काठमाडौंमा १२० थान खुकुरी चोरीमा संलग्न तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको सीतापाइलास्थित कारखानाबाटै खुकुरी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट शुक्रबार बिहान १२० वटा खुकुरी चोरी भएको उजुरी प्रहरी वृत्त स्वयम्भूमा परेपछि प्रहरीले खोजतलास शुरू भएको थियो ।
स्वयम्भू वृत्तबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौं महानगरपालिका– १५ रामघाट पुलबाट खुकुरी चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका घर भएर ललितपुर सानेपा बस्दै आएका राजकुमार तामाङ, रौतहट रघुनाथपुर नगरपालिका– ९ का शेखजफ्रे आलम र रौतहट चपुर नगरपालिका– ९ का लालमोहम्मद देवान छन् । उनीहरूको साथबाट प्रहरीले ४५ वटा मात्रै बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूले ललितपुरस्थित कोठामा खुकुरी लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । कारखानाका मालिक भेषबहादुरलाई उक्त खुकुरी बनाउन सशस्त्र प्रहरीले ठेक्कामा दिएको थियो ।