नेपाली सेनाले बनायो मर्चवारमा हाटबजार ट्रष्टघर
काठमाडौं । नेपाली सेनाले रुपन्देही मर्चवारी गाउँपालिका–५ महुवारीमामा स्थानीय उपभोक्ताका लागि हाटबजार निर्माण गरेको छ । हाटबजार ट्रष्टघर गरुड दल गणले बनाएको हो ।
सेनाले सामाजिक–आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउन हाटबजार ट्रष्टघर बनाएको जनाएको छ ।
ट्रष्टघर २२ नम्बर बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले आइतबार गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्याउने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा कार्यालयलाई प्रशंसापत्र दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको बताएका थिए ।
हाटबजार ट्रष्टघरले करिब ४ हजार स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव तयार रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।