कहाँ अपहरण गर्न, सवारी चलाउन पो पूर्वआईजी साप जनकपुरतिर जानु भा हो त !



व्यंग्यः

ज्ञानबहादुर क्षेत्री ।
सोमबार सरकारले २ थान अध्यादेश ल्यायो दलहरु फुटाउन सजिलो हुने गरी । टार्गेटमा थिए, तत्कालिन समाजवादी र राजपा । तर कोरोना कहरमा लादिएको लकडाउनले गर्दा सिधै सरकार संलग्न भएर यो काम गर्न सजिलो थिएन । त्यसैलै निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालको साथ लिएको हो, वर्तमान केपी ओली सरकारले । त्यसै अनुसार पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको सवारी चलाउन पूर्व आईजी खनाल साप राजधानीबाट जनकपुरतिर हानिनु भएको हो माननीय महेश बस्नेतहरुसहित । त्यसैले निवर्तमान आईजी साप खनाललाई साँसद अपहरणको कथित आरोप लगाउन पाईदैन ।

खनाल साव त फौजी मान्छे । फौजीको मान्छे वर्तमान होस वा भूतपूर्व ऊ त राज्यको, सरकारको नुन खाएको मान्छे हो । राज्यले सरकारले चाहेको बेला उसलाई प्रयोग गर्न सक्छ । त्यो राज्य वा सरकारको तजविजी अधिकार हो । अहिले देशमा ओली राज छ । प्रधानमन्त्री केपी ओलीले आफ्ना छोरा समान माननीय महेश बस्नेतको साथमा फौजी सेवाका भर्खरै सेवानिवृत्त एक जना उच्चतम तहका पुलिस अधिकारीलाई अर्का माननीयको सवारीका लागि खटायो त के बिरायो ?

सरकारले खटायो, पूर्व आईजी खनाल सापले सरकारी उर्दी मान्नु भो । उहाँले के नै बिराउनु भो र ? त्यसैले खनाल सापमाथि अपहरण सपहरणको कुनै आरोप लगाउन मिल्दैन । यो सोह्रैआना उहाँमाथिको मानहानीको विषय हो , सरकारलाई अपमान गरेको उदाहरण हो ।
हेर्नुस फेरि पूर्व आईजी खनाल साप अस्ति भर्खर मात्र रिटार्यड हुनु भा छ । उहाँको ज्यान हेर्नुस, उमेर हेर्नुस, अनुभव हेर्नुस त । सबै कुराले उहाँ सरकारलाई सघाउन सुयोग्य पात्र हो । त्यही एउटा निर्मला हत्याकाण्ड त हो नी उहाँले पार लाउन नसक्या ।

त्यसमाथि महेश बस्नेत जस्तो प्रधानमन्त्री पुत्र सरह माननीयसंग हार मिलाएर सरकारलाई सघाउन पाउनु निवर्तमान आईजी सापका लागि झन खुसी र गर्वको विषय हो । त्यसैले मौका पाउदा उहाँले देशको सेवा र सरकारको जय गर्न ज्यानै दिएर कोरोनाको कहरका वीच पनि यो काम गर्नु भएको हो । यसलाई यत्तिमा नै बुझ्नुपर्छ ।

फेरि अचेल फौजी जागिर सकिएपछि दलको झण्डा ओढेर नेता बन्ने लहर चल्या सबैलाई थाहै छ । अस्ती भर्खर नवराज सिलवाल सूर्यको प्रतापले केपी ओलीको असिम निगाहाले ललितपुरको माननीय बन्नु भएको नजिर छर्दैछ । अब अर्को नवराज सिलवाल भाग २ बन्ने रहर निवर्तमान आईजी खनाल सापमा पनि हुनु नितान्त स्वभाविक छ । यसमा किन पो उहाँलाई आरोपित गर्नु पर्ने कारण छ र ?

त्यसमाथि आईजीपिमा कार्यरत हुदा फौजीको बर्दी, रासन आदि खरीदमा सुकालाई मोहोर बनाउदा दुश्मन लागेर खनाल साप विरुद्ध खै कुनचाहि दुष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्देको कुरा ओपन सेक्रेट छ । पदमा हुदासम्म बल्ल तल्ल उहाँले अख्तियारमा परेको उजुरीलाई पर सार्दै सार्दै पदमुक्त हुन सफल हुनु भएको हो । अहिले पदमा नभएका बेलामा त त्यो उजुरीले उहाँलाई घाँटीमा झुण्डाएको तरबार बराबर तनाब दिईरहेकै छ ।

यस्तो बेलामा सरकारलाई रिझाएर जति सक्दो छिटो अर्को कुनै सरकारी निकायको गतिलो पदमा नियुक्ति लिन पाए उहाँको त्यो घाँटीमा झण्डिएको धारिलो तरबारको व्यवस्थापन हुन्थ्यो । एनी हाऊ अब पूर्व आईजी खनाल सापलाई अख्तियार छल्न पनि अर्को सरकारी नियुक्ति नभई भा छैन ।

तर सरकारी नियुक्ति सित्तैमा त कसले टक्र्याउछ र ? केही न केही लगानी र पौरख देखाएरै सरकारलाई विश्वास दिलाउने त हो नी । हो, त्यही भएर तत्कालिन समाजवादी दलका नेता तथा साँसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण होईन सवारी चलाउन मात्रै पूर्व आईजी खनाल साप जनकपुरतिर जानु भा हो । यसलाई यसै रुपमा बुझिदिनुपर्छ है मान्यवरहरु ।

जहाँसम्म यो कदमलाई उहाँको विरुद्धको आक्रमणको औजार बनाउने केही मिडिया र विरोधीहरुको प्रयास छ, त्यो सबै स्वतः बदरको भागिदार छ किन भने कोरोना महामारीका बेला यस्तो प्रचार गर्नु र पूर्व आईजी खनाल सापको विरुद्धमा लाग्नुको, लेख्नुको, बोल्नुको कुनै तुक नै छैन । किन भने यो ओलीतन्त्रको युग हो, सत्ता हो, सत्य हो । यहाँ ओलीतन्त्रतमा यस्तै ठूलाठूला कर्महरु भैरहन्छन् । किन भने यो ओली जुग हो । त्यसैले बरु, सबैले भन मिलेर अब जय जय आईजी खनाल साप । जय जय ओलीतन्त्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द्वन्द्व व्यवस्थापनमा राज्यमात्रै नभई नागरिक समाज र समाजका हरेक व्यक्तिको उत्तिकै भूमिका हुन आउँछ

-सन्तोष पौडेल समाज द्वन्द्वबाटै निर्माण भएको हुन्छ । बिनाद्वन्द्वको समाजको परिकल्पना साम्यवादमा मात्रै

कांग्रेसको संस्थापन पक्षबिरुद्ध चलाइरहेको संघर्षका पछाडिको उद्देश्य के ?

मोहनबिक्रम सिंह । अहिले नेपाली कांग्रेसभित्र तीव्र संघर्ष चलिरहेको छ । त्यो अन्तरसंघर्षसित

आज देशमा मानिसको ज्ञान विज्ञान र चेतनाद्वारा निर्देशित भएन

डा. युवराज संग्रौला । आचरण विनाको ज्ञान र ह्यान्डल विनाको कराइ उस्तै हुन्