सहकारीप्रतिको नकारात्मक भावलाई चिर्न सहकारीहरुले आफ्नो गतिविधि राम्रो बनाउनुपर्छः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिले सहकारीप्रति नकारात्मक धारणा रहेको भन्दै आफ्नो गतिविधिबाट सहकारीहरुले आफूलाई राम्रो प्रमाणित गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले तीन खम्बे अर्थनीति अन्तर्गत रहेको सहकारीप्रति नागरिकमा नकारात्मक भाव रहेको बताए । उनले सहकारकिो सिद्धान्त र मर्मविपरित जाँदा सहकारीमा समस्या देखिएको पनि बताए ।
‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु,’ सिंहले भने, ‘सहकारीको सिद्धान्त र मर्मविपरित गएको कारणले गर्दा धेरैले जीवनमै डिस्टर्भेन्स हुनेगरि, आफैंलाई दबाब हुने अवस्था भोगिरहनुपरेको छ ।’
फरक प्रसंगमा उनले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनका लागि वर्तमान सरकार बनेको बताए । राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको जानकारी दिए ।
‘जनताले सरकारको आयुको त ठेगान छैन, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो। कमीकमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
सरकारले जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना रहेको भन्दै त्यसलाई पूरा गर्नको लागि सरकार लागिरहेको उनको भनाई छ । सिंहले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए।