भव्य समारोहकाबीच राष्ट्रपति भण्डारीबाट १३ औं साग उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेकी छन् ।
सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको समारोहको राष्ट्रपति भण्डारीले भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।
राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो । यसअघि समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले सागलाई सफल तुल्याउन निकै प्राथमिकता दिएर पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको बताएका थिए ।
समारोहमा सात हजार पााच सयको सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको थियो । समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालकोे नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने कार्यक्रम रहेको छ ।
मुलुकका सातै प्रदेश पुर्याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो । काठमाडाँै, पोखरा र जनकपुरमा आइतबारदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहने जानकारी दिए ।