहरूको अस्तित्व वर्णित छ | विज्ञानाकल जीवमा केवल आणवमल हुन्छ, प्रलयाकल जीवमा आणव र कार्मणमल निहित हुन्छ भने सकल जीवमा आणव, कार्मण र मायीय यी तिनै मलहरू हुन्छन् | मुक्तिका लागि हरेक जीवले उपरोक्त तीनैप्रकारका मलहरूबाट उन्मुक्ति प्राप्त गर्नुपर्छ | निष्कल, निर्मल र शुद्ध शिवको अनुग्रहले मात्र त्रिमलबाट मुक्ति सम्भव हुन्छ | तर शिवको एस्तो अनुग्रह प्राप्त गर्ने वा नगर्ने निर्णय जीवले नै गर्नुपर्छ |
शैवदर्शनका अनुसार जीव र शिवका बीच तादात्म्य सम्वन्ध सम्वन्ध स्थापित हुनुनै मोक्ष हो | यहाँ एकत्वको अर्थ अपृथकत्व हो | मोक्ष पछि जीवको व्यक्तित्व शिवतत्वमा बिलय हुँदैन | आचार्य रामानुजझैं शैवदर्शनमा पनि जीव र शिवमा एकत्व हुँदैन अपितु जीव नै शिवमा तन्मय हुन्छ | तन्मयताको अर्थ जीवले आफ्नो व्यक्तित्व शिवमा अर्पित गर्नुहो | जीव स्वभावले नै निकटस्थ बस्तुहरूसंग तादात्म्य स्थापित गर्ने हुन्छ | जव उ संसारमा हुन्छ मायासंग उसको तादात्म्य सम्बन्ध हुन्छ भने शिवसंग हुँदा शिवसंगै उसको तन्मयता स्थापित हुन्छ | मोक्षावास्थामा जीव र शिवका वीच (पन्चकृत्य शिवको विशेषता हो जुन जीवमा हुँदैन) बाहेक समानता उपस्थित हुन्छ |
जव उ संसारमा हुन्छ मायासंग उसको तादात्म्य सम्बन्ध हुन्छ भने शिवसंग हुँदा शिवसंगै उसको तन्मयता स्थापित हुन्छ |
आणव, कार्मण र मायीयमल नै जीवका वन्धन अर्थात् पाश हुन् | शिवअनुग्रहले यी मलहरूको विनाश हुन्छ | शिवको अनुग्रह प्राप्त गर्नु हरेक जीवले पशुत्व त्याग्नुपर्छ | सत्कर्म, उपासना, ज्ञान तथा भक्तिले शिवको अनुग्रहप्राप्त हुन्छ | शिवले जीवप्रति अनुग्रह गर्छ भने जीवले शिवप्रति भक्ति गर्नुपर्छ | यसरी जीव र शिवका बीच मिलन हुन्छ | शिव र जीवको मिलनसंगै विभिन्न मलहरू समाप्त हुन्छन् | जीव पशुत्वबाट मुक्त भएर पशुपतिनाथको सान्निध्य प्राप्त गर्छ |
डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।