भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा सामान्य क्षति, छैनन् ठूलो क्षतिका घटना
काठमाडौं । भूकम्पबाट जिल्लामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको भागदौडको क्रममा लडेर दाहिने हातमा सामान्य चोट लागेको जनाएको छ ।
उनलाई चौतारा अस्पतालमा उपचार गराइएको र अहिले उनलाई डिस्चार्ज गरिएको छ । त्यस्तै भूकम्पबाट भोटेकोशी गाउँपालिका वडा नं ३ स्थित तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ।
तर, उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् । यसैगरी, भोटेकोशी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेक भवनमा सामान्य क्षति पुगेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।