एफडीएको पूर्ण अनुमति पाउने फाइजर बन्यो पहिलो कोभिड खोप
फाइजर कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्ध दुई मात्रा दिनुपर्ने खोपले यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) बाट पूर्ण अनुमति पाएको छ । पहिला आपतकालीन प्रयोगका लागि अनुमित पाएको उक्त खोप अमेरिकामा पूर्ण अनुमति प्राप्त गर्ने पहिलो कोभिड खोप बनेको छ ।
तीन साताको अन्तरालमा एक–एक मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाएको हो । फाइजरले पूर्ण स्वीकृति पाएपछि देशभरि रोजगारदाता र सङ्घसंस्थाहरूले खोप अनिवार्य लिएको हुनुपर्ने भनी थप नियम बनाउने अपेक्षा गरिएको छ ।
धेरै अमेरिकीहरूले खोप लिन आनाकानी गरिरहेको बेला एफडीएको यो निर्णय आएको हो । अमेरिका कोरोनाभाइरस महामारीबाट प्रभावित देशको सूचीमा शीर्ष स्थानमा छ। एउटा विज्ञप्तिमा एफडीएले फाइजर खोपलाई स्वीकृति प्रदान गर्ने बेलामा झन्डै ४४ हजार मानिसबाट सङ्कलित तथ्याङ्कको समीक्षा गरेको थियो।
कोभिड हुन नदिन उक्त खोप ९१ प्रतिशत प्रभावकारी देखिएको थियो । फाइजरको उक्त खोप अब बजारमा कोमिर्न्याटी नामबाट विक्रीवितरण हुनेछ । एफडीएकी कार्यवाहक आयुक्त ज्यानेट वुडककका अनुसार अब सर्वसाधारण मानिसहरू उक्त खोपले उच्च सुरक्षा, प्रभावकारिता र गुणस्तर कायम गर्ने कुरामा एकदमै ढुक्क हुन सक्नेछन्।
१२ देखि १५ वर्षका बालबालिकामा यो खोप आपत्कालीन प्रयोग गर्न पाइने अनुमति कायमै छ । एफडीएको निर्णयपछि अमेरिकी सेनाले आफ्नो सेवामा भएका सबै १३ लाख सैनिकले खोप लगाएकै हुनुपर्ने बताएको छ । फाइजर खोप अमेरिकी नागरिकहरूलाई निःशुल्क उपलब्ध गराइएको छ । यसअघि एफडीएले फाइजर खोपलाई अस्थायी अनुमति दिएको थियो ।
अर्थात् जनस्वास्थ्य सङ्कटका बेला उक्त खोपले गर्ने लाभ सम्भावित जोखिमभन्दा बढी भएको खण्डमा प्रयोग गर्न पाइने अनुमति थियो । अहिले दिइएको पूर्ण स्वीकृति स्थायी हो ।
अनुमति प्रक्रियामा कम्पनीहरूले एफडीएलाई आफ्नो खोप कहाँ र कसरी उत्पादन हुन्छ भन्नेबारे तथा अन्य क्लिनिकल जाँचसम्बन्धी तथ्याङ्क उपलब्ध गराउनुपर्छ । यो वर्षको सुरुतिर अमेरिकामा खोप दिने दर घटेको भन्दै आलोचकहरूले एफडीएलाई खोप स्वीकृति प्रक्रियाको गति बढाउन आग्रह गरेका थिए।
कोरोनाभाइरसको सङ्क्रामक डेल्टा भेरिअन्ट फैलिएकाले केही सातादेखि अतिप्रभावित क्षेत्रको खोप वितरण दर पनि प्रभावित भएको छ । फाइजर–बायोएनटेकले गत मे महिनामा अनुमतिपत्रका लागि निवेदन दिएको थियो ।
एफडीएको १०० वर्षभन्दा पुरानो इतिहासमा यो नै सर्वाधिक चाँडो दिइएको अनुमति हो । सोमबार टेलिभिजनबाट गरिएको एउटा सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाडइनले लाखौँ अमेरिकीहरू एफडीएको निर्णयको प्रतीक्षामा भएको बताएका थिए । उनले निजी क्षेत्रका कम्पनी तथा गैरनाफामूलक सङ्घसंस्थालाई आफ्ना कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
जनजीवन सामान्य बनाउन अमेरिकाले प्रयास गर्दै गर्दा कम्पनी, स्वास्थ्यसेवा, विश्वविद्यालय तथा अन्य संस्थाहरूले पनि मानिसहरूले खोप लिएकै हुनुपर्ने व्यवस्था गर्ने अपेक्षा गरिएको छ । अहिलेसम्म अमेरिकामा नौ करोड २० लाख जनाभन्दा बढी मानिसले खोप लगाइसकेका छन् । तीमध्ये आधाभन्दा बढीले फाइजर खोप लगाएका छन्।