गड्यौला
डा. गोविन्दशरण उपाध्याय
दुईवटा गड्यौला जमिन मुनि वस्थे । जाडोको मौसम थियो । वाहिर घाम लागेको देखेर एउटा गड्यौलालाई घाम ताप्न मन लाग्याे । उसले साथीलाई आफ्नो मनको कुरा भन्याे तर साथीले सहमति जनाएन ।
वाहिर नजा भनेको नमाने पछि दोस्रो गड्यौलाले भन्याे – “ठीक छ, तिमी जाऊ, म वाहिर यसो मुन्टो निकालेर हेर्छु । ठीक लाग्याे भने म पनि घाम ताप्न आउने छु ।”
गड्यौला वामे सर्दै घाममा आइपुग्याे। वाहिर निकै तातो घाम थियो र निस्कने ठाउँमा वालुवा थियो । गड्यौला वाहिर निस्केर सिधै बालुवामा पुग्यो । तातेको बालुवाले शरीर पोल्न थाल्याे । असाध्य पीडा भएर उ बेतोडले उफ्रन थाल्याे ।
भित्र हेरिरहेको गड्यौला त्यो देखेर दंग पर्यो । उसले आफैलाई भन्यो ” त्यहाँ त साच्चिकै रमाइलो रहेछ | त्यसैले उ उफ्रीउफ्री नाचिरहेको छ ।
अनि, त्यो पनि त्यसै तातो बालुवामा पुगेर उफ्रन थाल्यौ ।
नक्कल गर्नु सबैभन्दा पीडादायी हुन्छ । नक्कलमा विश्वास गर्नेले अरू पीडाले नै उफ्रेको भए पनि “सुख” र “रमाइलो” गरेको ठान्छ ।
बुद्धिमान मान्छे पनि नक्कलको मोहनीमा परेर दुख पाउँछन् । विश्वास गरौँ, जुन परिवेश, जुन संस्कृति र जुन परिवेशमा हामी हुर्किएका छौँ, त्यो नै हाम्रो लागि सबैभन्दा हितकारी हुन्छ ।
विदेशीको नक्कल गरेर वा विदेशीलाई विश्वास गर्नेको नक्कल गरेर हामीले आफ्नो जरोकिलो गुमाउँछौँ । अनि, आफै दुख पाउँछौ ।
श्रीकृष्णको उपदेशलाई मनन गरौँ “परधर्मो भयावह:” अर्काको धर्म भयानक हुन्छ |
डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।