नयाँ सरकारको संरचनाको विषयमा दुई तालिबान नेताबीच विवाद
तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बताएका छन् । राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन् ।
बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो । तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ । गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो । त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई इस्लामिक इमिरात घोषणा गरेको छ ।
नवगठित अन्तरिम मन्त्रिपरिषद्मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन् । एकजना तालिबान स्रोतले बीबीसी पाश्तोलाई बताए अनुसार बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर–रहमान हक्कानीबीच चर्काचर्की भएको थियो ।
इस्लामाबादस्थित बीबीसी संवाददाता खुदाई नूर नसरका अनुसार उनीहरूका समर्थकबीच पनि त्यहाँ झगडा भएको बताइन्छ । कतारमा रहेका एकजना वरिष्ठ तालिबान सदस्य र विवादमा संलग्न पक्षसँग सम्बन्ध भएका अर्का एक स्रोतले त्यस्तो चर्काचर्की गत साताको अन्त्यतिर भएको पुष्टि गरेका छन् ।
स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ । अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ । बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ ।
यद्यपि केही वरिष्ठ तालिबान नेताहरूले नेतृत्व गरेको हक्कानी समूहका सदस्यहरू र तिनका समर्थकहरू त्यस्तो सफलता युद्धबाट भएको बताउँछन् । बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन् । उनले सन् २०२० मा डोनल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए । त्यसअघि उनले अमेरिकी फौज फिर्ता गर्ने विषयमा दोहा सम्झौतामा तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए।