प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको विष्टको आरोप
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सहयोगी बनेको त छैन भनी आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विष्टले प्रचण्डको अभिव्यक्तिले प्रतिगामी शक्तिलाई मलजल गरेको बताए ।
उनले भने, ‘कतै आज पूर्वराजाको जुन प्रकारको हौसला छ यसका पछाडि यही प्रकारका गतिविधि पनि घुमाएर सहयोगी त बनिरहेका छैनन् । आज हामीले गम्भीरतासाथ समीक्षा गर्नुपर्नेछ ।’
विष्टले सत्ता र प्रतिपक्षमा रहँदा द्वेध चरित्र देखिएको बताए । उनले प्रचण्डले तीनपटक प्रधानमन्त्री बन्दाको जस र अपजस लिनुपर्ने बताए । यही सरकारका कारण निराशा पैदा भएको भनिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।