भूकम्पको पाँच बर्ष
डा. रवीन्द्र पाण्डे ।
२०७२ साल बैशाख १२ गते बार्पाक केन्द्रबिन्दु भएर आएको महाभूकम्पले हाम्रो जीवन तहसनहस पारेको थियो | झन्डै १० हजार व्यक्तिको ज्यान गएको, लाखौँ घाइते भएको तथा लाखौँ घर, बिद्यालय ध्वस्त गरेको त्यो
प्रलयकारी महाभूकम्प गएको आज ५ बर्ष बितेको छ |
.
त्यो समयमा ज्यानको बाजी राखेर हामी अतिप्रभावित १० जिल्लाका करिब ६० गाउँका निशुल्क स्वास्थ्य शिबिर लिएर गएका थियौं | भग्नावशेष, चौर, बाटो, स्कुल आदिमा बसेर त्यो ३ महिनामा नौ हजारभन्दा धेरै घाइते तथा पीडित जनतालाई सेवा दिएका थियौं | भूकम्प संगसंगै गाउँवस्तीमा पुग्नु जोखिमयुक्त काम थियो | निशुल्क स्वास्थ्य शिबिर चलाउँदा धेरै गाउँमा रातको ११ बजेसम्म भोकै बिरामी जाँचेर, औषधि दिएर तथा हृदयविदारक ठाउँमा राहत उपलब्ध गराएर त्यो ३ महिना बिताएका थियौं
|
.
त्यति मात्र हैन बिकट गाउँमा न्याना कपडा वितरण, सरसफाई तथा पोषण सामग्री वितरण, बिध्यार्थिहरुलाई स्टेसनरी तथा ब्याग वितरण, भूकम्पले टुहुरा भएका बालबालिकालाई पढाइको ब्यबस्था, मनोपरामर्श सेवा लगायतका काम गरेका थियौं | अहिले सम्झंदा लाग्छ, ३ महिना रातदिन खट्ने त्यो शक्ति कसरी प्राप्त भए होला ? डर किन नलागेको होला ? ऋणको डर किन नलागेको होला ? त्यो अभियानमा सहयोग, हौसला र प्रेरणा दिने महानुभावप्रति हामी सधै आभारी छौं | केटाकेटी घरमा छोडेर दीपा, म र सहयोगी भाइ दिवस त्यो समरमा भिडेका थियौं | आत्मीय मित्रहरु र स्थानीय पीडितको अमूल्य माया कहिल्यै बिर्सन सकिंदैन |
.
यहि यात्रालाई लिपिबद्ध गरेर ‘ भुकम्पना मल्हमपट्टी ‘ नामक संस्मरणात्मक पुस्तक लेखेको थिएँ | उक्त पुस्तकले २०७३ सालको उत्तमशान्ति पुरस्कार पाएको थियो | यहाँहरुको माया, हौसला तथा अपनत्वको कारण देशलाई संकट परेको बेलामा आफुलाई समर्पण गर्न उर्जा मिलिरहेको छ |
.
त्यो महाभूकम्पमा जीवन गुमाउनेहरु प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु |