‘अफगानिस्तान बसेको भए म उहिल्यै मारिन्थेँ’



गत वर्ष २० वर्ष लामो युद्ध अन्त्य गर्दै पश्चिमा देशहरूले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लगे। अफगानिस्तान कब्जा गरेर बसेको पश्चिमा फौज फिर्ता भएपछि देश तालिबानको हातमा पुग्यो। यो घटनाक्रमपछि अन्तर्राष्ट्रिय शक्तिहरूसँग सहकार्य गरिरहेको अघिल्लो सरकारका लागि काम गरेका मानिसहरूलाई आफ्नो जीवन बचाउनु पर्ने भयो। धेरै जनाले शरणार्थी भएर देश छोडे र कतिपयले अझै आफ्नो घर भन्ने ठाउँ भेटिरहेका छैनन्।

उनीहरूको सुरक्षाका लागि हामीसँग कुरा गरेका सबै जनाको नाम परिवर्तन गरिएको छ। ‘त्यो क्षण मैले जीवनमा समुद्र देखिको पहिलो पटक थियो,’ रहमत भन्छन्। भूपरिवेष्टित अफगानिस्तानबाट आएका ३० वर्षे रहमत एकनासले नहरको पानी हेरिरहेका थिए। उनी क्याली बन्दरगाहबाट ओहोरदोहोर गरिरहेका पानीजहाजहरू नियालिरहन्छन्। पहिलो पटक समुद्र देख्दा उत्साहित हुनुको साटो उनको मनमा त्रासले डेरा जमाएको थियो।

उनी डराउनुको कारण छः अरू दर्जनौँ अफगान मानिसहरूसँगै उनी त्यो समुद्र पार गर्नका लागि मानव तस्करहरूको आदेश पर्खिरहेका थिए। ‘समुद्रतिर हेर्दा मलाई डर लाग्छ। मलाई आँखैअगाडि मृत्यु हेरिरहेको जस्तो अनुभव हुन्छ,’ उनी भन्छन्। ‘अफगानिस्तान सुरक्षित भएको भए म यहाँ हुने थिइनँ।’

यूकेको होम अफिसका अनुसार गत वर्ष यही समय तालिबानले सत्ता हातमा लिएपछि समुद्र पार गरेर यूके प्रवेश गर्न खोज्ने अफगानहरूको सङ्ख्या पाँच गुणाले वृद्धि भएको छ। यो बाटो भएर यात्रा गर्ने हरेक चार जनामध्ये एकले निकै डरलाग्दो यात्रा गर्ने गरेका छन्।

तालिबानले सत्ता हातमा लिएको केही दिनमै रहमतको गाउँका मानिसहरू देखा पर्न छोडे। केही समयपछि उनीहरूको शव भेटिन्थ्यो तर कसरी मृत्यु भयो भन्ने खुल्दैन थियो। ‘उनीहरूलाई के भयो र कसले यस्तो ग¥यो भन्ने कुरा थाहा पाउन हामीसँग कुनै पनि उपाय थिएन,’ उनी भन्छन्।

राजधानी काबुलमा चाहिँ तालिबानले अघिल्लो सरकारका लागि काम गरेका देशभरका नागरिकलाई आममाफी दिने घोषणा गरेको थियो। तालिबानले आफ्नो विरोध गर्नेहरूप्रति पनि दयाभाव राख्ने बतायो। यद्यपि गैरसरकारी संस्थाका स्वतन्त्र अनुसन्धानकर्ता र सञ्चारमाध्यमहरूले तालिबानले सत्ता हातमा लिएको १२ महिनामा अघिल्लो सरकारका लागि काम गरेका सयौँ अधिकारी, कर्मचारी र सुरक्षाकर्मीहरू मारिएको र बेपत्ता बनाइएको आरोप लगाएका छन्।

रहमत आफ्नो गाउँमा भएका हत्याहरू सबै प्रतिशोधकै कारण भएको ठान्छन्। अघिल्लो सरकारका लागि काम गरेका वा सहयोग गरेकाहरूलाई छानेर तालिबानका सदस्यहरूले हत्या गरेको उनको बुझाइ छ। तर स्थानीय तालिबानका नेताहरू यो अस्वीकार गर्छन्। कथित इस्लामिक स्टेटसँग सम्बन्धित व्यक्तिहरूले उनीहरूको हत्या गरेको हुनसक्ने तालिबानको ठहर छ। जोसुकैले हत्या गरिरहे पनि अघिल्लो सरकारका कर्मचारी रहेका रहमतका बुबा र दुई जना दाजुहरूमा त्रास पैदा भयो।

छोराहरूबारे चिन्तित रहमानका बुबाले छोराहरूलाई देश छोड्नका लागि आफ्नो आशीर्वाद दिए। महिनौँसम्म इरान, टर्की र सर्बियाको बाटो यात्रा तय गरेर रहमत अन्ततः गत जुनमा क्याली आइपुगे। त्यहाँ उनले दर्जनौँ अरू अफगान मानिसहरूलाई भेट्टाए जो सबै अघिल्लो सरकारका कर्मचारी र सुरक्षा निकायमा काम गर्नेहरू थिए। सबैको एउटै उद्देश्य ब्रिटेन प्रवेश थियो।

बेलायतमै किन ?
क्यालीको जङ्गल भनेर चिनिने ठाउँ नजिकै दर्जनौँ अफगान पुरुषहरू सन् २०१६ मा भत्काइएको शरणार्थी क्याम्पको खण्डहरमा उभिइरहेका छन्। मोबाइल फोन चार्ज भइरहँदा उनीहरू एक आपसमा कुराकानी पनि गरिरहेका छन्। किन यूकेमै जान चाहन्छन् भन्ने प्रश्नमा उनीहरूको जवाफ छः ‘त्यहाँ हाम्रो समस्याको सुनुवाइ हुन्छ।’ ‘कम्तीमा हामीले पानीमा ओत लाग्ने ठाउँ भए पनि पाउँछौँ,’ एक जना वृद्ध पुरुषले भने।

सबै जना डब्लिन नियमावलीबारे कुराकानी गरिरहेका छन्। यो नियमावलीले युरोपेली सङ्घभित्र प्राप्त कुनै पनि शरणार्थी आवेदन उनीहरू सबैभन्दा पहिले प्रवेश गरेको युरोपेली देशमा प्रक्रियामा लगिनुपर्ने व्यवस्था गरेको छ। धेरै जनाले उनीहरूको औँठाछाप सबैभन्दा पहिले बुल्गेरियामा लिइएको बताए। तर सीमा प्रहरीको खराब व्यवहारका कारण आफूहरू त्यहाँ नबसेको उनीहरू बताउँछन्। बरु डब्लिन नियमावली लागु नभएको यूकेमा जान उनीहरू अघि बढे।

यसबारेमा राखिएको जिज्ञासामा बल्गेरियाका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएनन्। सामुद्रिक नहर पार गरेर यूके पु¥याउन उनीहरूले तस्करहरूको सञ्जाललाई हजारौँ डलर बुझाउँछन्। एक्काइस वर्षका सजिदले अफगान सेनामा काम गरे। तालिबान र कथित इस्लामिक स्टेटसँग अग्रपङ्क्तिमा रहेर उनले युद्ध गरे। अहिले उनको दैनिकी फेरिएको छ। उनी दिनरात क्यालीमा एउटा रुखमुनि सुतेर समय कटाइरहेका छन्। उनी रहेको स्थान डोभर बन्दरगाहबाट ६० माइल मात्रै टाढा छ।

उनी पाकिस्तानको सीमा नजिकैको एउटा पहाडी क्षेत्रमा काममा खटिएकै समयमा तालिबानले सत्ता हातमा लिएको थाहा पाए। ‘म एउटा गोली बाँकी रहँदासम्म पनि लड्न तयार थिएँ,’ उनले भने। तर उनीभन्दा वरिष्ठ अधिकारीहरूले हतियार छोडेर घर फर्कन आदेश दिए।

आँसु पुछ्दै उनी भन्छन् युद्धमा ज्यान गुमाएका साथीहरूको सङ्ख्या उनको गणनामा अटाउन छोडिसकेको छ। ‘मैले छोड्नै पर्थ्यो नभए तालिबानले हामीलाई बाँकी राख्दैन थिए। उनीहरूले माफी दिने भने पनि त्यो सत्य होइन,’ उनले भने। ‘आजसम्म पनि उनीहरूको बदला रोकिएको छैन। मेरो गाउँबाट मात्रै छ जना मानिसहरू बेपत्ता भए जसमध्ये अधिकांशलाई मारियो,’ सजिद भन्छन्।

रुवान्डा पठाउने?
शरण खोज्नेहरूलाई रुवान्डा पठाउने यूकेको विवादास्पद नीतिबारे समाचार खतरनाक यात्रा तय गरेर यूकेमा शरण खोज्न आउनेहरूसम्म पनि पुगिसकेको छ। क्यालीमा रोकिएका अफगानहरूले पनि यो समाचारबारे सुनेका छन्।

तेइस वर्षका हसिमले अफगानिस्तानको गुप्तचर सेवाका लागि काम गरे। तालिबानले सत्ता हातमा लिएको केही सातामै आफूले पनि सहकर्मीहरू गुमाएको उनी सुनाउँछन्। ‘पार्कमा भेट्न जम्मा भएका मेरा तीन जना सहकर्मीहरूलाई तालिबानले पत्ता लगाएर भेट्टायो र त्यहीँ हत्या गर्यो,’ उनले भने। ‘हामीहरू दाजुभाइभन्दा पनि नजिक थियौँ।’

‘डुङ्गाबाट समुद्र तर्दा ९९.९९ प्रतिशत मर्ने सम्भावना हुन्छ भन्ने मलाई थाहा थियो। तर अफगानिस्तानमै बसिरहेको भए म यसअघि नै मारिइसकेको हुने थिएँ,’ हसिम भन्छन्। ‘यूकेले मलाई रुवान्डा पठाउन सक्छ। तर त्यसअघि मैले आफ्नो समस्या राख्ने मौका त पाउँछु। मैले किन देश छाडेँ सुनाउन त पाउँछु।’

साना सफी र कवुन खामोस
बीबीसी विश्व सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीको हत्या गर्न रुसद्वारा समन्वित दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

  युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा

‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय