छाप्रोभित्र छापामार
‘सामन्ती राज्य व्यवस्था विरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूकै आडमा स्थानीय साहुले ‘कमरेड गाउँ’ भनेर चिनिने जाजरकोटको एउटा गाउँको उठीबास लगाइरहेका छन्।
लोकेन्द्र विश्वकर्मा | खाेज पत्रकारिता केन्द्र
बाइसे–चौबिसे राज्य शासनताका तत्कालीन जाजरकोट राज्यका संस्थापक जगती सिंहले १४५५ मा स्थापना गरेको जगतीपुर दरबारको भग्नावशेष पुग्न सदरमुकाम खलंगाबाट करीब तीन घण्टा लाग्छ। खलंगा नजिकैको बोहरा पारिको उकालो छिचोलेपछि पुगिन्छ, जगतीपुर। जगतीपुरको आँगनबाटै अघि बढेको छ, मध्यपहाडी राजमार्ग।
साविकको जगतीपुर गाविस–३ र हाल भेरी नगरपालिका–११ मा पर्ने कटिगाउँ ‘कमरेड गाउँ’ का नामले चिनिन्छ। माओवादीको १० वर्षे सशस्त्र विद्रोहताका सिंगो गाउँले टाउकोमा रातो फेटा बाँध्नेलाई संरक्षण मात्र गरेन, बम–बारुद पनि बोक्यो। तर, यतिबेला कटिगाउँलाई सामाजिक हिंसा, गरीबी र अभावले थिलथिलो पारेको छ।
३२ वर्षीय वीरमान विक साहुको गोठालोदेखि माओवादी लडाकू हुँदै ‘कालीपारे’ (भारत जाने श्रमिक) सम्म भएका छन्। २०५४ सालतिरै हो, माओवादीले घाँस–दाउरा गर्नेलाई हिमाल चढ्न र चुलोचौको गरिरहेकालाई बम–बारुद बोक्न सिकाएको। कर्णालीलाई आधार इलाका बनाएर १ फागुन २०५२ देखि सुरु भएको संघर्ष उत्कर्षमा पुग्दैथियो। त्यो बेला वीरमानलाई लाग्यो– गोठालो बन्दिनँ, ‘कमरेड’ बन्छु। कर्णालीमा समृद्धिको नारा बोकेर माओवादी लडाकू बनेका वीरमान ‘कमरेड प्रकाश’का नामबाट युद्धमा होमिए। १० वर्षे सशस्त्र विद्रोहपछि व्यवस्था त परिवर्तन भयो तर, वीरमानको न घर जोगियो न बारी। जसका विरुद्ध विद्रोह गरेका थिए तिनैले उनको उठीबास लगाए।
वीरमान लडाइँमा होमिएपछि बिहान–बेलुका हातमुख जोड्न धौ–धौ भएको उनको परिवार स्थानीय पसलेबाट उधारो लिएकोे रासनपानीले धानिंदै आएको थियो। जुन उधारोले उनको थाप्लोमा रु.२१ हजार बोझ थपियो। कतिसम्म भने हाताहाती रु.१८०० मा पाइने चामलको बोरा उधारोमा रु.२९०० सम्म पर्थ्यो। वीरमान भन्छन्, “मूल्य सोध्दा नदेलान् भन्ने डर ! जसरी पनि परिवार त पाल्नुपर्यो नि !” उनको भनाइमा मुश्किलले रु.१० हजारको उधारो थियो।
कटिगाउँका अधिकांशको दिनचर्या वीरमानको भन्दा फरक छैन। ६ महीना भारतमा कमाएको पैसा साहुको उधारो तिर्दैमा ठिक्क हुन्छ उनीहरूलाई। करीब चार दशकदेखिको त्यस्तो चलन तोड्न नसकेका वीरमानले रु.६८ हजार ऋण थपे। भन्छन्, “पहिलेदेखि ऋण छँदैथियो, जहान परिवारलाई ओत लाग्ने घर बनाएर निस्कन्छु भनेर ऋण थपें।” त्यही ऋणले उठीबास लाग्ला भन्ने उनलाई के थाहा !
दुई पटक गरी लिएको रु.८९ हजारको ब्याज हिसाब गर्ने जिम्मा उनले साहुलाई नै सुम्पिए। न वीरमानलाई कागज चाहियो, न साहुले गराए। तर ऋण तिर्नुपर्छ भन्नेमा उनी प्रष्ट थिए। यसबीच वीरमान चार/पाँच पटक भारत गए। तर, कमाइ राम्रो नहुँदा साहुलाई रु.४० हजार मात्रै तिर्न सके।
यता, ऋण तिर्न नसक्दा वीरमानको परिवारलाई साहुका अगाडि देखिन अप्ठेरो मात्र लागेन, रासनपानी लिन जानै बन्द भयो। यसो हुँदा साहुलाई शंका लाग्यो। पुराना दिन सम्झँदै वीरमान भन्छन्, “ऋण तिर्ने पैसा कमाउँला भनेको परिवार पाल्नै धौ–धौ भो।”
२०७० सालतिर कटिगाउँका युवाले भारतको विकल्प खाडी मुलुक बनाइसकेका थिए। भारतबाट रित्तोहात फर्केका वीरमान पनि मलेशिया जान हौसिए। पुरानो साहुसँग सम्बन्ध टाढिएपछि भारती गाउँका शशि भारतीलाई उनले नयाँ साहु बनाए। शशिसँग रु.३० हजार र आफन्तसँग केही रकम जोहो गरेर उनी काठमाडौं हिंडे। दलालले राहदानीमा भिसा लगाइदिए।
साहुको ऋण तिर्ने, घर बनाउने र जग्गा–जमीन जोड्ने सपना बोकेर ६ असार २०७१ मा मलेशियाका लागि जहाज चढे। तर मलेशियाको बसाइ सोचेजस्तो भएन। काम गर्दागर्दै बिरामी परेपछि पैसा जोगाउन सकेनन्। तैपनि मलेशिया आउँदा लागेको ऋण तिरे। उता पुराना साहुलाई पैसा बुझाएको भए पनि साहु, आफन्त, छरछिमेकले ऋण चुक्ता नभएको बताएपछि उनको चिन्ता बढ्योे।
तीन वर्षको मलेशिया बसाइपछि स्वदेश फर्केका वीरमान परिवारसहित फेरि भारत हान्निए। दैनिक रु.४०० ज्यालाले श्रीमतीको उपचार र बिहान–बेलुकाको छाक टार्नै हम्मे भयो। उता पुराना साहु यदुप्रसाद आचार्य रु.७ लाख बाँकी ऋण तिर्ने कि जग्गा दिने भनी धम्क्याउन थाले। जबकि साहुका छोराले उनलाई रु.५ लाख तिर्न बाँकी भएको भन्थे। ऋण तिर्न नसक्दा पेटारीपाटाको जग्गा र बरपानीको घर साहुले लिएको वीरमान बताउँछन्।
वीरमानका पाँच दाजुभाइको जग्गा बाबु सार्की वरकामीको नाममा थियो। रु.७ लाख कट्टी गर्न त्यही लालपुर्जाबाट पेटारीपाटाको कित्ता नम्बर ३८४ र कित्ता नम्बर ७४ को जग्गा साहुले उनका बाबुसँग लिए। साहुले फोनबाटै उनलाई जग्गा पास गरी लिएको सुनाए। अन्ततः ४ मंसिर २०७५ मा घरबारविहीन भए वीरमान।
वीरमानको त्यो घर आफूहरूले बनाइदिएको बताउँदै यदुप्रसादले भारत गएर कमाउ बरु ब्याज छुट गरौंला भनेको साहुका जेठा छोरा नरेश बताउँछन्। तर, अहिले रु.७ लाख लिनुपर्नेमा जग्गाबाट रु.४ लाख मात्रै असुली भएको नरेशको दाबी छ। रु.१ लाख २५ हजारमा घर र रु.२ लाख ७५ हजारमा जग्गा बेच्दा आफूलाई धेरै नोक्सान भएको नरेशले बताए।
घरजग्गा केही नहुँदा दुई वर्षपछि फर्केका वीरमान ससुरालीमा बसे। त्यसपछि साहुबाट घर किनेका भाइ पदमबहादुरलाई रु.१ लाख २५ हजार बुझाउने शर्तमा पहिलेकै घरमा बस्न थाले। वीरमानको भनाइमा त्यो घरले न बर्खाको पानी छेक्छ न हिउँदे चिसो।
एक दिन उनका मनमा रु.७ लाख कटाएर लिएको घरजग्गा साहुले रु.४ लाखमै कसरी बेचे भन्ने लाग्यो। साहुसँग हिसाब–किताब गरिदिन स्थानीय नेताहरूसँग हारगुहार गरे।
माओवादी केन्द्र प्रदेश कमिटी सदस्य जसवीर गन्धर्व, नेपाल विद्यार्थी संघका नेता प्रेम शाही, विप्लव नेतृत्वको नेकपा नेता विराजन शाही र साहु यदुप्रसाद आचार्यको तर्फबाट जेठा छोरा नरेश, यदुका नातेदार एवम् माओवादी केन्द्र भेरी नगरपालिका सचिवालय सदस्य कर्ण आचार्य सहितले २०७७ मंसिर २० गते भेरी नगरपालिका–५ काफलचौरमा हिसाब हेर्दा यदुप्रसादले रु.१ लाख २५ हजार बढी लिएको पाइयो। तर, वीरमानले त्यो पैसा अझै फिर्ता पाएका छैनन्। यसलाई सिंगो बस्तीको समस्या मान्ने प्रेम शाही भन्छन्, “यो चक्र घुमिरह्यो भने सिंगो कटिगाउँ साहुको कब्जामा जानेछ। सबैको उठीबास हुनेछ।”
घरबारविहीन भएका वीरमानले थकित अनुहारमा भने, “जसलाई सामन्त भन्यौं उनीहरूले नै घरजग्गा कब्जा गरेका छन्।” बन्दूक समातेकोमा उनलाई अहिले पछुतो लागेको छ।
पछिल्लो समय ६ महीना भारत उत्तराखण्डको गढवाल बसेर फर्केका वीरमान अहिले मध्यपहाडी राजमार्ग आसपास मजदूरी गरेर परिवार धान्दै छन्। घरको डिलमा बसेर मलिन स्वरमा उनले भने, “एकमुठी सास जोगाउन पनि मुश्किल भो।”
घर न घाटको अवस्था
धर्म वरकामीको कथा पनि वीरमानसँग मिल्छ। धर्मको परिवार पनि द्वन्द्वताका जनमुक्ति सेनामा थियो। शान्ति प्रक्रियापछि उनले भारतमा लामो समय बिताए। २०७० सालतिर भारतबाट फर्किएपछि उनले विदेश जाने योजना बनाएर बाबु आइतेसँग भने, “विदेश जान्छु, पैसा निकाल्दिनुपर्यो।” ऋणको खोजीमा हिंडेका आइते यदुसँगै ठोक्किए।
साहुको खातामा उधारो रासनपानीको ऋण छँदैथियो। यदुबाट रु.१ लाख ५ हजार ऋण लिएर छोरालाई मलेशिया पठाए। तर, मलेशियामा बिरामी परेका धर्म १५ दिनमै घर फर्किए। यता ऋण तिर्न ताकेता गरिरहेका साहुले जग्गा माग्न थाले। त्यसपछि छोरा धर्मको भागमा रहेको मुछाइन् र प्यानीको जग्गा साहुका छोरा नरेशको नाममा पास गरिदिएको बाबु आइते बताउँछन्। उनी भन्छन्, “साहुका जेठो छोराले बाइकमा राखी खलंगा लगेर जग्गा आफ्नो नाममा पास गराए।”
थाप्लोमा ऋण अनि परिवार धान्न धौ–धौ भएपछि धर्मलाई मानसिक समस्या भयो। पत्नी हीराका अनुसार त्यसपछि उनलाई उपचारका लागि भारत लगियो। २०७९ दशैंमा फर्केको धर्मको परिवार अहिले भाइको घरमा आश्रय लिएर बसेको छ। धर्म र १७ वर्षीय छोरा भारतमै छन्।
छाप्रोभित्र छापामार
कल्पना चलाउने २०५७ सालतिर १४ वर्षको उमेरमै भूमिगत भइन्। १८ वर्षको उमेरमा, प्लाटुन कमाण्डर बनेकी कल्पनाको कम्पनी कमाण्डर जीतबहादुर विकसँग ‘जनवादी’ विवाह भयो। जीतबहादुरलाई गरीबीले खाडी मात्रै पुर्याएन ‘कालीपारे’ नै बनायो।
“व्यवस्था परिवर्तनपछि बास बनाउने, छोरा–छोरी पढाउने सपना थियो”, आशैआशमा गुजारिएका दिन सम्झिंदै कल्पना भन्छिन्, “सँगै काम गरेकाहरू कहाँ पुगे, हामीलाई छाक टार्नै हम्मे छ।” दलितसँग विवाह गरेकी कल्पनाले माइती र समाजबाट पनि सहयोग पाइनन्।
५५ वर्षीय जीतबहादुर २०७० अन्तिमतिर खाडीका लागि उडे। जीतबहादुरलाई उनै यदुले रु.१ लाख ऋण दिए। खाडीबाट श्रीमान्ले पठाएको रु.१ लाख ५० हजार बुझाएको भए पनि ऋण अझै बाँकी छ भनेर यदुप्रसादले धम्क्याएको कल्पना बताउँछिन्। साहुका छोरा नरेश पनि हिसाब गर्न बाँकी रहेको सुनाउँछन्। जीतबहादुर अहिले भारतको गढवालमा छन्। गाउँमा दुई छोरासँगै बस्ने कल्पना भन्छिन्, “१० वर्ष युद्धमा रगत–पसिना बगायौं, हामीलाई हेर्ने कोही भएन।”
गरीबी, अभाव, अशिक्षा, जातीय विभेद र ऋणले सिंगो कटिगाउँको आत्मविश्वास गुमेको छ। ‘सामन्ती राज्य व्यवस्था विरुद्ध’ भन्दै हिंसात्मक विद्रोह गरेको माओवादीका नेताहरूकै आडमा स्थानीय साहुले ‘कमरेड गाउँ’ भनेर चिनिने कटिगाउँका तत्कालीन माओवादी लडाकूलाई नै उठीबास गराइरहेका छन्।
उठीबास बनाउने होडबाजी
१७० घरधुरी भएको यो गाउँमा दलितहरू मात्र छन्। ८० परिवार ऋणको पासोमा जेलिएको छ। त्यसमध्ये १२ परिवारको जग्गा साहुले लिइसकेका छन्। गाउँलेसँग कारोबार गर्ने साहु दुई जना मात्रै छन्, यदुप्रसाद आचार्य र हरिप्रसाद शर्मा। सिंगो गाउँमा आचार्य र शर्माले कसरी हैकम चलाइरहेका छन् भन्ने बुझ्न सशस्त्र द्वन्द्वको बेलातिर फर्कनुपर्छ।
२०५३ सालतिर जाजरकोट माओवादीको आधार इलाका भए पनि जगतीपुरलाई लालकिल्ला घोषणा गर्न बाँकी थियो। त्यही वर्ष हो, पूर्व प्रधानपञ्च गोपालप्रसादका छोरा यदुप्रसाद आचार्यले किराना पसल शुरू गरेको। त्यसअघि खलंगा, सुर्खेत लगायत ठाउँमा व्यापार गरिसकेका यदुप्रसाद जगतीपुरमा पसल सञ्चालन गर्थे।
गाउँमा अरू पसल नहुँदा २०५५ सालसम्म उनकै रजगज चल्यो। हुन त यदुको पसलले स्थानीयलाई पनि सजिलै भएको थियो। कटिगाउँमा यदुको व्यापार दिन दुई गुना रात चौगुना बढिरहेपछि उनको एकलौटी रोक्न काका हरिप्रसादले अर्को पसल खोले। हरिप्रसाद शिवशंकर माध्यमिक विद्यालयका स्थायी शिक्षक थिए। उनीहरूबीच प्रतिस्पर्धा यसरी बढ्यो कि खुद्रा सामानको व्यापार गर्दै आएका हरिप्रसाद र यदुप्रसादले पछिल्लो समय ग्राहककै किनबेच गर्न थाले। कतिसम्म भने ग्राहकले यदुलाई तिर्न बाँकी रहेको रकम हरिले तिरिदिने र ऋण आफ्नोमा सार्ने, हरिका ग्राहकको यदुले तिरिदिने। उधारोमा रासन र ऋण समेत दिएपछि काका भतिजाको व्यापार गज्जबसँगै चल्यो।
कटिगाउँका अधिकांश पुरुष ६ महिना भारत जान्छन्। तिनका परिवारलाई यदु र हरिका पसलबाट उधारोमा रासन ल्याउँछन्। भारतबाट कमाएर ल्याएको पैसा घर फर्केपछि साहुलाई बुझाउँछन्। तैपनि ऋण थपिएको थपियै छ। यदुप्रसाद भन्छन्, “लिनुपर्ने दुई/चार करोड होला, खातापाता छोरालाई जिम्मा लगाइसकेको छु।” यदुका छोरा नरेशले गाउँका ३९ परिवारबाट रु.६ करोड ४ लाख ८४ हजार ७९१ उठाउनुपर्ने सूची देखाए। उनको भनाइमा वीरमान विक, धर्म विक, नन्दबहादुर विक, अमृत विक, भक्तबहादुर विक, बैशाखे विक, कमल विक र मेगल विकले जग्गा दिएर ऋण चुक्ता गरिसकेका छन्। अझै ३९ जनाले चुक्ता गर्न बाँकी छ। यदुका दुई छोरामध्ये जेठो नरेश ठेकेदारी गर्छन्, कान्छा तिलक नेतागिरी। नरेश वाईके कन्स्ट्रक्सनका सञ्चालक हुन् भने तिलक नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर ‘ख’ का सचिव। यदुका दाइ भीमप्रसाद माओवादी निकट छन्।
शक्तिको आडमा रजगज
हरिप्रसाद ज्ञानीप्रसाद शर्माका साइलो भाइ हुन्। ज्ञानी, माओवादी केन्द्र जाजरकोट जिल्ला कमिटी सदस्य हुन्। जिल्ला समन्वय उपप्रमुख समेत भइसकेका ज्ञानीको राजनीतिक पहुँच उच्च तहसम्म छ। हरि दाइ ज्ञानीको संरक्षणमा मात्रै छैनन्, माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माका बच्चैदेखिका साथी पनि हुन्।
“मैले फगतको ब्याज खाएको छैन र खानेवाला पनि छैन” हरिप्रसाद भन्छन्, “अब कटिगाउँमा लिन बाँकी दुई करोड जति होला। समयमै दिए ब्याज छुट गरिदिन्छु।”
यदुभन्दा हरिप्रसादसँग कटिगाउँका ऋणी बढी छन्। कटिगाउँमा ५३ परिवार ऋणी भएको र ६ जनाको जग्गा लिएको हरिप्रसादले स्वीकारे। कालो चनारा, भक्तबहादुर वरकामी, हेमन्त लुहार, हर्के लुहार, चित्रबहादुर लुहार, गोब्लो लुहार, मोतिराम लुहारको जग्गा उनले लिएका छन्। उनी भन्छन्, “हेमन्तले जग्गा पास गरिदिएको छैन। बासे (मोतिराम) को अझै रु.३ लाख ९८ हजार बाँकी छ।”
शिवशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामलाल आचार्य जगतीपुरका साहुले गाउँलेलाई जुकाले जसरी चुसेर मर्नु र बाँच्नुको अवस्थामा पुर्याएको बताउँछन्। साहुको नाम नलिइकनै उनले भने, “साहुका ज्यादतीका सामू एउटा शिक्षकले के गर्न सक्छ र !”
आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारको ‘उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रम’ अन्तर्गतको नमूना बस्ती विकास निर्माण योजना कटिगाउँमा पर्यो।
२६ जेठ २०७९ मा भेरी नगरपालिका कार्यपालिका बैठकले वडाध्यक्षदेखि इन्जिनीयरसम्म राखेर पाँच सदस्यीय घरधुरी छनोट समिति गठन गर्यो। त्यसको संयोजक भए कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लक्ष्मीप्रसाद जैसी। ९ असार २०७९ मा उक्त समितिले ५० घरधुरी छनोट गर्यो। तर, आफैं संयोजक रहेका वडाध्यक्षले कार्यकर्ता परेनन् भनेर कार्यक्रम फिर्ता गराए। सोही मितिमा वडाध्यक्ष जैसीले नगरपालिकालाई रोक्का पत्र लेखे। छनोट समितिले ५० घरधुरी छनोट भए भनेर बेलुका ७ बजे निर्णय गर्यो। त्यही मितिमा वडाध्यक्षले रोक्का पत्र नगरपालिका पठाएपछि उक्त कार्यक्रम फिर्ता भयो। त्यसपछि कटिगाउँमा विकास निर्माणदेखि सचेतना सम्बन्धी एउटै कार्यक्रम पुगेको छैन।
त्यही वडाको स्यालापानी टोलमा रु.२५ लाखमा मन्दिर निर्माण भइरहेको छ। तर कटिगाउँको आर्थिक र सामाजिक विकासका लागि कुनै योजना परेको छैन। वडाको योजनामा शिव मन्दिर निर्माणदेखि हितान गाउँमा बटुकभैरवको मन्दिर प्राथमिकतामा परेको छ। तर कटिगाउँको गरीबी, अभाव, जातीय हिंसा र अशिक्षा कसैको प्राथमिकतामा छैन। दलित बस्ती कटिगाउँमा १२ कक्षा पास गरेका दुई जना मात्र छन्। अर्कातिर बालविवाहको समस्याले यो गाउँलाई उत्तिकै गाँजेको छ।
कटिगाउँका समस्याबारे जिल्लाका सबै नेतालाई थाहा भए पनि समाधानको पहल नभएको बताउँछन्, नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह। गाउँको विकासका लागि उत्पादनमुखी योजनाको खाँचो देख्छन् उनी। उत्पादन बढाउन कृषि तथा गैरकृषिमा अनुदान कार्यक्रम संचालन गर्नुपर्ने उनको सुझाव छ। कटिगाउँमा गुमेको आत्मविश्वास फर्काउन मनोपरामर्शको खाँचो देख्छन्, उनी।
हुन पनि कटिगाउँका मानिसमा केही गर्न सक्छौं भन्ने आत्मविश्वास नहुँदा साहुको मनोमानी चलेको छ। गाउँमा कोही नयाँ मान्छेले कुरा गर्न खोज्दा गाउँले सुरुमै बिन्ती बिसाउँछन्, “साहुलाई नभन्नुहोला हजुर, नत्र घर–जग्गा बुझाएर भारत जानुपर्छ।”