अदालतले रोक लगाए पनि भेनेजुएलाका २३८ आप्रवासी अमेरिकाबाट देशनिकाला
बीबीसी । भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लागेका २०० जनाभन्दा बढीलाई अमेरिकाबाट एल साल्भाडोरको सुपरम्याक्स बन्दीगृह पठाइएको छ ।
एक अमेरिकी न्यायाधीशले उनीहरूलाई देशनिकाला गर्न रोक लगाउने आदेश दिएका थिए । तर सरकारले उनीहरूलाई निष्काशन गर्ने कार्य रोकेन ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलाको गिरोह ‘ट्रेन डे आरग्व’ का २३८ जना सदस्य र एमएस–थर्टीन नामक अन्तर्राष्ट्रिय गिरोहका २३ जना आफ्नो देशमा आइतबार बिहान आइपुगेका जानकारी दिएका छन् ।
अमेरिका र एल साल्भाडोर दुवै देशका अधिकारीहरूले बन्दीहरूको पहिचान खुलाएका छैनन् । उनीहरूले ती व्यक्तिहरू कस्ता अपराधमा थिए भन्नेबारे केही भनेका छैनन् ।
अमेरिकामा एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई २०० वर्षभन्दा पुरानो युद्धकालीन कानुन देखाएर त्यसरी देशनिकाला गर्ने कदम रोक्न आदेश दिएका थिए । तर त्यस बेलासम्म ती व्यक्तिहरूलाई बोकेको विमान उडिसकेको थियो ।