भारत-पाकिस्तान युद्धमा ठूलो अप्रत्याशित विजयचाहिं चाइनिज फाइटर जेटको !
-नारायण गाउँले ।
युद्ध भारत र पाकिस्तानबीचको थियो तर जित भने अरूले नै हात पारे ! कुनै पनि मध्यस्थकर्ताका लागि एकदम छिटो र तत्काल लागू हुने गरी गरिएको युद्धविराम पक्कै सजिलो विषय होइन । डोनाल्ड ट्रम्पले यो बाजी जिते । र त्यसभन्दा ठूलो अप्रत्याशित विजयचाहिँ तलको चाइनिज फाइटर जेटले हासिल गर्यो । पाकिस्तानसँग J-10c अ मोडलको ४.५ जेनेरेशनको २० वटा जति चाइनिज फाइटर जेट छ । चीनबाहिर पाकिस्तानमात्रै J-10 को प्रयोगकर्ता भएकाले यो जेटको वास्तविक युद्धक्षमताबारे अनुमान मात्रै थिए ।
भारत चाहिँ फ्रेन्च युद्धजेट Dassault Rafale को प्रयोगकर्ता हो । पाँचौं जेनेरेशनको जस्तो स्टील्थ अर्थात् राडार या एअरडिफेन्सले नभेट्ने क्षमता नभए पनि यो निकै शक्तिशाली, बहुउपयोगी र घातक जेट मानिन्छ । दुबै एकै जेनेरेशनको भए पनि कागजमा चाइनिज मोडलभन्दा यो विश्वसनीय र बलियो देखिन्थ्यो । यो निकै महँगो जेट पनि हो । भरपर्दो रिपोर्टहरू अनुसार पाकिस्तानले कम्तिमा दुई वटा Rafale जेट खसालेको र त्यसका लागि J-10c प्रयोग भएको खबरले विश्वको ध्यान खिचेको छ । यो दुई जेटबीच पहिलो आमनासामना हो भने उच्च प्रविधि र क्षमताको मानिने Rafale को यो पहिलो युद्ध–क्षति हो । यो सफलताबारे चीन आफैंले खास केही नबोले पनि यसलाई ए–आईमा डीपसीकले ल्याएको तहल्कासँग जोडेर टिप्पणीहरू आएका छन् । चीनमा खुसी र विजयको माहोल छ । यसअघि नै इजिप्टलगायतका देशहरूले यो जेट खरीद गर्ने सम्झौता या इच्छा व्यक्त गरेका छन् ।
चीनका लागि यो निकै महत्त्वपूर्ण घटना हो । अत्याधुनिक प्रविधि र क्षमता भए पनि चिनियाँ मिलिटरी उपकरणमाथि विश्व र स्वयं चीनभित्र पनि अनेक आशङ्का देख्न सकिन्थ्यो । वास्तविक युद्धमा क्षमता जाँच्ने अवसर नपरेकाले पनि त्यस्तो भएको होला ।
फाइटरजेटसँगै पाइलटको कुशलतादेखि जेटले बोक्ने हतियार र त्यसका थप उपकरणसम्मको भूमिकाले पनि ठूलो फरक पर्न सक्छ । तर पनि हतियार निर्यातलाई जोड़ दिइरहेको र ठूलो बजार ताकिरहेको चीनलाई यो प्रकरणले पक्कै बल दिनेछ ।
विश्व पाँचौं जेनेरेशनको फाइटरजेटबाट छैटौँ जेनेरेशनतिर बढ्दै छ । यो क्षेत्रमा अमेरिका, रसिया र युरोपको दबदबा रहेकोमा अब चीन नयाँ खेलाडी बनेर निस्किने अनुमान छ । यद्यपि युद्धका परम्परित रूपहरू फेरिएर महँगा लडाकू विमानभन्दा सस्ता, हलुका र पोर्टेबल ड्रोनहरू बढी उपयोगी र घातक साबित हुँदै छन् । र पनि एअरफोर्सको ताकत र प्रतिष्ठा फाइटरजेटको सङ्ख्या र मोडलसँगै जोडि़ने हुनाले यसको बजार निःसन्देह ठूलो छ । अँ, छिमेकमा तत्कालका लागि युद्धको बादल टरेकोमा चाहिँ हामी पनि खुसी नै छौं !