उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपील



सिन्धुपाल्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा जारी अपीलमा भनिएको छ ।

बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।

ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।

पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपीलमा उल्लेख गरिएको छ ।

हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए ।

बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ ।

अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए ।

प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ । प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, सङ्घसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ ।

नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।

बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ ।

मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको र स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपीलमा उल्लेख गरिएको छ ।

नगरबासीको जिउधनको सुरक्षा र संरक्षण गर्ने कुरामा कुनै कसर बाँकी नराखिने भन्दै नगरपालिकाले थप काम गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा समूह स्वयं नगरपालिका आएर छलफलका माध्यमबाट समस्याको समाधान गर्नसमेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्