आईपियु गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा नेपालबाट सभामुख सापकोटासहित तीन सांसद सहभागी
काठमाडौं । विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आई पि यु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।
जारी अधिवेशनमा नेपालकातर्फबाट प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यकारुपमा सहभागिता जनाएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी छन् ।
गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्नेछन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आईपियू अध्यक्षको कार्यकाल तीन बर्षको हुनेछ ।
यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघ (आईपियु) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।