गाईबस्तु लिएर ‘बुकी’ गएका गोठाला बेँसी झर्न थाले



म्याग्दी ।  गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन्। शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन्। पशुका लागि पोसिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।

धौलागिरि गाउँपालिका– ३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताए। ‘वैशाखमा उभौलीको पूजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउँदै गरेको घाँस खुवाउँदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो’, उनले भने, ‘तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो।’

दसैँमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेँसीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताए। गोठ बेँसी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महसुस गर्छन्।

पोसिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्। गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्। ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्।

महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ। करिब तीन/चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धौलागिरि गाउँपालिका– ३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए।

‘पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो। घ्यूले पुग्दथ्यो। मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो’, उनले भने, ‘अहिले गोठ राख्ने ठाउँसम्म नै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नुपरेन। घ्यू र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ।’

एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन्। बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन्। ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धौलागिरि गाउँपालिकाको कृषकको लागि छुट्टाइएको छ।

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन्। यसपालि बुकीमा लम्पी स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकले बताएका छन्। धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पी स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु