फ्रान्समा आप्रवासी विरोधी ‘न्याशनल र्याली’ पार्टीको अग्रता
बीबीसी । फ्रान्समा भएको पहिलो चरणको संसदीय निर्वाचनमा अतिदक्षिणपन्थी दलले अग्रता लिएको छ । त्यसले अब त्यहाँको संसद्मा उक्त दलको वर्चश्व हुनसक्ने देखिएको छ र सम्भवतः उनीहरूका निम्ति सत्ताको ढोका पनि खुल्न सक्छ ।
मारिन ल पेनको आप्रवासी विरोधी ‘न्याशनल र्याली’ (आरएन) पार्टीले पहिलो चरणको नतिजापछि उल्लास मनाइरहेको छ। पेनले ‘राष्ट्रपति एमानुएल माक्रोँको खेमा मेटिने’ दाबी समेत गरेकी छन् ।
पहिलो चरणको निर्वाचनमा ‘आरएन’ ले ३३.२ प्रतिशत मतका साथ अग्रता लिएको छ भने वाम घटकहरूले २८.१ प्रतिशत मतका साथ उक्त अतिदक्षिणपन्थी दललाई पछ्याइरहेका छन् । राष्ट्रपति माक्रोँको गठबन्धन भने २१ प्रतिशत मतका साथमा तेस्रो स्थानमा रहेको अवस्था छ ।
‘यदि फ्रान्सेलीहरूले हामीलाई उनीहरूको मत दिए भने म सबै फ्रान्सेली जनताको प्रधानमन्त्री बन्ने लक्ष्य राख्छु,’ आरएन पार्टीका २८ वर्षे नेता जोर्डन बार्डेलाले भने ।
ल पेन र बार्डेलाले ५७७ सीट रहेको ‘न्याशनल एसेम्बली’मा स्पष्ट बहुमतका लागि कुल २८८ सीट ल्याउन चाहेका छन् । तर आगामी आइतबारको दोस्रो चरणको मतदानमा उनीहरूको सीट सङ्ख्या घट्ने र बहुमत पुर्याउन उक्त दललाई सीट सङ्ख्या कम हुने ठानिएको छ ।
स्पष्ट बहुमत पाएन भने फ्रान्सको विशाल संसदमा आरएनले आप्रवासन, कर कटौती र कानुनी व्यवस्थासम्बन्धी आफ्ना योजनाहरू पारित गराउन सफल हुने छैन ।
फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा सन् १९९७ यता यसपालि सबैभन्दा बढी मत खसेको बताइएको छ । पहिलो चरणबाट न्याशनल र्यालीका ३९ जना सांसदहरू निर्वाचित भइसकेका छन् भने वामपन्थी न्यू पपुलर फ्रन्टबाट ३२ जना निर्वाचित भएका छन्।