१४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु
काठमाडौं । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
राष्ट्रपति पौडेलसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले ओलम्पियन देवु थापालाई रनिङ शिल्ड टर्च हस्तान्तरण गरेपछि प्रतियोगिता शुभारम्भ भएको हो ।
यो प्रतियोगितामा यसअघि सातै प्रदेशमा भएका प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डबाट छनोट भएर आएका विभिन्न विधाका ६ सय ८६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बिहीबारसम्म चल्ने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
प्रत्येक खेलको हरेक स्पर्धामा व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै, टिम स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई जनही २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने छ । सर्वाधिक स्वर्ण पदकसहित टिम च्याम्पियन बन्ने टिमले रनिङ शिल्ड प्राप्त गर्नेछ ।