बैदेशिक रोजगार छाडेर रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित



हेटौँडा (मकवानपुर) । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ ।

यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ ।

स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बनेका छन् ।

वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका–५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान भएका छन्। उनले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उनले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् ।

विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण (रेसवे) गरेर उनले व्यावसायिक माछापालन सुरू गरेका थिए। युनिक कृषि फार्म दर्ता गरेर उनले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गरेका छन्।

कुनै समय काठमाडौँमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए। मेडिकल गर्ने क्रममा उनमा जन्डिस देखिएपछि असफल भए। त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उनले आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्के। “काठमाडौँमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भने।

विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुनः वडा सदस्यमा चुनिएका छन् । हाल कार्यवाहक वडाध्यक्ष भएका मोक्तानले वडाको जिम्मेवारीसँगै कृषि कर्मलाई अगाडि बढाएका छन् ।

यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौँको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गरेका उनले एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आएका छन् ।

वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आएका मोक्तानले २५ लाख बराबरको कारोबार गर्दै आएको बताए। सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौँ र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्रायः फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भने। उनले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाएका छन् ।

किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गरेका छन् । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहेका उनले स्थानीयस्टरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम अगाडि बढाएका छन्।

यस्तै, उनले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोपेका छन्भने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गरेका छन् । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोपेका थिए । गत वर्ष ३० किलो बढी किबी बिक्री गरेकोमा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उनको विश्वास छ । मोक्तान जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् ।

यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पमा भाग्दा काठमाडौँमा दुईजना घाइते

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई

न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र