कागज उद्योगमा रमाउँदै भोजपुरका पासाङ
गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।
हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे । पासाङले बाजुरामा काम त पाए तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत गएका उनी फेरी कागज उद्योगमै पुगे ।
‘त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ,’ विगत सम्झँदै उनले भने ।
२२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर ६ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो ।
करिब ५ लाख रूपैयाँ ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गरे ।
‘अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ । नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ ९लोक्ता० काढ्ने थुप्रै हुन्छन्,’ उनले भने । चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उनी बताउँछन् ।
‘पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्,’ पासाङले भन्नुभयो, ‘उनीहरुले पनि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी बुझेर फर्कन्छन ।’
गोरखा नगरपालिका-६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गरेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ ।
‘धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु,’ उनले भने ।
जग्गा भाडामा लिएर उनले उद्योग सञ्चालन गर्दै आएका छन् । पासङको उद्योगमा बार्षिक गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको ३ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ ।
‘बजारको मागअनुसार पुर्याउन अझै सकेको छैन । कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो,’पासाङले भने ।
पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाएका छन् । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उनी बताउँछन् ।