‘नो हर्न’ प्रभावकारी बनाउन ट्राफिक प्रहरीको अभियान शुरु
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।
आइतबार एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरुवात गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटल सँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।
ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए ।
उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।
काठमाडौं महानगरपालिकाले वि.सं.२०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।