पूर्वी युक्रेनमा रुसी हमलामा ५ जनाको मृत्यु
किएभ । किएभ नजिकै ड्रोन आक्रमणको केही घन्टापछि देशको पूर्वमा रहेको फ्रन्ट–लाइन सहरमा रुसी हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको र आठ जना घाइते भएको युक्रेनले बुधबार बताएको छ।
व्यापक रुसी ड्रोन बमबारीले राति किएभ नजिकै एक युक्रेनी पत्रकारसहित दुई जनाको ज्यान गएको ती पत्रकारको समाचार एजेन्सीले जनाएको छ।
युक्रेनी वायुसेनाले रुसले देशभरका लक्ष्यहरूमा विभिन्न प्रकारका १७७ ड्रोनको बमबारी गरेको बताएपछि किएभमा एएफपी पत्रकारहरूले विस्फोटको आवाज सुनेका थिए।
रुसी सेनाहरू कोस्त्यान्तिनिभ्का सहरतर्फ अघि बढिरहेका छन् र पूर्वी डोनेट्स्क क्षेत्रको नागरिक केन्द्रमा तीव्र रूपमा बमबारी गरिरहेका छन्। पूर्वी डोनेट्स्क क्षेत्रलाई क्रेमलिनले रुसको हिस्सा भएको दाबी गरेको छ।
“कोस्त्यान्तिनिभ्कामा भएका आक्रमणहरूमा कम्तीमा पाँच जनाको मृत्यु भयो र आठ जना घाइते भए”, डोनेट्स्क क्षेत्रका गभर्नर भादिम फिलास्किनले सामाजिक सञ्जालमा लेखे।
यो आक्रमणले फराकिलो फ्रन्ट लाइनमा राम्रो स्रोत र ठूलो रूसी सेनाको सामना गरिरहेको युक्रेनी सेनाहरूका लागि बढ्दो कठिन लडाइँको पुष्टि गर्दछ।
युक्रेनी राजधानी नजिकै युक्रेनी ऊर्जा सुविधाहरूलाई क्षति पुर्याउने र दुई व्यक्तिको ज्यान लिने हवाई आक्रमणमा रुसले रातारात दर्जनौँ ड्रोन प्रहार गरेपछि लगभग ६७ हजार मानिसको अनुमानित युद्धपूर्वको जनसङ्ख्या भएको कोस्त्यान्तिनिभ्कामा आक्रमण भएको हो।
युक्रिनफर्म समाचार एजेन्सीले बुधबार दिउँसो आफ्ना पत्रकार तेतियाना कुलिक आक्रमणमा मारिएकाहरू मध्ये एक रहेको घोषणा गरेको छ।
“उनको असामयिक मृत्युले उनका सहकर्मीहरूलाई स्तब्ध पारेको छ र एजेन्सीका लागि यो ठूलो क्षति हो”, एजेन्सीले एक वक्तव्यमा भन्यो।