इजरायली हवाई आक्रमणमा १० जना प्यालेस्टिनीको मृत्यु



इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।

गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा इजरायल र हमास लडाकू बीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी छन् । पछिल्लो पटकको हिंसा जेरुसेलमबाट शुरु भएको थियो र यो अहिले गाजा क्षेत्रका साथै इजरायली भूमिमा बसोबास गर्ने अरब समुदायसम्म फैलिएको छ । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु जारी छन् ।

शुक्रबार इजरायल अधिनस्थ पश्चिमी किनारामा पनि प्यालेस्टिनी समुदायले इजरायल विरोधी प्रदर्शन गरेका थिए । त्यहाँ पनि इजरायली सेनाले गरेको कारबाहीमा ११ जना सर्वसाधारणको गोली लागेर मृत्यु भएको थियो ।

हिंसात्मक कारबाही तिब्र भएसँगै नयाँ प्यालेस्टिनी “इन्तिफादा” अर्थात विद्रोह हुने सम्भावना बढाएको छ । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् । सन् १९४८ मा इजरायल स्थापना हुनेक्रममा झण्डै सात लाख प्यालेस्टिनी बिस्थापित भएको दिनको सम्झना पनि यही शनिबार परेको छ ।

यसदिन अझ बढी हिंसा हुने सम्भावना छ । तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै शुक्रबार नै इजरायल आइपुगेका छन् । इजरायल–प्यालेस्टिनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक आइतबार बस्दैछ ।

यसैबीच, इजिप्टको एक वर्षसम्म शान्ति कायम राख्ने प्रस्तावलाई हमासले स्वीकार गरे पनि इजरायलले अस्वीकार गरेको छ । सोमबार रातिदेखि यता हमासले इजरायली भूमितर्फ सयौं क्षेप्यास्त्र प्रहार गरेको छ ।

बदलामा इजरायलले गाजापट्टीमा गरेको भिषण सैन्य कारबाहीमा कम्तीमा १२६ जनाको मृत्यु भइसकेको छ जसमा ३१ जना बालबालिका र २० जना महिला रहेका छन् । उता इजरायलतर्फ भने ६ वर्षीय एक बालक र एक सैनिक समेत सात जनाको ज्यान गएको छ ।

गाजाबाट इजरायलतर्फ क्षेप्यास्त्र प्रहार र इजरायली हवाई हमला शनिबार बिहानैदेखि जारी छ । एउटा हवाई हमलामा गाजाको एक तीनतले घर भत्किएको र त्यहाँ रहेका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।

मोहम्मद अबु हताबले संवाददाताहरुलाई भने, ‘इद मनाउन आफन्तकोमा गएकी पत्नी र छ देखि १४ वर्ष उमेरका तीन बालबच्चाको मृत्यु भयो । ११ वर्षको एउटा बच्चा हराइरहेको छ ।

एउटा पाँच महिनाको छोरा ओमार मात्र बाँचेको छ ।’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिकसले हमास लक्षित आक्रमण गर्दा ठूलो क्षति नहोस् भनेर इजरायली सेनाले सचेतता अपनाएको दाबी गरेका छन् ।

तर सेनाले हवाई कारबाही गर्नुअघि सर्वसाधारणलाई आफ्ना स्थान छाड्ने संकेत गर्दै साइरन नबजाइएको स्थानीयको भनाई छ । हमास र इस्लामिक जिहाद समूहले आफ्ना २० जना लडाकू मारिएको बताएको छ । तर इजरायली सेनाले त्योभन्दा ठूलो संख्यामा लडाकूहरु मारिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजा युद्धले विश्व अर्थतन्त्रमा भावनात्मक प्रभाव परेको साउदी अरबको भनाइ

इजरायल र हमासबीच जारी युद्धले विश्वव्यापी आर्थिक भावनामा पारेको असरबारे सङ्केत गर्दै साउदी

टेस्लाका सिइओ एलन मस्क चीनमा

  अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीन

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थलको टर्मिनल निर्माण सुरु

  अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश नदिएको अमेरिकी गुप्तचर निकायको दाबी

अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार