कसले सम्हाल्छ अब नेपाल प्रहरीको कमाण्ड ?
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षक कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जान लागेका हुन् ।
प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिका कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त हुन लागेका हुन् । कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह, जनक भट्टराई, त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।
महानिरीक्षक कुवर अवकाशमा जाँदै गर्दा ३१औं आईजीपी को बन्ला भन्ने चासो देखिएको छ। नयाँ आईजीपीका लागि तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन् ।
आईजीपी कुँवरको अवकाशसँगै आज नयाँ आईजीपी बनाउने सरकारको तयारी छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्।
एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। वरिष्ठताको आधारमा गिरी र तामाङभन्दा थापा अघि छन्। मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गरेमा थापा नै ३१औं नम्बरको आईजीपी हुने सम्भावना छ।