ट्रम्पद्वारा अमेरिकी कुटनीतिज्ञलाई धम्की !



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषय तीव्र गतिमा अघि बढाइ राखिएका बेला एक जना पूर्व अमेरिकी राजदूतले ट्रम्पले टेलिफोन संवादका क्रममा आफूबारे गरेको एउटा अस्पष्ट टिप्पणीका कारण आफूले खतरा महसुस गरेको बताएकी छिन्।

युक्रेनका लागि अमेरिकाकी पूर्व राजदूत मुरी युभानोभिचले कङ्ग्रेसलाई युक्रेनका नेतासँग टेलिफोन वार्ताका क्रममा ट्रम्पले गरेको टिप्पणीले आफूलाई “निकै चिन्तित बनाएको” बताएकी छन्।

“उनी [युभानोभिच] केही कुराहरूबीचबाट गुज्रिनुपर्ने छ,” ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई संवादका क्रममा भनेका थिए। डेमोक्र्याट दलले हालै मात्र गोप्य रूपमा गरिएको कुराकानीको विवरण सार्वजनिक गरेको छ।

रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र युक्रेनको एउटा ग्यास कम्पनीमा काम गरेका उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न युक्रेनको सरकारलाई दबाब दिने कोसिस गरेको आरोप लगाइएको छ।

गत जुलाई २५ तारिखमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीका क्रममा ट्रम्पले आफूबारे भनेका कुराका कारण आफू “स्तब्ध” भएको उनले बताएकी थिइन्।

“उनले के भन्न खोजेका थिए भन्नेबारे मैले केही बुझिनँ,” युभानोभिचले ट्रम्पका शब्द बारे भनिन्। “म धेरै चिन्तित थिएँ। म अझै छु।” गत अक्टोबरमा युभानोभिचले दिएको बयान अहिले सार्वजनिक गरिएको हो।

दुई राष्ट्रपतिबीचको संवादका क्रममा ट्रम्पले युभानोभिचलाई “नराम्रो खबर” का रूपमा वर्णन गरेका थिए। उक्त संवादको बेहोरा ह्वाइट हाउसले यसअघि नै सार्वजनिक गरिसकेको छ।

बयानका क्रममा युरोपेली सङ्घका लागि अमेरिकी राजदूतसँग सल्लाह माग्दा उनले युभानोभिचलाई ट्विटमार्फत ट्रम्पको प्रशंसा गर्न भनेको उल्लेख गरिएको छ।

“तिमीले केही उल्लेख्य कार्य गर्नुपर्छ वा घर जानुपर्छ,” युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्डलुन्डले भनेको उनले आरोप लगाएकी छिन्। त्यस्तो सुझाव पालना गर्न नसक्ने आफूलाई लागेको युभानोभिचले बयानका क्रममा भनेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी