मोहनविक्रम सिंह भन्छन्–प्रतिगमनको खतरा बढ्यो



– मोहनविक्रम सिंह
आज देशमा पुनः २०१७ पुष १ गते पूर्वको स्थितिको पुनरावृत्ति हुने सम्भावना देखापर्दै गइरहेको छ । त्यो बेला काङ्ग्रेस सत्तामा थियो र उसको बहुमत थियो । तर, त्यसका गलत नीतिहरूका कारणले जनतामा असन्तोष बढिरहेको थियो र त्यसबाट राजा र राजवादीहरूले फाइदा उठाउँदै गइरहेका थिए । उनीहरूले विभिन्न रूपले आन्दोलन सञ्चालन गर्दै गइरहेका थिए ।

नयाँ स्थितिमा पुनः त्यही प्रकारको इतिहासको पुनरावृत्ति भइरहेको त छैन ? प्रश्न उठाउने ठाउँ छ । आज नेकपा (नेकपा) सत्तामा छ । त्यसले एकपछि अर्को गर्दै गलत नीति अपनाउँदै गइरहेको छ । त्यसबाट फाइदा उठाएर राजावादीहरू अगाडि आउने प्रयत्न गरिरहेका छन् । त्यसले गर्दा २०१७ पुष १ गतेको इतिहासको पुनरावृत्ति हुने खतरा बढ्दै गइरहेको छ ।

त्यो बेला र अहिलेको स्थितिमा भएका कतिपय अन्तरहरूमाथि पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यो बेला राजा सत्तामा थियो र त्यसको स्थिति संवैधानिक रूपमा बलियो थियो । राजा धेरै बदनाम पनि भएको थिएन ।

तर, अहिले स्थिति त्यस्तो छैन । देशमा राजतन्त्रको अन्त भएको छ र त्यो धेरै बदनाम भएको छ । पूर्व राजा ज्ञानेन्द्रको स्थिति वीरेन्द्रकोभन्दा धेरै कमजोर र बदनाम पनि छ ।

राजतन्त्रको पुनस्र्थापना भएमा राजा बन्ने ज्ञानेन्द्र नै हुन् र उनका उत्तराधिकारी पारस नै हुन् भन्ने कुराप्रति पनि आम जनताको ध्यान छ । वास्तवमा त्यो कुरा जनतालाई अलिकति पनि पाच्य छैन ।

त्यो अवस्थामा २०१७ सालमा त्यो बेलाको नेकाको सरकारलाई हटाएर आफ्नो निरङ्कुश शासन कायम गर्न राजालाई जति सजिलो थियो, अहिले छैन । अर्कातिर, वर्तमान सरकारको पक्षमा पनि बलियो स्थिति छैन ।

पहिलेका दुईवटा पार्टीहरू, पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेकपाको गठन भएको हो । तर, उनीहरूका बीचमा राजनीतिक, सङ्गठनात्मक वा भावनात्मक प्रकारको पनि एकता भएको छैन ।

उनीहरूको स्थिति माक्र्सले भने झै, आलुका बोरा को जस्तो छ । आलूको बोरा बाहिरबाट हेर्दा एउटै जस्तो देखिन्छ । त्यसलाई खोल्दा आलूहरू बेग्ला–बेग्लै दिशामा छरिन्छन् । आफ्नो त्यसप्रकारको सङ्गठनात्मक स्वरूपका कारणले पनि देशलाई प्रभावशाली प्रकारले चलाउनु उनीहरूका लागि सम्भव भएको छैन ।

नेकपाको अर्को गम्भीर समस्या नीतिगत हो । उनीहरूले आफूलाई कम्युनिष्ट पार्टीको रूपमा घोषणा गरेका छन् । संसारभरका सबै संशोधनवादीहरूले त्यसै गर्दछन् । उनीहरूले आफूलाई सच्चा माक्र्सवादी–लेनिनवादी भएको दावी गर्दछन् । डा. केशरजङ्ग रायमाझीले त्यही गरेका थिए ।

वीसौँ महाधिवेशनपछि सोभियत सङ्घको कम्युनिष्ट पार्टीले पनि त्यस्तै गरेको थियो । तर, अन्तमा उनीहरूको वास्तविक रूप बाहिर आयो ।

नेकपा पनि अब कम्युनिष्ट पार्टी रहेको छैन । त्यसकारण त्यसले कम्युनिष्ट पार्टीको हैसियतले काम गरेन भनेर शिकायत गर्नुको कुनै अर्थ छैन र त्यसबाट त्यसप्रकारको आशा पनि गर्न सकिन्न । तैपनि नेकपा एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति हो । तर, त्यो हैसियतले पनि त्यसले जति काम गर्नुपर्दथ्यो ।

त्यो गर्न सकिरहेको छैन । त्यसले आफ्नो घोषणापत्रमा जुन नीति र कार्यक्रमको घोषणा गरेको छ, त्यसलाई पनि लागू गर्न सकिरहेको छैन । जस्तै कि समाजवाद उन्मुख नीति । संविधानमा समाजवाद उन्मुख राज्यको निर्माणको कुरा गरिएको छ र नेकपाले पनि त्यही प्रकारको प्रतिबद्धता प्रकट गरेको छ ।

तर, व्यवहारमा त्यसको नीति यथास्थितिवादी र पुँजीवादी प्रकारको छ । त्यसले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कतिपय नीतिगत कार्यक्रमहरू पनि प्रयोग गर्न सकेको छैन । त्यसको कार्यशैलीमा पनि कैयौँ समस्या र कमजोरीहरू रहेका छन् । जसले गर्दा त्यसप्रतिको जनअसन्तोष बढ्दै गइरहेको छ ।

नेकपाको अर्को समस्या वाध्यता, असहायपन वा लाचारी हो । संसारका समाजवादी वा वामपन्थी प्रकारका नीतिहरू अपनाउने सरकारहरूमाथि अमेरिकन साम्राज्यवादले वा विभिन्न प्रतिक्रियावादी शक्तिहरूले हमला गरेका उदाहरण हाम्रा अगाडि छन् ।

विश्व समाजवादी व्यवस्थाको अन्तपछि अमेरिकी साम्राज्यवादले ल्याट्रिन अमेरिकाका कैयौँ वामपन्थी सरकारहरूलाई अपदस्थ गरायो । सोभियत सङ्घको समर्थन नभएको भए क्यूवाको अस्तित्व पनि रहने थिएन ।

केही वामपन्थी वा समाजवादी नीति अपनाउने वित्तिकै कुनै देशले कति प्रतिकूल र कठिन स्थितिको सामना गर्नुपर्दछ ? भेनेजुएलाको उदाहरण हाम्रा अगाडि छ ।

नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलाबारे केही कडा वक्तव्य दिने वित्तिकै त्यसले (नेकपाले) वा त्यसको सरकारले अमेरिकाको कडा विरोधको सामना गर्नुपरेको थियो ।

त्यसै गरेर चिनियाँ विदेशमन्त्रीसितको कुराकानीमा नेपाल इण्डोप्यासिफिक रणनीतिमा सामेल नभएको कुरा चिनियाँ पत्रपत्रिकाबाट बाहिर आएपछि अमेरिकाले नेपाल सरकारसित स्पष्टिकरण मागेको उदाहरण पनि हाम्रा अगाडि छ । त्यो बाहेक नेकपाको सरकारका अगाडि भारतीय साम्राज्यवादको दवाव पनि कम छैन ।

त्यसले खाली बाहिरबाट मात्र होइन, नेपालका कैयौँ भारतपरस्त राजनीतिक सङ्गठन वा प्रतिक्रियावादी तत्वहरूलाई उचालेर वर्तमान सरकारलाई आफ्नो नियन्त्रणमा राख्ने नीति अपनाईरहन्छ ।

देशभित्रका विभिन्न माफिया ग्रूप, भ्रष्ट र नोकरशाही प्रशासनयन्त्र र स्वयं नेकपाभित्र बढ्दै गएका विभिन्न दवावसमूहका कारणले पनि सरकारका अगाडि थुप्रै विघ्न, बाधा र समस्याहरू देखापरेका छन् र त्यो लगातार असफल बन्दै गइरहेको छ ।

गणतन्त्रमाथि एउटा अर्को दिशाबाट पनि हमला भइरहेको छ – वामपन्थी दिशाबाट । खासगरेर नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (विप्लब)ले वर्तमान सरकारमाथि वामपन्थी दिशाबाट हमला गरिरहेका छन् ।

उनीहरूको व्याख्या यो छ – वर्तमान गणतन्त्र बुर्जुवा हो । त्यसकारण त्यसको कुनै उपयोगिता छैन र त्यसलाई समाप्त गरेर नयाँ जनवादी गणतन्त्र ल्याउनु पर्दछ । रणनीतिक रूपमा त्यो नारा सही हो ।

तर, कार्यनीतिक रूपमा अहिले नयाँ जनवादी गणतन्त्र ल्याउनु सम्भव छैन । अहिले उनीहरूको विरोधले पनि विद्यमान गणतन्त्रलाई कमजोर पार्न नै बल पुर्‍याउने छ । त्यसरी गणतन्त्र समाप्त भयो भने त्यसबाट लाभ प्रतिगमनलाई नै पुग्ने छ । स्वयं कतिपय गणतन्त्र पक्षधर शक्तिहरूबाट पनि गणतन्त्रमाथि हमला भइरहेको छ ।

नेकालाई गणतन्त्र पक्षधर शक्तिका रूपमा गणना गर्नुपर्ने हुन्छ । किन भने वर्तमान संविधान निर्माण गर्दा त्यो पनि सहभागी थियो । तर, त्यसभित्र गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने पक्ष बढ्दै गइरहेको छ ।

नेका भित्रको एउटा ठूलो शक्ति धर्मनिरपेक्षता समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन तथा राजतन्त्रको पुनस्र्थापना गर्न आवाज उठाइरहेको छ र त्यसको नेतृत्व पंक्ति नै त्यसका पक्षमा देखापर्दै गइरहेको छ ।

ने.क.पा.को नेतृत्वले स्पष्ट र दृढतापूर्वक गणतन्त्रका पक्षमा आवाज उठाइरहेको छ । त्यो स्वागतयोग्य कुरा हो । तर, त्यो सङ्गठन के पूरै गणतन्त्रका पक्षमा उभिने छ ? त्यसको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्रमाथि विचार गर्दा त्यो कुरामाथि पूरै विश्वास गर्न मुस्किल पर्दछ ।

त्यो बाहेक, जस्तो किमाथि उल्लेख गरियो, वर्तमान सरकारका गलत नीति र कार्यशैलीका कारणले जनतामा जुन असन्तोष पैदा भइरहेको छ र वर्तमान सरकार अलोकप्रिय हुँदै गइरहेको छ, त्यसले गर्दा पनि गणतन्त्रको आधार कमजोर हुँदै गइरहेको छ ।

देशमा अझै पनि सामन्ती संस्कार र विचारहरूको असर छ । आज राजतन्त्र छैन, तर त्यसको वर्गीय आधार समाप्त भएको छैन । पूर्व पञ्चहरूले अहिले पनि राजतन्त्रको पुनस्र्थापना गर्न सङ्गठित प्रकारले अभियान चलाइरहेका छन् ।

राजावादीहरूले हिन्दूराष्ट्रको नारालाई नै आफ्नो मुख्य हतियार बनाएका छन् । भारतीय साम्राज्यवादले पनि उनीहरूको अभियानलाई मद्दत गरिरहेको छ । वर्तमान सरकार वा त्यसका नेताहरूले कतिपय साम्राज्यवादी नीतिहरूका विरुद्ध व्यक्त गर्ने विचारहरूका कारणले पनि साम्राज्यवादी शक्तिहरू वर्तमान सरकारसित प्रसन्न छैनन् ।

वर्तमान सरकार अवसरवादी, ढुलमुल र सम्झौतापरस्त भएपनि साम्राज्यवादीहरूलाई चाहिएको एउटा पूरै दलाल सरकार हो र वर्तमान सरकारले उनीहरूको त्यो आवश्यकता पूरा गर्दैन । त्यसैले उनीहरूले वर्तमान सरकारको ठाउँमा उनीहरूको पूरै दलाली गर्ने वैकल्पिक सरकारको स्थापनाका लागि एक वा अर्को प्रकारले षडयन्त्र गरिरहने छन् र गरिरहेका पनि छन् ।

उपरोक्त प्रकारको परिस्थितिमा देशमा गणतन्त्रका विरुद्ध जुन खतरा उत्पन्न भएको छ । त्यसलाई हल्का रूपमा लिनु सही हुने छैन । यो अवस्थामा गणतन्त्र पक्षधर शक्तिहरूको बीचमा व्यापक एकता आजको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो ।

गणतन्त्र पक्षधर शक्तिहरूका बीचमा कैयौँ राजनीतिक मतभेदहरू हुन सक्छन् र कोही सत्तामा र कोही प्रतिपक्षमा पनि हुन सक्दछन् । त्यो कुरा जे भएपनि आज हाम्रा अगाडि जुन गम्भीर राष्ट्रिय र ऐतिहासिक जिम्मेवारी उत्पन्न भएको छ ।

त्यसप्रति गम्भीर भएर हामीले आपसमा एकता कायम गर्नुपर्ने आवश्यकता छ । यसरी नै हामीले २०१७ सालको पुनरावृत्तिको खतरालाई रोक्न सक्दछौँ र रोक्नु पनि पर्दछ ।

आज गणतन्त्रका विरुद्धको खतरा केही सलबलाएजस्तो देखिए पनि वस्तुगत रूपमा स्थिति गणतन्त्रको पक्षमा नै छ । आज ०१७ सालको स्थिति छैन र त्यसका तुलनामा जनचेतना धेरैमाथि उठिसकेको छ ।

त्यसले हामीहरूलाई बल र आत्मविश्वास पनि दिन्छ । त्यो आत्मविश्वसलाई हामीले सही र कुशलतापूर्वक प्रयोग गर्नुपर्ने आवश्यकता छ । अन्यथा इतिहासका बेग्लाबेग्लै मोडमा गरिने सामान्य गल्तीहरूका पनि कैयौँ दुष्परिणामहरू हुन सक्दछन् ।

अहिले गरिने त्यसप्रकारको कुनै गल्तीको परिणाम ०१७ सालकोभन्दा कैयौँ गुणा गम्भीर हुन सक्दछ । ०१७ सालमा त खाली प्रजातन्त्रमाथि मात्र आघात पुगेको थियो ।

तर, अहिले हुने कुनै पनि गल्तीको दुस्परिणामले विद्यमान लोकतन्त्र र गणतन्त्रका साथै देशको राष्ट्रियता र स्वतन्त्र अस्तित्व समेत समाप्त हुने खतरा छ । त्यसले गर्दा हामीहरू अत्यन्त गम्भीर हुनुपर्ने ऐतिहासिक आवश्यकता उत्पन्न भएको छ ।
मिति : २०७६ असोज १४ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ