भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता
काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता भएका छन् ।
यही फागुन १३ गते नेपाल आएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू कार्यक्रमपश्चात शुक्रबार स्वदेश फिर्ता हुनुभएको नेपाली सेनाले जनाएको छ । भ्रमणमा आएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता भएका थिए ।
त्यस्तै जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा) विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा) आज स्वदेश फिर्ता भएका हुन् ।
भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गरेको थियो ।