कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने निर्णय दक्षिण कोरियाली विपक्षद्वारा स्थगित



सियोल । दक्षिण कोरियाली विपक्षले मङ्गलबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाअभियोग लगाउने निर्णय हप्ताको अन्त्यसम्म स्थगित गर्ने बताएको छ ।

विपक्षी डेमोक्रेटिक पार्टीले यसअघि महाअभियोग लागेका आफ्ना पूर्ववर्ती राष्ट्रपतिको छानबिन गर्न विशेष विधेयकहरूमा हस्ताक्षर गर्न अन्तरिम नेताले अस्वीकार गरेको विरोधमा मङ्गलबार हानविरुद्ध महाअभियोग प्रस्ताव पेश गर्ने बताएको थियो ।

“हामीले जनताको भावनालाई ध्यानमा राख्दै धैर्य राख्ने निर्णय गरेका छौँ र हाम्रा मागहरू पूरा हुन्छन् कि हुँदैन भनेर निर्धारण गर्न २६ तारिख (बिहीबार) सम्म पर्खने निर्णय गरेका छौँ”, संसदीय दलका नेता पार्क चान–दाएले भने ।

पार्टीले मूलतः निलम्बित राष्ट्रपति युन सुक–योलको छोटो समयको सैनिक शासन घोषणा र उनकी पत्नी किम केओन हीसँग सम्बन्धित भ्रष्टाचारका आरोपहरूको छानबिन गर्ने दुई विशेष विधेयकहरूमा हानलाई हस्ताक्षर गर्न क्रिसमस इभलाई अन्तिम समयसीमा तय गरेको थियो ।

कन्जरभेटिभ राष्ट्रपति युनले ११ दिनअघि छोटो समयका लागि सैनिक शासन घोषणा गरेपछि देश दशकौँयताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा फसेको थियो र त्यसपछि डिसेम्बर १४ मा संसद्ले उनलाई पदबाट हटाएको थियो ।

युन अहिले संवैधानिक अदालतको निर्णयको पर्खाइमा हुनुहुन्छ । महाभियोग प्रस्ताव पारित गर्नाका लागि यसको नौ सदस्यीय बेन्चबाट ६ मत चाहिन्छ ।

हाल तीनवटा सिट खाली छन् र नियुक्त गर्न सकिन्छ । तर युनलाई प्रतिस्थापन गर्न अघि बढेका विपक्षीको मागलाई हानले मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा अस्वीकार गर्दै दुई विधेयकका लागि द्विदलीय सम्झौतामा जोड दिए ।

“हानको अडानले कारबाही ढिलाइ गरेर विद्रोह जारी राख्ने उहाँको मनसाय रहेको भन्ने व्याख्या गर्नुबाहेक हामीसँग अरु विकल्प छैन”, पार्कले पहिले पत्रकार सम्मेलनमा भने ।

युन अहिले प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरू समावेश संयुक्त टोलीको छानबिनमा छन् ।

दबाबमूलक राजनीति –

मङ्गलबार डेमोक्रेटिक पार्टीका प्रवक्ता युन जोङ–कुनले पत्रकारहरूलाई हानविरुद्धको महाअभियोग प्रस्ताव पार्टीको आधिकारिक अडानका रूपमा ‘सर्वसम्मतिले अपनाइएको’ बताए ।

महाभियोगका कारणहरूमा दुई विधेयक अस्वीकार मात्र नभई ‘विद्रोहमा सक्रिय रूपमा भाग लिने र समर्थन गर्ने’ र ‘विद्रोहपछि राष्ट्रपतिको अधिकार औपचारिक रूपमा समाप्त नभएको बेला अर्को प्रकारको शक्ति प्रयोग गर्ने प्रयास’ पनि समावेश छन् ।

हानलाई महाभियोग लगाउन ३०० सदस्यीय संसद्मा साधारण बहुमत मात्र चाहिन्छ विपक्षीको भनाइ छ । किनकि यो क्याबिनेट सदस्यका लागि आवश्यक सीमा हो ।

तर सत्तारूढ पिपुल पावर पार्टीले हान अहिले कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यरत भएकाले दुई–तिहाइ बहुमत आवश्यक पर्ने तर्क गरेको छ ।

सत्तारूढ पिपुल पावर पार्टीका नेता क्वोन सेओङ–डोङले डेमोक्रेटिक पार्टीको ‘दबाबमूलक राजनीति चरम सीमामा पुगेको’ र ‘कार्यवाहक राष्ट्रपतिको अधिकारको वैध अभ्यासमा निरन्तर हस्तक्षेप गरिरहेको’ बताए । “यो व्यवहार पैसा जम्मा नगरे प्रतिशोध लिने धम्की दिने गुन्डाहरूको भन्दा फरक छैन”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण

  किएभ । रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र

गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो : हमास

गाजापट्टी । हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ

चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार

बेइजिङ । चीनले बुधवार युरोपेली सङ्घ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु

काबुल ।  अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको