काठमाडौं महानगरलाई मन्त्रालयको पत्रः गुरागाईंलाई काम गर्न दिनु
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन साहले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
महानगर प्रमुखले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूठा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।
मन्त्रालयले भनेको छ, ‘प्रस्तुत विषयमा त्यहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईं (क.सं.नं. १७२७७६) ले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’