इयुले नेपालको ऊर्जा क्षेत्रको विकासमा थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो । युरोपियन युनियनले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपालको दिगो विकासका लागि साझेदार निकायका रुपमा सहयोग गर्दै आएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिएको उर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ ।
उनले आगामी दिनमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तन तथा आर्थिक स्थायित्वको क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न दातृ निकायहरुको महत्वपूर्ण साथ र सहयोगको अपेक्षा गरे । उनले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक संसद्मा पेस भइसकेकाले चाँडो पारित हुने बताए ।
नेपालको ऊर्जा क्षेत्रमा युरोपियन युनियन प्रमुख साझेदार रहँदै आएको र नविकरणीय ऊर्जा पहुँच, ग्रामीण विद्युतीकरण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा इयुको सहयोगप्रति मन्त्री खड्काले आभार व्यक्त गरे ।
भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन् । उनले नेपालले छिमेकी मुलुकसँग गरेको ऊर्जा सहकार्यको प्रशंसासमेत गरिन् ।
राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा ईयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताइन् । अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा ईयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो । भेटमा ईयुको लगानीमा निर्माण भएको चिलिमे–त्रिशुली प्रसारण लाईन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।