इजरायल–प्यालेस्टाइन लडाइँमा आइतबार सबैभन्दा ‘घातक दिन’



गाजास्थित प्यालेस्टिनी अधिकारीहरूले एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रहेको बताएका छन् । इजरायली हवाई हमलामा आइतबार ४० जनाभन्दा धेरैको ज्यान गएको छ ।

इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका छन् । गाजास्थित प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरेलको सैनिक कारबाही ‘पूर्ण शक्ति’का साथ जारी रहने इजरायली प्रधानमन्त्री बेन्जामित नेतान्याहुले बताएका छन् । शान्ति बहाली गर्न जति समय आवश्यक हुन्छ त्यति समयसम्म कारबाही जारी राख्ने उनले चेतावनी दिएका छन् ।

आइतबार मध्यरातपश्चात् इजरायली हवाई हमलामा गाजाको व्यस्त सडक परेको थियो । त्यहाँ तीनवटा भवन भत्कँदा दर्जनौँको ज्यान गएको थियो । हमासले राति नै दक्षिण इजरायलतर्फ कैयौँ रकेट प्रहार गरेको थियो ।

दिउँसो पनि हमला जारी रह्यो । दशौँ लाख इजरायलीहरू हमलाको साइरन बज्नासाथ घरको सुरक्षित कोठातिर दौडिएका थिए । प्यालेस्टिनीहरूले पनि सावधानी अपनाउने कोसिस गरे। तर सघन बसोबास भएको गाजामा धेरैसँग अन्त जाने विकल्प थिएन । रियाद एस्कुन्तानाले रोयटर्स समाचार संस्थालाई बताएअनुसार उनले छोरीहरूलाई घरको सबैभन्दा सुरक्षित ठानिएको कोठामा सुत्न पठाएका थिए ।

तर केवल एक ६ वर्षीया छोरीमात्र बाँचिन् । उनका पत्नी तथा तीन छोरीको ज्यान गयो । गाजाका अधिकारीहरूले पछिल्ला इजरेली हवाई हमलामा परी १६ महिला र १० बालबालिकासहित ४२ जनाको ज्यान गएको बताएका छन् ।

गत सोमबारयता इजरायलमा रकेट हमलाहरूमा परी १० जनाको ज्यान गएको इजरायलले बताएको छ । हालसम्म गाजामा कुल १९७ जनाको ज्यान गएको छ जसमा ५८ बालबालिका तथा ३४ महिला छन् ।

बाह्र सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले युद्धविराम गराउनका निम्ति अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन्।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन । इजरायलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास

भारतको बायर्निहाट शहर विश्वव्यापी प्रदूषण सूचीको शीर्ष स्थानमा

नयाँदिल्ली । स्वीस वायु निगरानी कम्पनी आईक्यु एयरद्वारा जारी गरिएको विश्व वायु गुणस्तर

चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण

बेइजिङ । चीनले गतवर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी