के तपाईं विवाह गर्दैहुनुहुन्छ ?
डा. गोविन्दशरण उपाध्याय ।
विवाहको मौसम चल्दै छ । हुने वाला श्रीमान् र श्रीमती दूवैका मनमा अनेकौं सपनाहरू सजिनु स्वाभाविक हो । तर सपना देख्दै गर्दा अर्को पाटो पनि केलाउनु पर्छ । विवाह हुनु भनेको आफ्नो व्यक्तिगत स्वतन्त्रता आधा हुनु हो र दुईगुणा जिम्मेवारी थपिनु हो । यो तत्थ्य सप्तपदिका क्रममा केटा–केटीले एकआपसमा गर्ने प्रतिज्ञाहरूले प्रष्ट पारेको हुन्छ ।
विवाहको रामो कुरा के हो भने केटा होस् वा केटी विवाहपछि पूर्णनागरिक, जिम्मेवार नागरिक र बास्तविक गृहस्थ बन्छन् तर कमसल पक्ष के हो भने सबैभन्दा मिठो बाल्यकालको अवसान हुन्छ, जिम्मेवारी बढ्छन् तर स्वतन्त्रता घट्छ । विवाहको दिन राजारानीको सम्मान प्राप्त गर्ने केटाकेटीले आफ्नो त्यो सम्मान जीवित राख्न निकै मेहनत गर्नुपर्छ ।
एकआपसमा प्रेमपूर्ण समब्ध जीवन्त राख्न होस् वा आफ्ना परिवारका सदस्यहरूसंग विवाहपूर्वझैं न्यानो समबन्ध जीवन्त राख्न होस्, पतिपत्नीले त्याग गर्नुपर्छ । त्याग गर्न नसक्ने र केवल आफ्नो व्यक्तिगत स्वार्थमात्र हेर्ने लोग्नेस्वास्नी परिवारबाट एक्लिने सम्भावना हुन्छ भने अर्कोतिर एकआपसी सम्बन्ध पनि मधुरतापूर्ण रहन्न । विवाहित दम्पतिले सधैं सम्झिनु उचित हुन्छ कि लोग्नेस्वास्नीको लागि सेक्स स्वाभाविक विषयसुख हो तर त्यस भन्दा पनि महत्वपूर्ण सुख एकआपसमा सम्मानपूर्ण सम्बन्ध र परिवारबाट प्राप्त हुने न्यानो प्रेम हो जुन सहयोगका रूपमा पाइन्छ ।
विवाह संस्कारमा गरिने विभिन्न क्रियाकलाप (कर्मकाण्ड)को उद्देश्य सम्वन्धित केटाकेटीलाई प्रकृति, देवता तथा समाजसाक्षी राखेर “पूर्णनागरिक भएको“ घोषणा गरिन्छ । केटाकेटी आफै कर्मकाण्डमा सहभागी भएर धर्म, समाज र आस्थाको सम्मान गर्दै सबै कुरा स्वीकार गर्छ । स्वाभाविक रूपमा विवाह भएको केही दिन वा महिना यौनप्रति बढी अभिरुचि हुन्छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक स्वीकृतिपछि यौनजन्य क्रियाकलाप प्रति कसैको आपत्ति रहन्न । तर यौनजन्य क्रियाकलाप जतिसुकै आकर्षक र रमाइलो भए पनि त्यसको सीमा हुन्छ, आरम्भ गरेपछि टुंगिन्छ ।
नवविवाहित दम्पतिले केवल आफ्नो निजी इच्छा र चाहनाहरूलाई प्राथमिकता दिए भने क्रमशः परिवारका अन्य सदस्यहरूको माया, सहयोग तथा स्वीकार्यता गुमाउंदै जान्छन् भने परिवारका अन्य सदस्यहरूले पनि नवविवाहित दम्पतिको व्यक्तुगत इच्छा, स्वतन्त्रता तथा निजताको सम्मान गर्न सकेनन् भने क्रमशः विवाहित दम्पतिको विश्वास गुमाउंदै जान्छन् । सम्भवतः विवाहित जीवनको लागि यो सबैभन्दा सोचेर, विचार गरेर तथा विवेकपूर्ण निर्णय गरेर अगाडी बढ्नुपर्ने अवस्था हो । नवविवाहित दम्पति र निजका परिवारका व्यक्तिहरूका लागि विवाहित दम्पतिका आगामी एकवर्ष निकै जोखिमपूर्ण हुन्छन् । त्याग र सहयोग दूवैतिर आवश्यक छ । एउटा हातले ताली बजाउन खोज्नु विवेकपूर्ण निर्णय होइन ।
विवाहपछि पतिपत्नीको जीवनमा परिवर्तन आउनु स्वाभाविक हो । यस्तो अवस्थामा कहिलेकाहीं ससानो भनसुन हुनु पनि स्वाभाविक हुन्छ । हातमा चुरा लगाएपछि ती बज्छन्, चुरा बजे भनेर फुकालेर फाल्नु बुद्धिमानी होइन । जसरी एउटी महिलाले आफ्ना हातका चुरा बढी बजे भने बुद्धिमतापूर्वक व्यवस्थित गर्छिन् त्यसैगरी समझदार, सहयोगी र मायालु लोग्नेस्वास्नीले एकआपसमा मिलेर नै हरेक समस्याको समधान खोज्छन् । समाधान गर्न नसकिने कुनै समस्या हुँदैनन्, आत्तिनु र मात्तिनु हुँदैन ।
तपाईंको विवाह गर्दा पण्डितजीले यज्ञकुण्डको सातपटक परिक्रमा लगाउन अह्राउनु भएको थियो र तपाईंले आज्ञाकारी शिशुलेझैं त्यस आज्ञाको पालन गर्नुभएको थियो । अग्निको परिक्रमा गर्दैगर्दा तपाईंका पतिपत्नीले एकआपसमा “वाचा–बन्धन“ गर्नुभएको थियो । यदि तपाईंमा कुनै मोडमा असमझदारी भयो भने दूवैले संगै मिलेर होस् वा एक्लाएक्लै तपाईंले यज्ञको आगो, चन्द्रमा, विश्ववसु गन्धर्व, विष्णु, धर्म र समाजलाई साक्षी राखेर एकअर्काप्रति गर्नुभएका प्रतिज्ञाहरूलाई पढ्नुस् । सप्तपदिका रूपमा प्रसिद्ध ती प्रतिज्ञाहरू तल लेखिएका छन्ः
१. हामीले एकअर्कालाई जस्तोसुकै सुखदुःख अवस्थामा पनि पालनपोषण गर्ने छौँ ।
२. हामी एकआपसमा मिलेर उद्योग गर्दै शक्तिको विकास गर्ने छौँ ।
३. हामी दूवै मिलेर धनसम्पति कमाउने र त्यसको रक्षा गर्ने छौँ ।
४. हामी दूवैले एकआपसमा सुखदुःख साझा गर्नेछौँ ।
५. हामी दूवै मिलेर सन्तान जन्माउने र तिनको पालनपोषण गर्ने छौँ ।
६. हामीले कुनै पनि हालतमा एकअर्कालाई सहयोग गर्न छोड्ने छैनौं ।
७. हामी दूवै मिलेर गृहस्थ रूपी जिम्मेदारी बहन गर्ने छौँ ।
उपर्युक्त बचनको अन्त्यमा दूवैले आठौँ परिक्रमा गर्दै यी सात पाइलाबाट हामी दुई विच अनन्त मित्रता गाँसिएको छ, हामी साथी भएका छौँ । हामीले आफ्नो मित्रतालाई झन् बलियो र प्रगाढ बनाउने कर्म गरौँ । हामी आफ्नो मित्रताबाट विमुख हुन नपरोस् र हाम्रो मित्रतामा एकअर्काको कारण समस्या नपरोस् ।
यी बचनहरूको सार भनेको विवाहित लोग्नेस्वास्नीका विचमा अधिकतम सहृदयी सम्बन्ध, समानताको सम्बन्ध, प्रेमको सम्बन्ध, विश्वासको सम्बन्ध र समानअधिकारको सम्बन्धप्रति दूवै सचेत रहनु पर्छ भन्ने हो । नवविवाहित दम्पतिलाई परिवारका सदस्यहरूले प्रेमपूर्वक एकआपसमा दिएका बचन पालन गर्दै गृहस्थ जीवनको यात्रा गर्न सचेत गराउनु पर्छ भने दम्पति आफैले पनि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकअर्काको शारीरिक, मानसिक तथा शारीरिक सुख एवं पूर्णताको लागि प्रयत्नशील रहनुपर्छ ।