गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग एनआरएनएको माग
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी अधिवेशनबाटै गैरआवासीय नेपालीलाई संविधानले दिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रयोगका लागि मार्ग प्रशस्त गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटमा अध्यक्ष डा.बद्री केसीले यसअघिका भेटमा संसदमा हिउँदे अधिबेशन सुरु भएपछि आफ्ना मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै अहिले जारी अधिबेशनबाटै गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, एनआरएन एक्ट सम्बन्धि विधेयक पास गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत अनुरोध गरे ।
जवाफमा प्रधानमन्त्री आफूले प्रतिबद्धता अनुसार नै पहल भन्दै संविधानतः प्राप्त गर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारका बारेमा सरकारले उचित निकाश दिने उल्लेख गरे ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले निर्वाचन पद्धतिबाट निर्वाचित भएर आएको टिम नै वैधानिक रहेको कुरामा कसैका दुईमत हुन नसक्ने कुरा समेत व्यक्त गर्दै संघको हालको कार्यसमितिको वैधानिकतामा कुनै प्रश्न नरहेको बताए ।
उनले भने, ‘लोकतान्त्रिक पद्धति मान्दिन भनेर पाइँदैन, तर विश्वभर रहनु भएका गैरआवासीय नेपालीहरु सबै एकै थलोमा मिलेर नेपालको विकास तथा समृद्धिमा दत्त चित्त भएर लाग्नुहोस् ।’
सो अवसरमा गैरआवासीय नेपाली संघका विविध विषहरुमा प्रधानमन्त्रीसँग संघका तर्फबाट कुरा विभिन्न कुराहरु राखेका थिए ।
मुख्य रुपमा संघले आगामी मार्च महिनामा गर्न लागेको दोश्रो अन्तराष्ट्रिय युुवा सम्मेलन, एसिया प्रशान्त क्षेत्रीय बैठक तथा युरोप क्षेत्रीय बैठकका बारेमा समेत प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
यसका साथै उक्त युवा सम्मेलनमा प्रधानमन्त्रीलाई आगामी मार्च १५ तारिखका दिन भर्चुअल माध्यमबाट उक्त सम्मेलनमा भेला भएका युुवाहरुसँगको छलफल कार्यक्रममा जोडिनका लागि गरिएको अनुरोधलाई समेत सकारात्मक रुपमा लिएका थिए ।
अध्यक्ष डा.केसीले गैरआवासीय नेपाली संघलाई नेपाल सरकारले लगानी बोर्डमा आमन्त्रित सदस्यका रुपमा राख्न समेत प्रधानमन्त्रीसँग अनुरोध गरे ।
प्रधानमन्त्री ओलीले एनआरएनलाई सरकारले प्राथमिकतामा राख्दै आएको भन्दै अबका दिनमा पनि साथै लिएर अघि बढ्ने बताए ।
यस्तै नेपाल सरकारले हाल रुसमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृृति (नवीकरण) लगायतका अति आवश्यक काममा लगाएको रोकले ठूलो समस्या सिर्जना भएकोले पुनः श्रम स्वीकृतिको प्रक्रियालाई समेत यथाशिघ्र खुला गर्नका लागि सहजीकरण गरिदिनका लागि समेत प्रधानमन्त्री ओलीसँग अनुरोध गरे ।
भेटमा गोर्खा कल्याण कार्यदलका अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ले. चन्द्र गुरुङ, कार्यदलका सल्लाहकार हरि गुरुङ, पूर्वअध्यक्ष श्री रामचन्द्र गुरुङ (तमु धीं यूके), समाजसेवी, तेज बहादुर गुरुङ, तथा एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत उपस्थित थिए ।