दोक्लाम प्रकरणः भारत र चीनवीच युद्धको सन्त्रास



भारत र चीनबीच भुटान सीमा क्षेत्र दोक्लाममा तनाव जारी छ । धेरैको आशंका छ, कतै एसियाका उदाउँदा अर्थतन्त्रबीच युद्ध त हुँदैन ? घटनाक्रमहरुले पनि त्यही संकेत गर्छन् । चीनले यही तनावको सेरोफेरोमा रहेर २ अगस्टमा १५ पृष्ठको ‘पोजिसन पेपर’ सार्वजनिक गर्नुले पनि त्यही आशंकालाई बल पुर्‍याउँछ । उक्त पोजिसन पेपर सबै अन्तर्राष्ट्रिय समुदायमा सञ्चारित भएको छ । लामो समयदेखि जारी भारत-चीन सीमा विवादमा चीनले त्यस्ता कुनै कूटनीतिक ‘नोट’ सार्वजनिक गरेको थिएन ।

उक्त पेपरमा चीनले दोक्लामलाई आफ्नो भूमि भएको प्रमाण दिएको छ । सरकारी कागजातहरुबाट त्यसलाई पुष्टि गर्ने आधार रहेको चीनले स्पष्ट गरेको छ । पोजिसन पेपर सार्वजनिक गर्नु ठट्टाको विषय होइन । यो चीनको तर्फबाट महत्वपूर्ण संकेत हो ।

सिक्किमस्थित चीनसँगको सीमा सुरक्षा गर्ने भारतीय सेनाको ‘कप्र्स्-३३’लाई धमाधम सीमानामा तैनाथ गर्न थालिएको छ । अक्टोबर अन्तिमदेखि सेप्टेम्बरसम्म सेनाको डफ्फालाई त्यसरी सीमा क्षेत्रमा पुर्‍याउने चलन थियो । यस पटक एक महिनाअघि नै परिचालन गर्न थालिएको छ ।

चीनतर्फ करिब-करिब एक बटालियन बराबरको सैनिक टोली दोक्लामबाट एक किलोमिटर टाढा तैनाथ भइसकेको छ । यो चिनियाँ भूमितर्फ गरिएको पछिल्लो ‘डिप्लोयमेन्ट’ हो । र, तिब्बत स्वायत्त क्षेत्रमा ‘मिसाइल’हरुको गतिविधि पनि बढाएको छ, चीनले । तिब्बतमै जनमुक्ति सेनाले दुई पटक युद्ध अभ्यास गरेको चिनियाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरिसकेका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले त्यसको श्रव्यदृष्य सामग्री नै प्रसारण गरेको छ ।

दुवैतर्फ बढाइएको सैनिक गतिविधिको अन्तर्य युद्धको तयारी हो ? प्रश्न अनुत्तरित छ । कतिपयले यसलाई कागजी युद्ध -पेपर वार)का रुपमा पनि व्याख्या नगरेका होइनन् ।

तथापि, भारत र चीन दुवै एसियाका उदाउँदा आर्थिक शक्ति हुन् । र, दुवैबीच आर्थिक सहकार्य पछिल्ला वर्षमा उकालो लागेको छ । के अब फेरि दुवै मुलुक परम्परागत शैलीको युद्धमा होमिएलान् ? किनभने आधुनिक विश्वको एउटा मापदण्ड आर्थिक सहकार्य बनिसकेको छ ।

यसै पनि दुवै मुलुक भित्रभित्रै कूटनीतिक संवादमा रहेको विषय छिपेको छैन । तर, सीमा क्षेत्रमा दुवैतर्फ बढ्दो सैनिक गतिविधिले परम्परागत युद्धको अवस्थामा पुर्‍याउादै गरेको शंकालाई मलजल गरिरहेको छ ।

दक्षिण चीन समुद्रमा चीनसँग जापान, दक्षिणकोरिया, फिलिपिन्सको सीमा विवाद छ । त्यसमा प्रतिष्ठा पनि जोडिएको छ, सबै मुलुकको । दोक्लामको सीमा विवादलाई पनि भारत र चीन दुवैले प्रतिष्ठाको विषय बनाइएको पाइन्छ ।

चिनियाँ सरकारी समाचार पत्र पिपुल्स डेलीले सरकारी अधिकारीहरुको भनाइ उद्धृत गर्दै भारतसँगको संवादलाई नकारेको छैन । तर, त्यसको पूर्वशर्तका रुपमा भारतीय सेना चीनले आफ्नो स्वामित्व दाबी गरेको क्षेत्रबाट पछाडि हट्नुपर्ने बताएको छ । भारतीय सेनाले त्यहाँबाट फिर्ता जान मानेको छैन ।

यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने चाइना डेलीले उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै ‘काउन्ट डाउन’ यसअघि नै शुरु भइसकेको बताएको छ । चीनको सरकारी परम्परा छ, सम्बन्धित मन्त्रालयले सीधा भन्न नसक्ने विषय सरकारी मुखपत्रहरु मार्फत् सार्वजनिक गराउने । सोही कारण पिपुल्स डेली, चाइना डेली र ग्लोबल टाइम्समा आएका समाचार र टिप्पणी सरकारी धारणा नै हुन् ।

भुटानको रहस्यमय भूमिका
पछिल्ला दिनमा सञ्चारमाध्यममा आएका विश्लेषणहरु अध्ययन गर्दा भुटानी राजसंस्था आफ्नो मुलुकलाई भारतीय प्रभुत्वको चक्रबाट बाहिर निकाल्न चाहन्छ । चीनतर्फबाट ‘वान बेल्ट वान रोड’ -ओबीओआर)को विश्व व्यवस्थामा प्रवेश गर्ने सन्देश भुटानी राजसंस्थाले पनि नपाएको होइन । भुटानी सीमासम्म सडक विस्तारमा ओबीओआरको सोही व्यवस्थातर्फ आकषिर्त गर्ने चिनियाँ रणनीति पनि छिपेको छ । चीनको अहिलेको विदेश नीति ओबीओआर नै हुन पुगेको छ ।

अंग्रेजको पञ्जाबाट मुक्त भएको भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुकै पालादेखि भुटान उसको ‘हिमालयन बफर स्टेट’को परिभाषाभित्र बसिरहेको छ । नेहरुको बफर स्टेटको अवधारणा चीनविरुद्ध लक्षित छ । र, चीनबाट बच्ने सुरक्षा घेराको रुपमा नेहरुले हिमाली क्षेत्रलाई व्याख्या गरेका थिए ।

शान्तबाट आक्रामक कूटनीतिक अभ्यासमा चीन प्रवेश गरेपछिका दिनमा ‘हिमालयन बफर स्टेट’को परिभाषामाथि नै प्रश्न चिन्ह खडा भएको छ । भारतले चिनियाँ चेतावनीका बावजुद दोक्लामबाट आफ्नो सेना फिर्ता नगर्नुको मुल कारण नै सोही परम्परागत परिभाषाको रक्षा गर्ने उद्देश्य अन्तरनिहीत रहेको बुझ्न गाह्रो छैन । यो भनेको भारत यथास्थितिमै बस्न चाहन्छ भन्ने पनि हो ।

२९ जूनमा आएको प्रेस नोटबाहेक दोक्लाम प्रकरणमा उक्त हिमाली अधिराज्य मौन बस्दै आएको छ । उक्त प्रेस नोट पनि औपचारिकतामै सीमित छ । सन् १९४९ को शान्ति तथा मैत्री सन्धिअनुसार भुटानको विदेश र रक्षा नीति भारतबाट निर्देशित हुन्थ्यो । उक्त प्रावधान सन् २००७ मा आएर हट्यो ।

सन् २००७ भन्दा अगाडि भुटानलाई कतिपय शोधार्थीहरुले भारतको ‘संरक्षित राज्य’का रुपमा लिन्थे । सन् २००७ को सन्धिमा ‘गाइडेड’ शब्द हटाइएपछि भुटानले विगतको भारतीय वृत्तबाट मुक्ति पायो ।

सन् १९४९ मा उपनिवेशवादको अन्त्य हुँदै थियो । तथापि, त्यतिबेलाको विश्वमा ‘गाइडेड’ शब्द उपयुक्त हुन सक्थ्यो होला । सन् २००७ मा भने त्यसो गर्न सकिँदैनथ्यो । पंक्तिकारको बुझाइमा कानुनी हिसाबले भुटान भारतको निर्देशनात्मक व्यवस्थाबाट मुक्त भए पनि व्यवहारमा भइसकेको छैन ।

करिब सात लाख जनसंख्या रहेको भुटान भने अहिले के गर्दैछ त ? भुटानले आफूलाई सांगि्रला -पृथ्वीको स्वर्ग) का रुपमा आफूलाई प्रस्तुत गर्छ । भुटानले विकासको कुरा गरेन, ‘ग्रस नेसनल ह्याप्पिनेस’को कुरा गर्‍यो । बौद्ध धमावलम्बीहरुको बाहुल्य भएको मुलुकले संसारका दुई शक्तिशाली देशलाई कसरी युद्धको चपेटामा धकेल्दैछ भन्ने कुरा बिचारणीय हो ।

भुटानको मौनता आफैंमा रहस्यमय छ । विश्वका दुई ठूला जनसंख्या भुटानका कारणले युद्ध मैदानमा आमनेसामनेझैं बनेका छन् । भुटानको द्वैध चरित्र बुझिनसक्नुको छ । भुटानले गर्न र चाहेको के हो भन्ने नै स्पष्ट छैन । त्यो बुझेपछि मात्र त्यसको अन्तर्य खोतल्न सकिन्छ । यहाँनेर भारत या चीनलाई मात्र दोष दिने अवस्था देखिँदैन । भुटान चुपचाप के गरेर बसिरहेको छ ? जबकि, उसको सीमामा भारत र चीन युद्धको तयारीमा झैं गतिविधि गरिरहेका छन् ।

भुटानी विदेश मन्त्रालयको २९ जूनको विज्ञप्तिमा भारतलाई सहयोग गर्न आग्रह पनि गरेको छैन । भारतले भने भुटानको स्वार्थका लागि आफू त्यहाँ भएको बताइरहेको छ । भुटानले दिन खोजेको सन्देश के हो ?

चिनियाँहरुको बुझाइ छ, भुटानलाई भारतले जबर्जस्ती प्रभावमा राखेको छ । सञ्चारमाध्यममा आएका सामग्रीको अध्ययन र चिनियाँ मित्रहरुसँगको संवादबाट यही विश्लेषण गर्न सकिन्छ । सिक्किमको अर्को संस्करणका रुपमा चिनियाँहरुले भुटानमा भारतको कार्यशैलीलाई बुझेका छन् ।

अहिलेको समयमा सिक्किमलाई आफूमा विलय गराएजस्तो सफलता भारतले भुटानमा पाउने छैन । तर, अहिलेसम्मको जुन ‘स्टाटस को’ -यथास्थिति) छ, त्यही कायम राख्ने भारतीय प्रयासका रुपमा चिनियाँहरुले दोक्लाम प्रकरणलाई लिएका छन् । भारत र चीन दुवैका लागि भुटान त्यति ठूलो बजार होइन ।

त्यसैले अहिलेको जटिलताबाट पार पाउन भारत र चीन दुवैबीच भारतीय सैनिक फिर्ता गर्ने र हालसम्मको ‘स्टाटस को’ कायम राख्ने समझदारी विकास गर्न सक्छन् । भारत र भुटान, चीन र भुटान, अहिलेकै सम्बन्धको परिधि कायम राख्दा यस जटिलताबाट पार पाउन सकिने देखिन्छ । त्यसो गर्दा चीनले भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न भने पाउने छैन ।

दोक्लाम प्रकरण बुझ्न अलि फराकिलो परिधिमा गएर विश्लेषण गर्नुपर्छ । २९ जुनमा दोक्लाम प्रकरणबारे भुटानको प्रेस नोट सार्वजनिक भयो । जबकि, १६ जुनदेखि नै उक्त समस्या शुरु भइसकेको थियो । जुन अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा गए । अमेरिका, जापान र भारतका जलसेनाबीच भारतको मालाबार इलाकामा संयुक्त अभ्यास हुने उनी अमेरिका उड्नुअघि नै सार्वजनिक भइसकेको थियो । त्यस्तो सैनिक अभ्यास इतिहासमा कहिल्यै भएको थिएन ।

‘एन्टी सब-मरिन’ युद्ध अभ्यास थियो त्यो । कतिपय शोधार्थीले चीनले हिन्द महासागरमा ‘सब-मरिन’को सञ्जाल बिछ्याएकाले त्यसको प्रतिकार गर्ने अभ्यासका रुपमा लिएका छन्, यसलाई । साथै, अपि|mका महादेशको जिबुटीमा चीनले मुलुकबाहिरको पहिलो सैन्य शिविर खडा गरेको छ । त्यस्तै सैन्य शिविर अमेरिकाले यसअघि नै स्थापना गरिसकेको छ, जिबुटीमा ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका जाँदा विदेश सचिव एस जयशंकरले सञ्चारमाध्यमहरुलाई ‘बि्रफिङ’का क्रममा ‘रणनीतिक सम्मिलन’ शब्द प्रयोग गरेका थिए । भारत र अमेरिका रणनीतिक सम्मिलनको चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

त्यति नै बेला उत्तरकोरियाले ‘इन्टर कन्टिनेन्टल मिसाइल’को सफल परीक्षण गरेको थियो, जुन करिब पाँच हजार किलोमिटरसम्म मार गर्न सकिने क्षमताको थियो । त्यसको दुई सातापछि फेरि ९ हजारदेखि १२ हजार किमीसम्म मार गर्न सकिने मिसाइलको परीक्षण पनि उत्तरकोरियाले सफलतापूर्वक गर्‍यो ।

अहिलेसम्म चीनको सीमा विवाद दक्षिण चीन समुद्रमा बढी देखिँदै आएको थियो । स्थल क्षेत्रमा पनि सीमा विवादको कडीका रुपमा प्रकट भएको छ, दोक्लाम ।

चीनले आफ्नो दाबीबाट पछाडि नहट्ने लक्षण देखाएको र भारतीय सेना पनि भुटानस्थित सैनिक तालिम केन्द्र (इम्ट्राट)मा नफर्किने मनस्थिति देखिइरहँदा भुटान सीमामा लडाईंको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । चीनले भारतीय सेना फिर्ता नभएसम्म ‘नेगोसिएसन’मै नबस्ने बताइसकेको छ ।

रुसले दुई मुलुकबीच मध्यस्थता गर्ने प्रस्ताव अगाडि सारेको सार्वजनिक भएको छ । डा. वाङ दक्वा नामका चिनियाँ विज्ञले हालै रुसी रेडियोसँग कुरा गर्दै त्यस्तो सम्भावना अस्वीकार गरेका छैनन् । तर, पहिले भारतले चिनियाँ भूमिबाट आफ्नो सेना फिर्ता गर्नुपर्ने आफ्नो मुलुकको पूर्वशर्त सम्झाएका छन् ।

भारतमा मौलाएको राष्ट्रवादी भावनाका कारण भारतीय सेनालाई दोक्लाम क्षेत्र छाड्न सहज देखिँदैन । भुटानबाटै आफ्नो सेना फिर्ता बोलाउँदा त्यहाँ भारतले सुरक्षा दिन नसकेको बुझाइ व्यापक बन्ने निश्चित छ । त्यसपछि मात्र चीन र भुटानको सम्बन्ध अगाडि बढ्नेचाहीँ निश्चित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घाममा बस भन्दा जागिर छोड्नु पर्‍यो

डा.अरुणा उप्रेती । अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी

कम्युनिस्ट आन्दोलनलाई नै व्यक्तिको साथमा सति पठाउने महाभूल नगरौं

जगन्नाथ खतिवडा । – हाम्रो पार्टी नेकपाका दुई अध्यक्षहरु वीचको पत्रद्वन्द्व आन्तरिक द्वन्द्वहरुको

‘त्यागको प्रतिमूर्ति’ बनेर आफ्नो स्वास्थ्यको बेवास्ता गर्ने कि आफू स्वस्थ रहेर अरुलाई मद्दत गर्छु भन्ने ?

डा. अरुणा उप्रेती । महिला पहिले आफू स्वस्थ हुनुपर्छ, अनि मात्र अरुको माया

‘मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

आदरणीय प्रधानमन्त्री ज्यू, एउटा अभिनेतृ बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी