दक्षिण कोरियामा पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते
सियोल । । दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माणस्थलमा मङ्गलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमले पुलको एउटा भाग भत्किएको र धुलोको मुस्लो उडिरहेको नाटकीय फुटेज प्रसारण गरेका छन् । घटनामा चार जनाको मृत्यु भएको, पाँच जना गम्भीर घाइते भएको र एक जना सामान्य घाइते भएको नेसनल फायर एजेन्सीले जनाएको छ ।
मृत्यु हुनेमा दुई जना चिनियाँ र दुई जना दक्षिण कोरियाली नागरिक रहेको गृह मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । दक्षिण कोरियाको राजधानीबाट करिब ६५ किलोमिटर दक्षिणमा पर्ने एन्सियोङमा स्थानीय समयअनुसार बिहान ९ः५० बजे सो घटना भएको हो ।
नेसनल फायर एजेन्सीका प्रवक्ताले भने, ‘घाइते भएका सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।’ नेसनल फायर एजेन्सीले सुरुमा नजिकैको चिओनान शहरमा आगलागी भएको बताएको थियो तर पछि उक्त दाबीलाई सच्याएको थियो ।
निर्माणस्थलको मुख्य ठेकेदार हुन्डाई इञ्जिनियरिङले माफी माग्दै अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो निर्माणस्थलमा भएको दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाएका र घाइते भएकाहरूप्रति क्षमायाचना गर्दछौँ घटनाका लागि हामी नतमस्तक छौँ ।’
‘हामीले निर्माणस्थलमा शीघ्र समाधान सुनिश्चित गर्न र दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गरिरहेका छौँ’, कम्पनीले भनेको छ ।
कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले उद्धारकार्यका लागि उपलब्ध सबै स्रोत साधन र जनशक्ति परिचालन गर्न तत्काल निर्देशन दिएका छन् ।
दक्षिण कोरियामा सन् २०२० देखि २०२३ सम्ममा आठ हजारभन्दा बढीको मृत्यु कार्यस्थलमा दुर्घटनाका कारण भएको सियोलको श्रम मन्त्रालयले जनाएको छ ।