बीबीसी । इरानविरुद्ध संसद्को स्वीकृतिबिनै युद्ध सञ्चालन गरेको आरोपमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउने प्रयास असफल भएको छ ।अमेरिकी संसदले महाभियोग प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा मतदान गरेपछि तत्कालका लागि उक्त प्रक्रिया रोकिएको हो । रिपब्लिकन सांसद थोमस मेसीले अघि सारेको प्रस्ताव मंगलबार २११ विरुद्ध २०४ मतले असफल भएको हो ।
प्रस्तावको विपक्षमा मतदान गर्नेमा मेसी एक्ला रिपब्लिकन सांसद थिए । मतदानमा ११ डेमोक्रेटिक सांसदसहित एक दर्जनभन्दा बढी सदस्य अनुपस्थित थिए ।पेन्टागनमा छ महिनापछि आयोजित पहिलो पत्रकार सम्मेलनमा रक्षामन्त्री हेगसेथले महाभियोगको प्रयासलाई ‘हास्यास्पद’ र ‘अवरोध सिर्जना गर्ने गतिविधि’ भन्दै आलोचना गरेका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मतदानको परिणामलाई स्वागत गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले महाभियोग प्रस्ताव नराम्ररी असफल भएको उल्लेख गर्दै हेगसेथलाई देशभक्त अमेरिकी नागरिकको संज्ञा दिएका छन् ।
मेसीले भने प्रस्ताव तत्काल सफल नहुने सम्भावना आफूलाई पहिल्यै थाहा भए पनि परिणामले निराश बनाएको बताएका छन् । उनका अनुसार संसद्का सदस्यहरूले के गर्नुपर्छ भन्ने थाहा पाए पनि त्यसका लागि आवश्यक निर्णय लिन सकिरहेका छैनन् ।
मेसीले ट्रम्पलाई हेगसेथको स्थानमा अर्को व्यक्ति नियुक्त गर्न दबाब दिन महाभियोग प्रस्ताव ल्याएको बताएका थिए । रिपब्लिकनहरूको नियन्त्रण कायम रहेकै बेला नयाँ रक्षामन्त्री नियुक्त गरी सिनेटबाट अनुमोदन गराउने समय उपलब्ध गराउनु पनि उनको उद्देश्य थियो ।
अमेरिकी संसद्को कार्यकाल समाप्त भएपछि पनि महाभियोग प्रस्तावमाथि प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ । त्यसैले आगामी जनवरीदेखि संसद्का दुवै सदनको नियन्त्रण लिने डेमोक्रेटहरूले उक्त प्रस्तावलाई पुनः अघि बढाउन सक्नेछन् । मध्यावधि निर्वाचनमा सफलता हासिल गरेपछि जनवरीदेखि प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटहरूको नियन्त्रण रहनेछ ।

प्रतिक्रिया