तिब्बती रूखका घेराहरूले जलवायु तनाव र चिनियाँ वंशवादबीच सम्बन्ध देखाए



 

बेइजिङ  । जलवायु तनाव र सामाजिक अशान्तिबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै हजारौँ वर्षको वर्षाको ढाँचा पछ्याउने एक अध्ययनले सुक्खा अवधिहरू चीनमा वंशवादी उथलपुथलको युगहरूसँग मिल्दोजुल्दो पाएको छ ।

एक अनुमान अनुसार गत वर्ष विश्वव्यापी र चीन दुवैमा सबैभन्दा तातो वर्ष रेकर्ड गरियो । चरम मौसमी घटनाहरूले विश्वभर विनाश मच्चाए र प्राकृतिक प्रकोपहरूले तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति पुर्याएको थियो ।

तिब्बती पठारमा किलियन जुनिपर रूखहरूको घेरा विश्लेषणको आधारमा यस महिना प्रकाशित अनुसन्धानले जलवायु तनावले कसरी समाज र शक्तिलाई हजारौँ वर्षअघि परिवर्तन गरेको थियो भन्ने बारे झलक प्रस्तुत गर्दछ।

“विश्वव्यापी जलवायु परिवर्तनबारे बढ्दो चिन्ताहरूलाई ध्यानमा राख्दा ऐतिहासिक र वर्तमान दुवै ‘हाइड्रोक्लाइमेट’ मा परिवर्तनहरू बुझ्न महत्त्वपूर्ण छ”, अनुसन्धानकर्ताहरूले प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित प्रतिवेदनमा लेखेका छन् ।

रुखका घेराहरूमा भएका आइसोटोपहरू –– विशिष्ट गुणहरू भएका रासायनिक तत्वका रूपहरूको परिवर्तनलाई समय–समयमा वर्षाको विविधता बुझ्न प्रयोग गर्न सकिन्छ ।

यसले चिनियाँ एकेडेमी अफ साइन्सेजका धेरै अनुसन्धानकर्ताहरूलाई विगत तीन हजार चार सय ७६ वर्षको जलवायु रेकर्डको पुनर्निर्माण गर्न सक्षम बनायो ।

“हाम्रो जल–जलवायु पुनर्निर्माणले लामो आद्र्र अवधिपछि दीर्घकालीन वर्षा घट्ने तीन विशिष्ट चरणसहित धेरै चिनियाँ राजवंशको उदय र पतन सुक्खा अवस्थातर्फको महत्त्वपूर्ण परिवर्तनको समयसँग मेल खान्छ भन्ने सङ्केत गर्दछ”, प्रतिवेदनमा भनिएको छ ।

ईसापूर्व ११० देखि ईस्वी २८० सम्म चलेको पहिलो सुक्खा चरणमा छोटो अवधिको जिन राजवंश स्थापना भयो र त्यसपछि द्रुत गतिमा पतन भयो ।

“ईस्वी १४ पछि जलवायु सुक्खा भएपछि अनिकाल र नरभक्षणका घटनाहरू बढे, जसले व्यापक विद्रोह निम्त्यायो र अन्ततः राजवंशको पतनमा परिणत भयो”, प्रतिवेदनले भन्यो ।

प्रतिवेदनअनुसार यो सुक्खा अवधि तीन राज्य कालको युद्धहरूसँग मिल्दोजुल्दो थियो र यसले गर्दा सुक्खाका कारण निम्त्याएको व्यापक अनिकालसँगै चीनको जनसङ्ख्या छ करोडबाट घटेर तीन करोड हुन पुग्यो ।

दोस्रो चरण ईस्वी ३३० र ७७० बीचको थियो । यसमा तुयुहुन, सुई र ताङ राजवंशहरू पर्छन् ।

ईस्वी ९५० देखि १३०० सम्मको तेस्रो चरण सोङ राजवंश र यसको पतनसँग मेल खान्छ ।

“प्रत्येक राजवंशको प्रारम्भिक चरणहरूमा आद्र्र अवस्थाहरू समृद्धिको अवधिसँग सम्बन्धित थिए भने सुक्खातर्फको क्रमिक परिवर्तन लगातार तिनीहरूको गिरावट र अन्ततः पतनसँग मेल खान्थ्यो”, प्रतिवेदनले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको

श्रीलङ्कामा तेल प्रशोधन केन्द्र निर्माणका लागि मन्त्रिपरिषद्को स्वीकृत

कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशको सपुगस्कण्ड तेल प्रशोधन केन्द्रको विकास गर्ने र सोही