अबिरल वर्षासँगै देशका विभिन्न राजमार्ग अवरुद्ध, तराईमा डुबान



काठमाडौँ ।  अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।

सिद्धार्थ राजमार्ग अवरुद्ध 

वालिङ (स्याङ्जा)ः अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।

विपी राजमार्गमा यातायात ठप्प  

कमलामाई (सिन्धुली)ः पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो  

मकवानपुरः बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन् । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।

बेँसीसहर–चामे सडक अवरुद्ध 

लमजुङः पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको जानकारी दिए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

घोराही–तुलसीपुर सडक सडक अबरुद्ध 

तुलसीपुर (दाङ)ः दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज  बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा 

पर्साः गएरातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

बेलबारी (मोरङ): यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी तथा खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरे ।

“साना खोलानालामा पनि आकस्मिक बाढी आउने सम्भावना रहन्छ”, उनले भने। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले वर्षाबाट हुने क्षति न्यून गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतसँग छलफल भइरहेको बताए । बाढी पहिरोका कारण जुनसुकै समयमा पनि विपद् निम्तिन सक्ने भएकाले कार्यालय प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको उनले बताए ।

कर्णाली राजमार्ग अवरुद्व

काँक्रेविहार (सुर्खेत): शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक  खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए  ।

बाढीका कारण सडक अवरुद्ध
सुन्दरबजार (लमजुङ), २२ असार : मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन् । तस्बिरः विराट न्यौपाने/रासस
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटन तल ओरालोमा शनिबार वर्षाका कारण गएको पहिरो । तस्बिर : कृष्ण न्यौपाने÷रासस
शालिग्राम शिला डुबान
पर्वत २२ असार : केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठुलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार । नदीमा बहाब बढ्ने क्रम बढेपछि स्थानीय त्रसित बनेका छन् । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
घट्टेखोलाको बाढी र चामे बजार
मनाङ २२ असार : मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता मर्स्याङदी नदीको पानीको सतह बढ्दा चामे बजारको अवस्था । तस्बिर : नवीन लामिछाने/रासस
मनाङ तालबाजार उच्च जोखिममा
मनाङ २२असार :  मर्स्याङ्दी नदीको बहाव बढेसँगै मनाङको नासो गाउँपालिका–१ ताल गाउँ उच्च जोखिमा । नदीको किनारमा रहेको यस गाउँ २०७८ असार १ गतेको बाढीले ५५ घर पूर्णक्षति भएको थियो भने गाउँनै बगरमा परिणत भएको थियो । तस्बिर ः नवीन लामिछाने/रासस
वीरगन्ज महानगरपालिकाको-११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र सडक किनाराका नालमा खसेको जीप । शुक्रबार रातीदेखि लगायतार परेको वर्षाको पानी सडकमै जम्मा भएपछि वीरगन्जका अधिकांश स्थान डुबानमा परेका छन् । तस्बिर : विजय कुमार महतो / रासस
पृथ्वीराजमार्ग अन्र्तत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गएको पहिरो हटाइँदै । वर्षाका कारण पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने, रासस
अविरल वर्षा र त्यसपछि आएको हापुरखोलाको बाढीले कटान गर्दै गरेको दाङको घोराही उपमहानगरपालिका-९ स्थित अस्पारा गनारको खेतीयोग्य जमिन । तस्बिर: कुलदीप न्यौपाने/ रासस
पानी परेपछि काठमाडौँ तारकेश्वर १० स्थित मनमैजु लोकतान्त्रिक चोक सडकमा छाता ओढेर आफ्नो गन्तव्य जादै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल / रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा बढेको पानीको सतह । पानीको सहत बढेसँगै मनाङ सदरमुकाम चामेस्थित पुललगायत क्षेत्र जोखिममा पर्न थालेको छ । तस्बिर : नवीन लामिछाने / रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ । तस्बिर : रमेश गिरी / रासस
भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र र बस्तीमा पसेको छ । तस्बिर : रमेश गिरी / रासस
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा डुवानमा परेको सार्वजनिक शौचालय । पानी निकास नहुने होचो ठाउँमा शौचालय निर्माण गर्दा थोरै वर्षातमा समेत शौचालय डुबानमा पर्ने गरेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु,रासस
केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् । तस्बिर : सुमित्रा अधिकारी /रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा

बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु

काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु

बाढीपीडित किसानको गुनासो: स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

सप्तरी । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको