प्रयागराज महाकुम्भ जाँदै हुनुहन्छ ? यदि जाँदै हुनुहुन्छ भने थाहा पाउनै पर्ने कुरा
उदयराज ढकाल ।
अत्यन्तै आस्था साथै चासो र चर्चाको केन्द्र महाकुम्भ
अहिले नेपाललगायत सनातन धर्मप्रति आस्था राख्ने विश्वभरका मानिसहरु बीचमा निकै चासो र चर्चाको विषय बनेको छ महाकुम्भ । हुन त प्रत्येक १२ वर्षमा विभिन्न ठाउँहरुमा कुम्भ मेला लाग्ने गर्दछ । कुम्भ मेला आयोजना गरिने स्थलहरु भनेर मूलतः पाँच ठाउँलाई चिनिन्छ । ती पाँच ठाउँहरु मध्ये एउटा नेपालमा नै पर्दछ भने बाँकी चार वटा भारतका विभिन्न राज्यमा पर्दछन् ।
चतराधाम(बराहक्षेत्र)
नेपालको पूर्वमा रहेको अत्यन्तै पवित्र धार्मिक स्थल भनेर चिनिने सुनसरी जिल्लाको चतराधाम(बराहक्षेत्रका नामलेसमेत प्रसिद्ध) कुम्भ मेला आयोजना गरिने स्थल मध्येको एक हो । गत चैत्र २७ गते शुक्ल प्रतिपदाको दिनदेखि शुरु भई वैशाख २८ गते अक्षय तृतीयाको दिनमा समापन भएको थियो । उक्त कुम्भ मेलामा हिन्दू सनातन धर्ममा आस्था राख्ने देश तथा विदेशका विभिन्न ठाउँहरुबाट लाखौँको संख्यामा साधु, सन्त तथा भक्तजनहरु उल्लेख्य उपस्थिति रहेको थियो ।
कुम्भ मेला लाग्ने स्थानहरु
भारतको उत्तराखण्ड राज्यको हरिद्वार, महाराष्ट्रको नासिक, मध्ये प्रदेशको उज्वैन र उत्तर प्रदेशको प्रयागराजमा प्रत्येक बाह्र वर्षमा कुम्भ मेलाहरु आयोजना भइरहने गर्दछन् ।
कुम्भमेलाको आरम्भ
कुम्भमेलाको आरम्भ महासागरको मन्थनको क्रममा उत्पन्न अमृतको घडा अर्थात् कुम्भका लागि देवता र दानवहरूबीच युद्ध भएको पौराणिक प्रसङ्गसँग जोडिएको देखिन्छ । उक्त पौराणिक कथाअनुसार जब दुर्वासा ऋषिको श्रापका कारण देवराज इन्द्र र अन्य देवताहरू कमजोर भए, त्यहि मौका छोपेर राक्षसहरूले देवताहरूमाथि आक्रमण गरी परास्त गरे। त्यसपछि देवताहरू भगवान विष्णुकहाँ गए र सम्पूर्ण घटना सुनाए। भगवान विष्णुले उनीहरूलाई अमृत प्राप्त गर्न दानवहरूसँग मिलेर क्षीरसागर मन्थन गर्न सल्लाह दिएपछि देवताहरूले दानवहरूसँग सम्झौता गरे र अमृत निकाल्ने प्रयास सुरु गरे । अमृतसहितको कुम्भको उत्पत्ति हुनासाथ देवराज इन्द्रका पुत्र जयन्तले देवताहरूको आज्ञाअनुसार अमृतले भरिएको घडा लिएर आकाशमा उडे । त्यसपछि दानवहरुका गुरु शुक्राचार्यको आज्ञाअनुसार दानवहरूले जयन्तबाट अमृतले भरिएको घडा निकाल्न लखेटे र निकै लामो प्रयासपश्चात बीचैमा उनलाई समात्न सफल भए । उक्त अवस्थामा उक्त घडा माथि नियन्त्रण प्राप्त गर्न देवता र दानवहरूबीच बाह्र दिनसम्म निर्बाध युद्धको क्रम चलिनै रह्यो । यो संग्रामका क्रममा पृथ्वीका चार स्थानहरू हरिद्वार, उज्जैन, नासिक र प्रयागराजमा घडाबाट अमृतका थोपाहरू खसेका थिए। संग्रामलाई शान्त पार्नका लागि भगवान विष्णुले मोहिनीको रूप धारण गरी सबैलाई अमृत वितरण पश्चात देवता र दानवहरूबीचको युद्ध समाप्त भएको पाइन्छ ।
प्रयागराज महाकुम्भ र महत्व
विभिन्न ठाउँहरुमा कुम्भको आयोजना हुने गरेता पनि प्रयागराजमा गंगा, यमुना र लुप्त सरस्वतीको संगमलाई ’तीर्थयात्राको राजा’ को रूपमा चिनिन्छ र यहाँ प्रत्येक बाह्र वर्षमा हुने कुम्भको विशेष महत्व छ।कुम्भ मेला प्रयागराज, हरिद्वार, नासिक र उज्जैन गरी चारै स्थानमा हुने गरेता पनि अहिले प्रयागराजमा भइरहेको महाकुम्भ प्रत्येक १४४ वर्षमा हुन्छ ।
युनेस्कोको सूचीमा कुम्भ मेलाः मानवताको अमूर्त सांस्कृतिक सम्पदा
संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले सन् २०१७ मा मानव जातिको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा कुम्भ मेलालाई समावेश गरेको छ । पृथ्वीमा मानिसहरुबीच सबैभन्दा ठूलो शान्तिपूर्ण जमघट मानिएको महाकुम्भले गंगा, यमुना र सरस्वती जस्ता पवित्र नदीको संगम स्थलमा जन्म र मृत्युको अन्त्यहीन चक्रबाट मुक्ति प्राप्त गर्ने विश्वासका कारणसनातन धर्ममा आस्था राख्ने विश्वभरका तीर्थयात्रीहरूको आकर्षणको केन्द्र बनेको छ । कुम्भ मेलाले विश्वभरका लाखौं सनातनीहरुको जीवनमा आध्यात्मिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्व राख्दछ ।
ज्योतिषीय/खगोलीय मान्यताः
ज्योतिषीहरुका अनुसार कुम्भ राशिमा बृहस्पतिको प्रवेश र मेष राशिमा सूर्यको प्रवेशसँग जोडिएको कुम्भको असाधारण महत्व छ । यसकारण पनि करोडौं भक्तजनहरु आफ्नो आत्माको शुद्धीकरणका लागि गंगामा डुबुल्की मारेर स्नान गर्ने गर्दछन् । महाकुम्भका समयमा ग्रहहरुको स्थितिले एकाग्रता तथा ध्यानका लागि समेत उत्कृष्ट हुने विश्वास गरिन्छ ।
ग्रह र नक्षत्रका आधारमा पैँतालिस दिनसम्म चल्ने महाकुम्भमा केहि विशेष तिथिमा स्नान गर्नुलाई महत्वपूर्ण मानिएको छ । विशेष तिथिहरुमा पुष २९ गते अर्थात् पुष पूर्णिमा, माघ १ गते अर्थात् माघे संक्रान्ति, माघ १६ गते अर्थात् माघ कृष्ण औँशी, माघ २१ गते अर्थात् वसन्त पञ्चमी, माघ ३० गते अर्थात् माघ शुक्ल पूर्णिमा र समापनको दिन समेत रहेको फागुन १४ गते अर्थात् महाशिवरात्री रहेका छन् ।
प्रशासन तथा व्यवस्थापन
महाकुम्भमा स्नान गर्न पुग्ने भक्तजनहरुको सहजताका लागि भारतको उत्तरप्रदेश सरकारद्वारा विभिन्न खालका भौतिक संरचनाहरु बनाइएको छ । झण्डै ४० वर्ग किलोमिटर अर्थात ४ हजार हेक्टर क्षेत्रफल रहेको स्थान कुम्भ मेलाका लागि छुट्याइएको छ । सुरक्षाका लागि तथा जानकारी दिनका लागि झण्डै पचास हजारको संख्यामा प्रहरी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । पार्किङ स्थल, बस्ने पालहरु शौचालय, स्नानपश्चातका लागि ‘चेन्जिङ्ग रुम’, नदि वारपार गर्नका लागि बनाइएका पुलहरु, चौबिसै घण्टा उज्यालोका लागि सडक बत्ति लगाएतले महाकुम्भ स्थललाई सिंगारिएको देखिन्छ ।
नयाँ विश्व रेकर्ड ?
पुष २९ गते शुरु भई फागुन १४ गतेसम्म चल्ने महाकुम्भमा ४५ करोड देखि ५० करोड भक्तजनहरुले स्नान गर्ने अनुमान गरिएको छ । माघ १६ गते अर्थात् औँशीका दिनमा झण्डै ८ देखि १० करोडको संख्यामा भक्तजनहरुले स्नान गरेको अनुमान गरिएको छ । यो समयावधिमा एकै ठाउँमा यति धेरै मानिसहरुको जमघट हुने आधुनिक मानव इतिहासमा पहिलो पटकनै हुने देखिन्छ ।
भागदौड र दुर्घटना
माघ कृष्ण औँशीमा अमृत स्नानका लागि ठूलो मात्रामा भक्तजनहरु प्रयागराजमा प्रवेश गरेका छन् । करिब दशौँ करोडौँको संख्यामा भक्तजनहरुको प्रवेशले प्रशासनलाई व्यवस्थान गर्न हम्मे परेको खबर विभिन्न भारतीय सञ्चार माध्यममा आएको छ । माघ १६ गते बिहान अमृतस्नान हुनुपूर्व करिव १÷२ बजे रातको समयमा भागदौड मच्चिँदा झण्डै ३० जनाको संख्यामा तीर्थालुहरुको मृत्यु समेत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त घटना पश्चात कुम्भस्थललाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको सक्रियतामा ‘अपरेसन ११’सञ्चालन गरिसकिएको छ ।
खर्च तथा आम्दानी
प्रयागराज महाकुम्भका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसका लागि भारतको उत्तर प्रदेश सरकारले करिब ८७ अर्ब बजेट छुट्याएको छ । यसमा केन्द्र सरकारको योगदान करिब ३३ अर्ब रुपैयाँ रहेको छ । आर्थिक जानकारहरुले महाकुम्भ मेलाले उत्तर प्रदेशको अर्थतन्त्रमा सन् २०२५ मा ३२ खर्ब रुपैयाँको योगदान गर्ने बताउँदछन् (जिन्यूज) । करिब ४० देखि ४० करोडको संख्यामा स्नानका लागि मानिसहरु पुग्ने अनुमान गरिएको हुँदा यदि प्रत्येक तीर्थयात्रीले औसतमा आठ हजार रुपैयाँ खर्च गरे भने पनि ३२ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यसबाट राज्यको कुल गार्हस्थ उत्पादनमा १% भन्दा बढीको वृद्धि हुने अनुमान गरिएको छ ।
नेपालले सिक्नुपर्ने पाठ र चाल्नुपर्ने कदम
परापूर्व कालदेखि नै सनातन धर्म तथा संस्कृतिका लागि समग्र भारतवर्ष पवित्र भूमिका रुपमा मानिँदै आएको पाइन्छ । भारतवर्षमा नेपाल धार्मिक केन्द्रका रुपमा रहेको शास्त्रमा उल्लेख छ । भगवान शिव र पार्वतीले समेत तपस्या गर्ने गौरीशंकर लगायतका हिमालय श्रृंखलाजस्ता पर्वत श्रृंखलाहरु, पशुपतिनाथ, मुक्तिनाथ, भगवान गौतम बुद्धको जन्मस्थल, व्यासस्थल, ऐतिहासिक तथा धार्मिक जनकपुरधाम, बराहक्षेत्र लगायत अनेकन धार्मिक केन्द्रहरु नेपालमा नै छन् । नेपालसँग सिमाना जोडिएको भारतको एउटा राज्य उत्तर प्रदेशले विशाल कार्यक्रम आयोजना गरेर आफ्नो धार्मिक स्थलको महत्वलाई विश्वभरका सनातनीहरु बीचमा आस्था जगाउन सक्छ र सर्वत्र चासोको विषय बन्न सक्छ भने हाम्रो सिंगो देशले रणनीतिक तयारीका साथ लाग्ने हो भने सम्भव छ । गत चैत्र, वैशाखमा बराहक्षेत्र चतराधाममा भएको कुम्भमेलालाई यसको उदाहरणका रुपमा समेत लिन सकिन्छ ।
आध्यात्मिक तथा धार्मिक केन्द्रहरुलाई सम्बन्धित निकायहरुले संरक्षण, व्यवस्थित गर्नुपर्ने देखिन्छ । सरकार, विभिन्न निकाय तथा विश्वभर छरिएर रहेका नेपाली नागरिकको प्रयासबाट यहाँ रहेका धार्मिक केन्द्रहरुलाई विश्वव्यापि प्रवद्र्धन गर्न सक्ने हो भने धार्मिक पर्यटन नै नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्न सक्छ । विश्वका दुई धेरै जनसंख्या भएका मुलुकहरु भारत र चीनको बीचमा अवस्थित नेपालले धार्मिक पर्यटनका माध्यमबाट अर्थतन्त्रलाई मजबुत बनाउन सकिने प्रशस्त आधारहरु देखिन्छन् । सबै धर्मलाई उत्तिकै सम्मान गर्नुपर्छ भन्ने सनातन धर्मको मान्यता समेत रहेको हुँदा धार्मिक सहिष्णुताकाबीच यस्ता केन्द्रहरु धार्मिक सँगसँगै आर्थिक आर्जनका बलिया माध्यम बन्न सक्दछन् ।
महाकुम्भ स्नान गर्न जाने तीर्थालुहरुको जानकारीका लागि
– तीर्थका लागि समय र टीमः समय निश्चित गर्ने, पारिवारिक वा अन्य समूहमा के–कसरी जाने हो सोहि अनुसारको योजना बनाउने ।आफूलाई उपलब्ध हुने समयको निश्चित गर्ने ।
– यातायातः आफ्नै सवारी प्रयोग गर्ने वा निजी भाडाको सवारी साधन प्रयोग गर्ने वा सार्वजनिक सवारी साधन प्रयोग गर्ने ? सोहि अनुरुप पूर्व तयारी गर्ने । निजी भाडाका सवारी साधनहरु, बसहरु रिजर्भ गरेर गएको देखिन्छ ।
– बसोबासः महाकुम्भ मेलामा विभिन्न धार्मिक संघ–संस्थाका ‘क्याम्प’ हरु रहने हुँदा पहिला नै सम्पर्क गरी बस्ने व्यवस्था मिलाउन सकिन्छ । पैसा तिरेर बस्ने व्यवस्था गर्न पनि सकिन्छ । यात्रा तय गर्नुपूर्व बाटोमा बस्नका लागि होटल तथा रिसोर्टको पूर्व तयारी गर्ने । अनलाइनबाट बुकिङ गर्न सकिन्छ ।
– खानपानः बाटोमा खानपानका व्यवस्था भएतापनि महाकुम्भ स्थल प्रवेश नजिकिँदै गर्दा मानिसहरुको बाक्लो भीड हुने हुँदा सम्भव भएसम्म आफ्नो यात्रा अवधिभरका लागि आवश्यक वैकल्पिक खानेकुराहरु साथमा लैजान सकिन्छ । जस्तैः सातु, भुटेको मकै, भटमास, चना, काजु–बदाम, बिस्कुट आदि । कुम्भस्थलमा विभिन्न संस्थाहरुले निशुल्क खानपानको व्यवस्था गरेको पाइन्छ तथापि भीड हुने हुँदा अन्य वैकल्पिक तवरबाट पूर्व तयारी गर्नु उत्तम देखिन्छ ।
– औषधिः प्राथमिक उपचारका लागि ‘फस्र्ट एड बस्क’ को व्यवस्था गर्ने, आफुले नियमित सेवन गर्ने औषधि साथमा राख्ने, लामो सवारी यात्रा तथा ठूलो भीड हुने हुँदा आफूलाई आवश्यक पर्ने अन्य औषधिहरु साथमा राख्ने ।
-सामुहिकताः बाटोमा वा महाकुम्भ स्थलमा रहँदा आफ्नो समूहका सदस्यहरु बीचमा भीडभाडमा छुट्ने डर हुन्छ नछुट्नका लागि सिंगो समूहलाई नै सहज हुने गरि रणनीति बनाउने ।
-स्नानः गंगा, यमुना तथा लुप्त सरस्वती नदीको संगमघाट वा किनारामा विभिन्न स्थानहरुमा स्नानका लागि व्यवस्था गरिएको छ । आफू कुन स्थानमा बसिएको छ र त्यहाँबाट स्नानका लागि कुन स्थल नजिक रहन्छ जानकारी लिएर जाँदा सहज हुन्छ ।
– अत्यावश्यक कपडाः आफुले नियमित प्रयोग गर्नुपर्ने र बोक्नका लागि सहज कपडाहरु राख्ने, बेडसिट लगायतका कपडाहरु राख्ने, स्नानका लागि आवश्यक कपडाहरु व्यवस्थापन गर्ने ।
– के नलैजानेः बहुमूल्य गरगहना नलग्ने, मेलामा पुगेर घर फर्कँदा सम्मका लागि चाहिने आवश्यक रकम बाहेक अरु धेरै रकम नलग्ने ।
–दानः रकम वा वस्तु के कति दान दिने हो पहिल्यै तयारी गरेर लैजाने ।
-स्नान पश्चात जलः जल ल्याउनका लागि कुम्भस्थलमा नै विभिन्न साइजका भाँडाहरु उपलब्ध हुन्छन् वा लिएर जान पनि सकिन्छ ।
– अन्य तीर्थस्थलहरुको दर्शनः प्रयागराजबाट पूर्व दिशामा वाराणसी, सारनाथ, गया, बोधगया तथा उत्तर/पश्चिममा अयोध्या, गोरखनाथ लगायतकाअन्यन्तै महत्वपूर्ण धार्मिक स्थलहरु छन् आफूसँग समय, आर्थिक कुरा सबै व्यवस्थापन गरेर एकसाथ तीर्थ यात्रा बनाउन पनि सकिन्छ ।
– प्रहरीसँग अनुरोधः बाटोमा अथवा कुम्भक्षेत्रमा कुनै समस्या वा दुर्घटना भइहालेमा प्रहरी तथा सुरक्षाकर्मी साथीहरुसँग भनिहाल्ने, ठूलो मात्रामा सुरक्षाकर्मीहरु भक्तजनकै सहजताका लागि ड्युटी गरेर बसिरहेका छन् ।
आफ्नो समूहको सदस्य होस् वा चिनेको/नचिनेको अर्को जो सुकै व्यक्ति होस्, सकिन्छ आवश्यक सहयोग गर्ने, सकिँदैन भने असहज गर्दै नगर्ने । आफ्ना कारणबाट अरुलाई असहज वातावरणको अवस्था सिर्जना भयो भने महाकुम्भमा स्नान गरेर पुण्य आर्जन गर्न जाने कुराको औचित्य कति रहला ?