रुकुम घटना छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग
काठमाडौं । नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद मानबहादुर विश्वकर्माले संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन् । उनले उक्त घटनामा संयुक्त राष्ट्रसंघले समेत चासो देखाएको भन्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।
उनले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरे । पश्चिम रुकुमको चौरजहारीस्थित आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता भएका छन् ।
गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको बताइएको छ । गृहमन्त्रालयले घटनाको छानविन गर्न समिति गठन गरेको छ तर कांग्रेस सांसदहरुले भने संसदीय समिति गठनको माग गर्दै आएका छन् ।