पेशा छान्दा आफूलाई खुसी दिने पनि हुनुपर्छः केकी अधिकारी



काठमाडौँ । अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेतृ केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् ।

‘कालो हुनु । गोरो हुनु । अग्लो हुनु । होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ ।’

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’ को प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनले विहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग यस्तो बताएकी हुन् । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरु उपस्थित थिए ।

‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो ?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेतृ अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सिप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’

उनीहरुको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरुलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरुले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरुमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त ?
इच्छा हुन सक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुन सक्छ । या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दवाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दविएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, कलाकारहरुसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरुले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् ।

विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइनँ । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पुर्याउनेछ ।’

‘तपाईँहरु त धेरै आत्मविश्वाशी हुनुहुन्छ ।’ उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन् । ‘मेरो बाबा हेडसर भएको स्कूलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपथ्र्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्वपूर्ण अनुभव गर्ने अवसर छुटे ।’ उनले विम्ब प्रयोग गर्दै भनिन् ।

उनले यति भनिरहँदा विद्यार्थीहरुले भने, ‘पढेको मान्छे डाक्टर इञ्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनु भो भन्ने प्रश्न दोहोर्याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन् ‘धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेशा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेशा उत्कृष्ट चलचित्र पेशा तल्लो भन्ने हुँदै होइन । यो पेशा अरु जत्तिकै महत्वपूर्ण छ । सबै पेशाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुसी हुन पाउने थिइन होला । त्यसैले पेशा छान्दा आफूलाई खुशी दिने पनि हुनुपर्छ ।’

महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ । १६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायकविज्ञ सस्मित पोखरेल भन्छिन्, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरुलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरुलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयतामा आधारित गीत ‘रमाइलो तिहार’

काठमाडौं । विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाइ दिर्घायूको

‘दोहोरी ब्याटल’ ‘रैया चाँदीको’

काठमाडौँ । नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को नयाँ गीत ‘रैया चाँदीको’ सार्वजनिक भएको

जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्नः श्रृङ्खला खतिवडा

काठमाडौँ । पर्दामा देखेका सेलिव्रेटीलाई आफ्नै कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका

‘केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ।