के नेपाली पर्यटक होइनन् ?
डा. गोविन्दशरण उपाध्याय ।
एउटा तीतो अनुभव छ । केही महिना अगाडी मुक्तिनाथ दर्शनको मुस्ताङ गएको थिएँ । त्यसबखत विदेशी पाहुनाहरूको मौसम रहेछ । मैले र मेरो साथीले धेरै प्रयत्न गर्दा पनि बस्ने वास पाउन गाह्रो परेको थियो । धेरैजसो होटलवालाले ‘पर्यटक’ का लागि कोठा छ नेपालीका लागि छैन’ भन्ने ठाडो जवाफ दिए । बल्लतल्ल एकजना होटलवालाले बल्लतल्ल दया गरेर वास दिए । होटल पाउन निकै गाह्रो पर्यो । हामी पांचजना ‘वास’ नै नपाइने हो कि भनेर चिन्तित भएका थियौं ।
मैले त आफूसँग भएको अन्यायका विषयमा लेख्न सक्छु तर कलम नचल्ने केवल आस्था र विश्वासका साथ मुक्तिनाथजस्ता तीर्थमा आन्तरिक पर्यटकका रूपमा पुग्ने सोझा गाउँले र सहरियाहरूको भोगाई कस्तो हुन्छ ? मैले कल्पना पनि गर्न सक्दिन । तीर्थयात्रीको मात्र कुरा होइन केवल पर्यटनका लागि संबन्धित ठाउँमा पुगेका अन्य नेपालीहरूले पनि ‘हाम्रो हविगत भोग्न पर्दैन’ भन्ने कुरामा म विश्वस्त छैन । हरेक नेपाली नागरिकले स्थानीय पर्यटन व्यवसायीबाट माया र सम्मान प्राप्त गर्न सक्नुपर्छ तर यसको अर्थ आन्तरिक पर्यटकलाई निःशुल्क वास र भोजन दिनुपर्छ भन्ने पनि होइन । मिठो बोली, एक गीलास पानी र गुन्द्री – यी धनि र गरीव सबै नेपालीका घरमा उपलब्ध छन् ।
यो एउटा वास्तविक घटना हो । नेपाली होटल व्यवसायी, सरकार र अन्य सरोकारवालाका लागि नेपालीहरू पर्यटक नै होइनन् वा हुँदैनन् । खैरो छाला हुनु पर्ने, पासपोर्टमा भिजा लगाएर नेपाल आएको हुनु पर्ने वा भारतीय नागरिक हुनु पर्ने (भारतीयलाई पनि पर्यटक नमान्ने थुप्रै छन्) र सिन्डिकेटका रूपमा सरकार र व्यवसायी मिलेर तोकेको ‘रेट’ तिर्ने मात्र पर्यटक हुँदा रहेछन् । धेरै सर्वसाधारण नेपालीहरूको आन्तरिक आवागमनलाई नेपाली सरकार र व्यवसायीहरूले पर्यटन नै मान्दैनन् ।
–आज पनि नेपालीहरूमा तीर्थयात्राको संस्कृति अत्यन्त प्रगाढ छ । तीर्थयात्रा गर्दा धेरैजसो नेपालीहरूले मासु रक्सी खाँदैनन् । सायद, सो–कल्ड सरकार र व्यवसायीहरूलाई रक्सी–मासु नखाने तथा डलर तिर्न नसक्ने पर्यटक नै होइनन् । जुन तीर्थका नाममा पर्यटन व्यवसाय स्थापित भएको छ, त्यही तीर्थ गर्न जाने/आउने तीर्थयात्रीलाई ‘वास बस्न’ नदिने र पर्यटक नै नमान्ने मानसिकता सभवतः नेपाल सरकार र होटल व्यवसायीहरूमा छ । यस्तो मानसिकता भएको सरकार र व्यवसायी सम्भवतः नेपालमा मात्र होलान् !
विदेशी पर्यटकलाई महत्व दिनु, उनको उचित सम्मान गर्नु, सुखसुविधाको ख्याल गर्नु राम्रो कुरा हो । यस्तो गर्नुपर्छ । यसले देशको मुहार राम्रो बनाउँछ तर पर्यटनका लागि होस् वा तीर्थयात्राका लागि आफ्नो बास छोडेर अर्को ठाउँमा पुगेका नेपालीहरूसंग सौतेलो व्यबहार गर्नु उचित होइन । नेपालीको तीर्थस्थलमा नेपालीसंग नै सौतेलो व्यबहार गर्ने मानसिता राख्ने र सौतेलो व्यबहार गर्नेहरू मानसिक रूपमा बिमार व्यक्ति हुन् । सबैलाई उपचारको खाँचो छ ।
ठूलाठूला अक्षरले ‘अतिथिः देवो भवः’ भनेर लेख्दैन अतिथि सेवा हुँदैन । आफ्नो आर्थिक हैसियत अनुसार हरेक यात्रुले वास बस्ने र खाने सुविधा पाउनु पर्छ । होटलमा कोठाहरू हुँदाहुँदै ‘पर्यटकका लागि’ भन्दै स्वदेशी तीर्थयात्री वा पर्यटकलाई बास बस्न नदिने दिए पनि अनावश्यक ‘चार्ज’ गर्ने थुप्रै छन् । पहिलो कुरा आम नेपालीको आर्थिक हैसियत अमेरिकन वा युरोपेलीको जस्तो बलियो हुँदैन । त्यसैले धेरै नेपालीले महँगो होटल ताकेका हुँदैनन् । दोस्रो कुरा, पर्यटन व्यवसायी वा होटलवालाकको दिगोग्राहक नेपाली नै हो । दिगोग्राहकलाई वेवास्ता गर्नेहरू ‘एकै दिनमा करोडपति बन्ने सपना लिएका मान्छे हुन्’ व्यवसायी होइनन् ।
नेपाली समुदायका धार्मिक तथा संस्कृतिक जीवनमा तीर्थयात्राको ठूलो महत्व छ । तीर्थयात्रा नै नेपालीको आन्तरिक पर्यटनको मौलिक संस्कृति र चरित्र हो । हरेक तीर्थयात्रा त्याग र दानको भावनासंग गरिन्छ । नेपालीहरूको आन्तरिक पर्यटन ‘तीर्थयात्रा’को संस्कृतिलाई सरकार र पर्यटन व्यवसायीहरूले सहकार्य गरेर प्रवर्धन गर्नुपर्छ । खैरे र डलरलाई दिगो पर्यटन मान्द दुर्घटनामा पर्न सकिन्छ । डलर र खैरेहरू कुनै कारण नेपालमा घुम्न नआउन सके पनि तीर्थयात्रीको मौलिक पर्यटनले आन्तरिक पर्यटनमा आधारित अर्थतन्त्र चलायमान नै रहन्छ । कुम्भमा गएर भारतीय आन्तरिक पर्यटनलाई दिगो बनाउने नेपालीहरूले सजिलैसंग नेपाली तीर्थपर्यटनलाई पनि दिगो बनाउनेतिर ध्यान दिंदा राम्रो हुन्छ ।
मलाई लाग्छ, केवल विदेशी, खैरो छाला भएका, डलरमा तिर्न सक्ने मात्र ‘पर्यटक’ हुन्छन् भन्ने रोगी मनोविज्ञानबाट व्यवसायी र सरकार दूवै मुक्त हुन आवश्यक छ । ‘नेपालीहरू पनि पर्यटक हुन्छन् र यिनै दिगोग्राहक हुन्छन्’ भन्ने मानसिकता निर्माण गर्न सरकार र व्यवसायीहरूले सहकार्य गर्नुपर्छ । नेपालमा धेरै तीर्थस्थलहरू छन्, जहाँ आन्तरिक पर्यटकका रूपमा तीर्थालुहरूको ठूलो आवतजावत हुन्छ । यदि व्यवसायी र सरकारले आन्तरिक तीर्थयात्रुसंग सौतेलो व्यबहार गर्ने हो भने नेपालीहरूका लागि भारतीय तीर्थस्थलहरू खुला छन् । आन्तरिक पर्यटकले अर्थतन्त्रलाई कतिसम्म चलायमान गर्न सक्छन् भन्ने तत्थ्य महाकुम्भमा आएका ५५ करोड पर्यटकहरूले स्थापित गरेका छन् । खैरो छाला भएका र डलर बोक्ने मात्र पर्यटक हुन् भन्ने विमार मानसिकता नत्यागेसम्म नेपालको पर्यटन व्यवसाय फस्टाउने छैन ।
जय मुक्तिनाथ
फोटोः खैरेमात्र पर्यटक हुन्छन् भन्ने विरामी मानसिकता झल्काउने फोटो सरकारी साइट साभार गरिएको छ । त्यहाँ नेपाली पर्यटकको एउटा फोटो पनि राखिएको छैन ।