संसदीय छानबिन विशेष समितिद्वारा गोरखा मिडियामा ऋण प्रवाह भएको कागजात उपलब्ध गराउन पत्राचार
काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालि लगायतमा प्रवाह भएको रकमसम्बन्धका विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।
समितिको बुधबार बसेको छैठौं बैठकले कार्यादेशको अनुसूचि–२ मा समावेश ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायतमा प्रवाह भएको रकमसम्बन्धका विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।
समितिले बुधबार पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, केशवप्रसाद बडाललगायतसँग पनि छलफल गरेको छ ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न सात सदस्यीय संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई तीन महिनाको समय दिइएको छ ।