काठमाडौँका मेयरलाई नाजीवाद शैली नदेखाउन अमरेश सिंहको चेतावनी
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई हिम्मत भए संसद भवन र सिंहदरबार भत्काउन चुनौती दिएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि हिटलर शैलीमा दमन गरेको भन्दै हिम्मत भए संसद भवन, सिंहदरबार र शीतल निवास भत्काएर देखाउन चुनौती दिएका हुन् ।
उनले मेयर साह हिटलर शैलीमा चलेको भन्दै आपत्ति जनाए । उनले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हिटलरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए । घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् । त्यो कदम आपत्तिजनक छ ।’
उनले काठमाडौँका मेयरको नाजीवाद शैली नचल्ने बताए । उनले भने, ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’