मलेशियामा एक जोडीको बिहेमा १० हजार ‘ड्राइभ थ्रु’ पाहुना



कोरोनाभाइरस महामारीले ठूलो समारोहबीच बिहे गर्ने धेरै जोडीको सपनालाई साकार हुन दिएको छैन । तर मलेशियामा एउटा जोडीले प्रतिबन्धसम्बन्धी नियमबीच आफ्नो बिहेमा दश हजार निम्तालुलाई स्वागत गरेका छन्, त्यो पनि जनस्वास्थ्यसम्बन्धी सुरक्षित तरिका अपनाएर ।

कोरोनाभाइरस महामारीका बेला लागू गरिएको नियम अनुसार उनीहरूले २० जनाभादा बढी व्यक्तिलाई बिहेमा आमन्त्रण गर्न नमिल्नुपर्ने हो । उसो भए दश हजार व्यक्तिलाई कसरी स्वागत गर्न सकिन्छ भन्ने प्रश्न तपाईँको दिमागमा आउनसक्छ ।

तर यदि तपाईँ ’ड्राइभ थ्रु’ कार्यक्रम गरी बिहे गर्नुहुन्छ भने त्यसो हुनसक्छ । आइतवार बिहान नवविवाहित जोडी मलेशियाको राजधानी क्वालालम्पुरदेखि दक्षिणमा पर्ने पुत्रजायास्थित एउटा विशाल सरकारी भवनबाहिर बसे । अनि अतिथिहरू आआफ्ना कारलाई बिस्तारै गुडाउँदै नवदम्पतीको छेउबाट गुज्रिए ।

पाहुनाहरूले गाडीको सिसा बन्द गरेको हुनुपथ्र्यो र उनीहरूलाई टाढैबाट हात हल्लाएर स्वागत गरिएको थियो । यो अरू बेलाको बिहेजस्तो तपाईँलाई नलाग्न सक्छ। तर दुलहा तेङ्ग्कु मुहम्मद हाफिज र दुलही ओसीन अलागिआ पनि अरू जोडीजस्ता पक्कै थिएनन् । दुलहा चाहिँ एक प्रभावशाली राजनीतिज्ञ तथा पूर्वमन्त्री तेङ्ग्कु अदनानका छोरा हुन्।

आइतवारै अदनानको जन्मदिन पनि परेको थियो । ‘आज बिहानदेखि यहाँ १० हजारभन्दा बढी कार आएको मलाई जानकारी गराइएको छ,’ समारोहका तस्वीर शेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमा गर्वित पिताले लेखेका छन् । ‘म र मेरो परिवार एकदमै सम्मानित महसुस गरिरहेका छौँ। समस्या बुझिदिएकोमा र सबै नियमको पालना गर्दै कारबाट नओर्लिकनै सहभागी भइदिएकोमा तपाईँ सबैलाई धन्यवाद छ।’

सबै दश हजार निम्तालुलाई त्यसरी कारबाट नओर्लिकन नवदम्पतीको छेउबाट गुज्रिन करिब तीन घण्टा लागेको थियो । खुशी देखिएका दम्पतीबाट भने बिस्तारै अघि बढिरहेको ट्राफिकमा रहेका निम्तालुहरूले केवल अभिवादनमात्र होइन स्वादिष्ट डिनरको मौका पनि पाएका थिए । मलेशियाली सञ्चारमाध्यमहरूका अनुसार कारको झ्यालबाट उनीहरूले पहिल्यै प्याकिङ्ग गरिएका खानेकुरा पाएका थिए।

दुलहाका राजनीतिज्ञ बुवा पाँच लाख डलर बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जरिवाना तिर्नुपर्ने र १२ महिना जेल बस्नुपर्ने सजाय पाउनुभन्दा एक दिनअगाडि यो समारोहको आयोजना गरिएको थियो । मलेशिया अहिले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग जुझिरहेको छ । हालसम्म त्यहाँ ९२,००० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कोभिड १९ सँग सम्बन्धित कारणले ४३० जनाको मृत्यु भएको छ ।
बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी

गुगल प्ले स्टोरमा सामसुङको ‘गुड लक’ एप

सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले

इजरायल र हमासबीच काएरोमा वार्ता

बीबीसी । इजरायलीहरुे युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन गरेका