सानो जमीनको टुक्रा पनि बाँझो नराखौंः पवन चाम्लिङ



प्रिय सिक्किममेली जनगण,
दोस्रो चरणको लकडाउनलाई अझ सख्त रूपमा पालन गर्ने भारत सरकारको निर्णयले वर्त्तमान महामारीको गम्भीर भयावहतालाई नै प्रष्ट पारेको छ। केन्द्र सरकारको यो आदेशलाई सिक्किममा पनि पालन गरिँदैछ। यस महामारीले हाम्रो जीवनमाथि कस्तो असर पार्ला र हाम्रो भविष्यलाई कुन दिशामा लैजाला भन्ने चिन्तन म स्वयं पनि गरिरहेको छु। किनभने हामीले सोचेभन्दा लामो समयावधिसम्म कोरोना भाइरसको खतरा रहनसक्ने रिपोर्टहरू आइरहेका छन्।

इतिहासलाई हेर्ने हो भने यस्ता महामारीहरूले अन्ततः अनिकाल वा भोकमरी वा त्यस्तै जटिल समस्याहरूलाई निम्त्याउने गरेका छन्। ‘दि न्यूयोर्क टाइम्स’-मा प्रकाशित ‘कोरोना भाइरसको साटो भोकले हामीलाई मार्नेछ’ शीर्षक लेखले बताए अनुसार यो वर्षको अन्तसम्ममा संसारका लगभग 265 मिलियन अर्थात् 26 करोड़ 50 लाख मानिसहरू भोकले मर्नसक्ने जानिफकारहरूको अड़कल छ।
यो महामारीले मानवीय जीवनमा अकथनीय आर्थिक, सामाजिक, राजनैतिक त्रासदीहरू छोडेर जानेछ। सिक्किमको खाद्यान्नप्रतिको अत्यधिक परनिर्भरता सदैव मलाई मनमा खट्केको विषय हो।

करीब ’60-को दशकसम्म पनि सिक्किम खाद्यान्नको क्षेत्रमा स्वनिर्भर थियो। तर समयसँगसँगै खाद्यान्नमाथि हाम्रो परनिर्भरता बढ्दै गयो र आज हामी यस क्षेत्रमा पूर्ण रूपले पराश्रित बनेका छौं। म आफू मुख्यमन्त्री छँदा सिक्किमे जनतालाई आफ्नो सानोभन्दा सानो जमीनको टुक्रा पनि खाली नराख्ने अनुरोध र अपील मैले त्यसैकारणले गर्दै आएको थिएँ, र आज पनि म सिक्किमेली जनतासँग त्यही अपील र आशा गर्दछु। म त अझ, ज-जससँग आफ्नो जमीन छैन, उहाँहरूलाई पनि टेरेस वा भर्टिकल गार्डनिङ वा किचन गार्डनिङ गर्ने अनुरोध गर्दछु।
खाद्यान्न कारखानामा उत्पादन गरिँदैन वा त्यसको उत्पादन कल-कारखानामा हुँदैन। त्यसैकारणले मैले हाम्रो राज्यमा खाद्यान्न स्वनिर्भरताको कुरा उठाउँदै आएको हुँ।

वास्तवमा 2003 सालमा सिक्किममा हामीले जैविक खेतीको अभियान शुरू गर्नु पनि यही दिशातिर चालिएको कदम थियो। सिक्किमलाई खाद्यान्नको क्षेत्रमा स्वनिर्भर बनाउनु र कृषिलाई आकर्षक पेशाका रूपमा रूपान्तरण गर्नु नै यो महत्वाकांक्षी अभियान थालिएको थियो। जैविक कृषि नै टिकाउ विकासको सबैभन्दा सही बाटो हो भन्ने मेरो मान्यता छ, र यस अभियानलाई सिक्किममा सफल बनाउन सकेको आत्मसन्तुष्टि पनि मलाई छ।
खाद्यान्नसम्बन्धी अन्य राज्यहरूमाथिको हाम्रो अति-निर्भरशीलता आज ठूलो चिन्ताको विषय छ। अहिलेको महामारीका कारण कथंकदाचित अन्य राज्यहरूमा अनिकाल आइलागेमा वा अन्न उत्पादन हुननसकेमा त्यसले हामी सिक्किमेहरूमाथि अत्यन्त ठूलो विपत्ति र सङ्कट ल्याइदिनेछ। प्रथमतः बाहिरबाट खाद्यसामग्रीहरू आउनेछैनन्, र हामीसँग आफ्नो खाद्य उत्पादन वा खाद्य भण्डारण पनि हुनेछैन। हामी सोझै भोकमरीको शिकार बन्नेछौं।

मलाई लाग्छ, आज सिक्किमलाई खाद्यान्नको क्षेत्रमा स्वनिर्भर बनाउने अभियान थाल्नुपर्ने समय आएको छ। हामी अधिकांश सिक्किमेहरू कृषि पेशाको पृष्ठभूमिबाट आएकाहरू छौं, र अहिले हाम्रो आफ्नो पारम्पारिक पेशालाई पुनः अँगाल्ने सही समय आएको छ। म एसडीएफ पार्टीका सम्पूर्ण नेता तथा समर्थकहरूलाई के अपील गर्नचाहन्छु भने देशमै जैविक कृषि एसडीएफ पार्टी र एसडीएफ सरकारले शुरू गरेको अभियान हो, र यस अभियानलाई आज हामीले नै अझ तीब्र रूपमा अघि बढ़ाउनुपर्ने समय आएको छ। सबै सिक्किमेहरूको जीवन र भविष्यको सुरक्षाको लागि यो अभियानलाई अझै सशक्त बनाउनु जरूरी छ। त्यसैले एसडीएफ परिवारका सम्पूर्ण सदस्यहरू यस अभियानको अग्रणी बनेर यस अभियानलाई आन्दोलनको रूपमा अघि लैजाने म आह्वान गर्नचाहन्छु।
यससँगै, यस अभियानलाई आन्दोलनको रूपमा अघि बढ़ाउने र सिक्किमको सानोभन्दा सानो जमीनको टुक्रालाई पनि बाँझो नराख्ने अपील तपाईं सम्पूर्ण सिक्किमेहरूसँग पनि म गर्नचाहन्छु।

हामी सर्वप्रथम किचन गार्डन बनाउन थालौं, जसमा हरेक आयुवर्गको मानिसहरू संलग्न हुनसक्नेछन्। यसबाट स्वस्थ जैविक सागसब्जी र फलफूलहरूसँगै अन्य थुप्रै स्वास्थ्यसम्बन्धी लाभ हामी आर्जन गर्नसक्नेछौं। यसको साथमा हाम्रो स्थानीय र जैविक बिऊ-बिजनहरूको सुरक्षा गर्ने कुरो पनि उत्तिकै महत्वपूर्ण छ। यसो गर्नसकिए सिक्किममा उत्पादित खाद्यसामग्रीहरू बाहिरबाट ल्याइने सामानभन्दा स्वास्थ्यवर्द्धक र लाभकारी हुनेछन्। जसरी विगतमा हामी खाद्यान्नको क्षेत्रमा स्वनिर्भर थियौं, आज त्यो लक्ष्य हासिल गर्न नसकिने कुनै कारण छैन। त्यो लक्ष्य हामी हासिल गर्नसक्नेछौं र त्यसको निमित्त हामी सबै संकल्पित र एकीकृत हुनु जरूरी छ। हामीले बुझ्नुपर्छ, खाद्यान्नमा स्वनिर्भर हुनु भनेको साँचो रूपमा हामी विकसित हुनुको सङ्केत पनि हो। यदि त्यसो हुन सकेमा अहिलेको महामारीले ल्याउनसक्ने भोकमरीको अवस्थामा पनि सिक्किमेहरू कोही भोकले मर्ने छैनन्।

हाम्रो आजको पहिलो प्राथमिकता भनेको, त्यसैले, लकडाउनलाई पूर्णरूपले पालन गरेर आफू र आफ्ना प्रियजनहरूलाई कोरोना भाइरसबाट बचाउनु हो। अनि, हाम्रो दोस्रो प्राथमिकता आफूलाई भोकमरीबाट बचाउनु हुनुपर्नेछ। र यदि आजै हामीले सिक्किमलाई खाद्यान्नको क्षेत्रमा स्वनिर्भर बनाउने अभियानलाई थालनी गर्‍यौं भने त्यो यो महामारीले हामीलाई दिएको सबैभन्दा ठूलो र वरदानदायी शिक्षा हुनेछ।

पवन चाम्लिङ, पूर्वमुख्यमन्त्री, सिक्किम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र

अफगान मस्जिदमा बन्दुकधारीको आक्रमण, ६ जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

  मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा (आइएमएस) ले ग्रेटर

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिनामा वृद्धि

  चीनको कारखाना गतिविधि अप्रिलमा लगातार दोस्रो महिना बढेको छ । मङ्गलबारको तथ्याङ्कले